क्षयरोगविरुद्ध युवायुवती

सुर्खेतका मधुसूदन काफ्लेले सुरु गरेको क्षयरोगविरुद्धको अभियानलाई विश्व स्वास्थ्य संगठनले ‘डब्लूएचओ वान प्लस वान इनिसिएटिभ’ का रूपमा अघि बढाएको हो । हाल यो अभियान विश्वका ९५ भन्दा बढी देशका युवाहरूमाझ पुगेको छ । 

चैत्र १५, २०८०

तृप्ति शाही

Youth Against Tuberculosis

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का ३० वर्षका मधुसुदन काफ्लेले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौंबाट एचए अध्ययन गरे । पढाइ सकेर सुर्खेत फर्किएपछि उनले २०६८ चैतबाट करिब दुई वर्ष वीरेन्द्रनगरमै रहेको लाटिकोइली स्वास्थ्य चौकीमा काम गरे । काम गर्ने क्रममा उनले क्षयरोगका धेरै बिरामी देखे । उनलाई लाग्थ्यो, क्षयरोग औषधि उपचार भएको सामान्य रोग हो ।

केही समयपछि उनी पब्लिक हेल्थमा स्नातक गर्न काठमाडौं पुगे । अध्ययनका क्रममा उनलाई थाहा भयो– क्षयरोगलाई समाजको समृद्धिको ब्यारोमिटर भन्ने । सामान्य रूपमा रोकथाम र उपचार गर्न सकिने रोगका कारण हरेक दिन सयौं मानिसले ज्यान गुमाउने थाहा पाएपछि उनले क्षयरोगको क्षेत्रमा काम गर्ने सोच बनाए । तर क्षयरोगविरुद्ध काम गर्ने विषयमा उनलाई खासै केही थाहा थिएन । जसका कारण उनले साथीभाइहरूबीच छलफल चलाए । 

करिब ६ वर्षअघि उनले क्षयरोगमुक्त भक्तपुरका लागि युवा अभियानको थालनी गरे । अभियानमा स्थानीय युवाहरू पनि जोडिए । बिस्तारै यो अभियान देशका अन्य स्थानमा पनि फैलियो । दुई वर्षको अवधिमा समुदाय र विद्यालयस्तरमा एक हजारभन्दा बढी क्षयरोगविरुद्धका कार्यक्रमहरू भए । यस्ता कार्यक्रममा उनले युवाहरू अन्तरक्रिया, विद्यालय स्वास्थ्य कार्यक्रम, स्थानीय निकायका सरोकारवालासँगको छलफल, सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउने गर्थे । 

अभियान चल्दै गर्दा २०१९ को फेब्रुअरीमा काफ्लेलाई डब्लूएचओको मुख्यालय जेनेभाबाट एउटा इमेल आयो । त्यसमा लेखिएको थियो, ‘विश्व क्षयरोग दिवस मनाउने कार्यक्रममा नेपालमा युवाहरूलाई परिचालन गरेको कथा सुनाउनका लागि आउनू ।’ कसैबाट कुनै आर्थिक सहयोगबिना क्षयरोगविरुद्धको काम गर्दै आएकाले अनुभव सुनाउन आफूलाई बोलाइएको काफ्ले बताउँछन् ।

Youth Against Tuberculosis

 जेनेभा पुगेपछि करिब एक साताको बसाइमा उनले आफूले सुरु गरेको क्षयरोगविरुद्धको युवा अभियानलाई विश्वका स्वास्थ्य नेतृत्वसम्म पुर्‍याउन सफल भए । त्यही बेलादेखि नै डब्लूएचओले युवाहरूलाई क्षयरोगमा परिचालन गर्ने अभियान आधिकारिक रूपमा सुरु गरेको हो । र, यो अभियानको नाम राखियो ‘डब्लूएचओ वान प्लस वान इनिसिएटिभ’ । यो अभियानसँगै उनले उठाएको मुद्दा आधिकारिक रूपमा विश्वव्यापी बन्यो । हाल यो अभियान विश्वका ९५ भन्दा बढी देशका युवाहरूमाझ पुगेको छ । अभियानकै लागि उनी पनि इन्डोनेसिया, केन्या, स्विट्जरल्यान्ड, भारतलगायतका देश पुगिसकेका छन् । 

काफ्लेले २०२० देखि डब्लूएचओको विश्व क्षयरोग कार्यक्रममा युवा कन्सल्टेन्टको काम सुरु गरे । २०२३ देखि भने उनले क्षयरोगविरुद्ध युवा परिचालन गर्न नेपालमै काम गरिरहेका छन् । पछिल्लो समय भने उनले ‘२४/२४ युथ क्याम्पेन टु इन्ड टीबी’ अभियान सञ्चालन गरिरहेका छन् । अभियानमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक हजारभन्दा बढी युवा जोडिएका छन् । युवाहरूको क्षमता विकास गर्दै क्षयरोगविरुद्ध क्रियाशील बनाउन अभियान चलाउँदै आएको काफ्लेको भनाइ छ । अभियानअन्तर्गत १३ सय युवालाई पहिलो चरणमा युवालाई स्वअध्ययनका लागि सामग्री दिने, दोस्रो चरणमा डब्लूएचओ प्लेटफर्ममार्फत प्राविधिक कोर्स गराउने र तेस्रो चरणमा भर्चुअल सेसनमा पनि सहभागी गराइएको थियो ।

चौथो चरणमा डब्लूएचओ नेपाल कार्यालय र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका विज्ञहरूले प्राविधिक ज्ञान दिएपछि सहभागीलाई समाजमा प्रभाव पार्न सक्ने व्यक्तिलाई भेटेर क्षयरोगबारे कुराकानी गर्नुपर्ने गृहकार्य दिइएको थियो । त्यस्तै आफ्नो समुदायका विद्यालयमा गएर कम्तीमा ४० जना बालबालिकालाई क्षयरोगबारे जानकारी गराउने कार्य पनि दिइएको थियो । सुरुमा नेपालमा एक हजार युवालाई परिचालन गर्ने लक्ष्य लिएकामा १७ सयभन्दा बढीले आवेदन दिएका थिए । अभियानअन्तर्गत हालसम्म ७ वटै प्रदेशका ३० भन्दा धेरै जिल्लाका कम्तीमा ५५ हजार विद्यार्थीलाई क्षयरोगबारे शिक्षा दिइसकिएको छ । एक हजारभन्दा धेरै समाजका अगुवालाई पनि जानकारी गराइएको छ । 

Youth Against Tuberculosis

काफ्लेसँगै अभियानमा सक्रिय रूपमा जोडिएकी छन् २४ वर्षकी सदीक्षा सापकोटा । पोखराको ला ग्रान्डी इन्टरनेसनल कलेजमा पब्लिक हेल्थ दोस्रो वर्ष पढ्दै गर्दा काफ्ले क्षयरोगबारे जानकारी दिन उनी पढ्ने कलेज पुगेका थिए । त्यही कार्यक्रमपछि करिब ६ वर्ष अघिदेखि आफू क्षयरोगविरुद्धको अभियानमा जोडिएको सापकोटाले बताइन् । ‘म जस्तै युवाहरूले कार्यक्रम गरेको देखेर प्रभावित भएँ । समाजका लागि काम गर्नुपर्छ भन्ने लागेर अभियानमा जोडिएकी हुँ,’ उनले भनिन् । पछिल्लो समय भने उनले निम्याट नेपाल नामक संस्था खोलेर काम गरिरहेकी छन् । त्यस्तै, केही समययता श्रीया जोशीले पनि क्षयरोगविरुद्ध आवाज उठाइरहेकी छन् । बझाङकी २३ वर्षीया जोशीले पूर्वाञ्चल विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातक गरेकी छन् । २०७१ सालमा आफैं क्षयरोगबाट संक्रमित भएकी जोशी पछि अभियानमा जोडिएकी हुन् । 

 अभियान सञ्चालन गर्दा डब्लूएचओ नेपाल कार्यालय र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिकबाहेक अन्य कतैबाट केही सहयोग नलिइएको काफ्ले बताउँछन् । क्षयरोग औषधि सेवनपछि निको हुने र रोकथाम गर्न सकिने रोग भए पनि नेपालमा बर्सेनि १७ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा हरेक वर्ष ६९ हजार जना क्षयरोगबाट संक्रमित हुने गरेको अनुमान छ । तीमध्ये ४५ प्रतिशत बिरामी अझै उपचारको पहुँचमा आउन सकेका छैनन् । ‘स्वास्थ्यसम्बन्धी अध्ययन गरेका युवाहरू नै पछि विभिन्न क्षेत्रका स्वास्थ्य संस्थामा जोडिने भएकाले उनीहरूलाई लक्षित गरिएको हो,’ काफ्लेले भने ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully