एकै दिन रिलिज हुँदै तीन सिनेमा

चैत्र १६, २०८०

कान्तिपुर संवाददाता

Three movies releasing on the same day

काठमाडौँ — दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ ले प्रदर्शन मिति तय गरेको छ । फिल्म निर्माण पक्षका अनुसार फिल्म आगामी जेठ ११ गते रिलिज हुने भएको हो । योसँगै जेठ दोस्रो साता बक्स अफिसमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यसअघि रुपेश तामाङ निर्देशित ‘दान्भी’ र सुयोग गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘फर्की फर्की’ ले जेठ १० गतेको प्रदर्शन मिति तय गरिसकेका छन् । 

‘पुजार सार्की’ मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् । 

निर्देशक रावतले केही दिनमा फिल्मको टिजर सार्वजनिक हुने बताएका छन् । फिल्मको छायांकन कास्कीकोट गाउँ र आसपासका स्थानमा गरिएको छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन र हिमाल केसीको द्वन्द्व छ । विकास सुवेदीले लेखेको फिल्म सुवास भुसालले निर्माण गरेका हुन् । 

किङडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्म आरआर फिल्मस्ले वितरण गर्दै छ । रुपेश तामाङको निर्देशनमा बनेको फिल्म ‘दान्भी’ जेठ १० मा रिलिज हुँदै छ । फिल्ममा पूजा शर्मा, कुन्साङ बोम्जन, रुपेश तामाङलगायतको अभिनय रहेको छ । 

देव मगर र अनुप गडालको लगानी रहेको फिल्मका कार्यकारी निर्माता पवन रानामगर हुन् । कमला लिम्बू, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सहनिर्माता हुन् । फिल्ममा हरि लामा ‘घले’ को छायांकन, संजोग रानाको संवाद, बन्दे प्रसादको सम्पादन र श्री श्रेष्ठको एक्सन रहेको छ । 

त्यस्तै, जेठ १० मै अनमोल केसीको मुख्य भूमिका हरेको फिल्म ‘फर्की फर्की’ पनि प्रदर्शनमा आउँदै छ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै जसिता गुरुङ, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।  रोहित अधिकारी र ओम अग्रवालले निर्माण गरेको फिल्मका सहनिर्माता मनोज ओली र रामु न्यौपाने हुन् । फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।  

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully