२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ठेलाबाट उठेको ‘ड्याडिज किचन’

अर्घाखाँचीको सन्धिखर्कका ३२ वर्षीय कमलजंग कुँवरले सुरु गरेको ड्याडिज किचनका खाना र खाजाका गरेर बुटवल, पोखरा र काठमाडौंमा गरी १८ आउटलेट सञ्चालनमा छन्
सन्जु पौडेल

लुम्बिनी — सानैदेखि उनको मनमा केही न केही गरिरहने हुटहुटी चल्थ्यो । एउटा काम सकियो कि नयाँ सोच आइहाल्थ्यो । थपक्क बसेर दिन कटाउन सक्थेनन् । नयाँ सोच आउनासाथ त्यसअनुसार काम थालनी गर्ने बानी नै बस्यो । त्यसका लागि प्रेरणा हासिल गर्न सफल व्यक्तिबारे सुन्ने वा जान्ने मौका गुमाउँदैनथे । त्यस्ता कुराले उत्प्रेरित भएपछि नयाँ योजना बुन्थे ।

ठेलाबाट उठेको ‘ड्याडिज किचन’

तर, योजना कार्यान्वयन गर्न आर्थिक कारणले रोकिनुपर्थ्यो । परिवारको आर्थिक अवस्था मध्यम थियो । त्यसैले ठूलो पुँजी लगानी गर्न सम्भव थिएन ।

तर, आर्थिक कारणले अर्घाखाँचीको सन्धिखर्क–८ का ३२ वर्षीय कमलजंग कुँवर आफ्नो सपनामा ब्रेक लगाउने पक्षमा थिएनन् । दुई दाजु वैदेशिक रोजगारीमा गएका थिए । सामान्य अवस्थामा बालापनमा बिताएका कमलजंग आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच राख्थे । त्यो पनि देशभित्रै । त्यसैले मुलुकमै केही गर्नुपर्छ भनेरै हुर्किए । खगिसरा र गुमानसिंह कुँवरका ६ सन्तानमध्येका कान्छा कमल अहिले हस्पिटालिटीमा परिचित छन् । उनको ख्याति रूपन्देहीमा सीमित छैन ।

माध्यमिक तहसम्मको अध्ययन गाउँमै पूरा गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि २०६४ मा रूपन्देहीको बुटवल झरे । विद्यालय तह पूरा गरेपछि अध्ययन र रोजगारीका लागि नजिकको सहर बुटवल बसाइँ सर्ने परम्परा नै छ । कमलजंग पढ्न, बोल्न र अतिरिक्त क्रियाकलापमा अब्बल थिए । बुटवल आए । बुटवलको दीपनगरमा दिदीको घर । जेठा दाइले देवीनगरमा फर्निचर पसल सञ्चालन गरेका थिए । यहाँ आएपछि केही समय दाइसँग बसेर फर्निचर व्यवसायमा सघाउन थाले । दाजु वैदेशिक रोजगारीमा गएपछि दिदीको घरमा बसेर बिहान क्याम्पस पढ्ने र दिनभरि मसला र तेलको मिल चलाउने काम सुरु गरे । ‘भिनाजुको मिल थियो,’ उनले भने, ‘मैले सबै काम त्यहीँ सिकें, साथै बजारमा गएर कसरी डिल गर्ने, सामग्री खरिद गर्ने आदि सिक्ने मौका पनि पाएँ ।’ त्यसबेलादेखि नै व्यावसायिक मानसिकता आफूमा गडेको उनले बताए ।

लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्दा साथीभाइका अगाडि ज्ञानी थिए उनी । शिक्षकको नजरमा राम्रा विद्यार्थी । प्लस टु उत्तीर्ण भएपछि उनी बीबीए पढ्न बुटवलकै एक्सिस कलेजमा भर्ना भए । दोस्रो सेमेस्टर पढ्दै थिए, काठमाडौं जाने भूत सवार भयो । ‘आफ्नो कमाइले सबै गर्नुपर्छ भनेर गएँ,’ उनले भने, ‘काठमाडौंमा टुर एन्ड ट्राभल्स चलाएँ, गाइड बनेर हिँड्दा एयरलाइन्स, कुरियरको नियम बुझें । स्टार होटल, लक्जरियस लाइफबारे थाहा पाएँ ।’ धेरै समयसम्म त्यहाँ टिकिरहन नसकेपछि कमल पुनः बुटवल आए । स्नातक अध्ययन पूरा गरे ।

एक दिन दिदीको घरबाट नजिकै लाग्ने हाटमा ठेलामा चाउमिन, मःम बिक्री भइरहेको देखे । उक्त व्यापारलाई सटरमा राखेर बिक्री गर्दा स्तरीय हुने र ग्राहकले रुचाउने कल्पना गर्न थाले । ‘त्यसपछि बजारमा चोकमा सटर पाइयो, मैले एक जना साथीलाई मःम बनाउन बोलाएँ,’ उनले भने, ‘एक सेफलाई बिहान र साँझमा सघाइदिन भनेँ । भिनाजुसँग केही रकम मागेर एक लाख ८० हजारमा होटल खुल्यो र नाम दिएँ ड्याडिज किचन ।’

व्यावसायिक यात्रा थालनी भएपछि यसबाटै टन्न कमाउने सोच आएको उनले बताए । सन् २०१२ को दसैंताका खोलेको व्यापार ३ महिनासम्म राम्रो चल्यो । कुँवरले बिस्तारै रेट बढाउँदै लगे । जसकारण व्यापार घटेर घाटैमा गयो । उनीकहाँ मानिस आउनै छाडे । व्यवसायी बन्ने भनेपछि पछि व्यवसायबाट निराश भएर हट्नु हुँदैन भन्ने लाग्यो । त्यसपछि उक्त सटर अगाडि ठेलामा कफी, लस्सी बेच्न थाले । त्यसमा पनि जम्न नसकेको उनले बताए । व्यवसाय थालेको एक वर्षपछि एक दिन बाटोमा हिँड्दै गर्दा कुँवरले एउटा चार चक्के ठेलागाडा थन्काएर राखेको देखे । त्यसमै सजावट गरेर खाजा बेच्ने निधो गरे ।

ठेला २५ हजारमा किनेर ठेलाभित्रै पकाउन मिल्ने बनाए । उनले बुटवलको राजमार्ग चौराहामा ठेला लगाउँथे । ‘चिनेका मान्छे आउँदा लाज लागेर भित्र पस्थें,’ उनले भने, ‘आफन्त, पढाएका सरहरू कहिल्यै पसलमा आउनुहुन्थेन, उल्टै जागिर खोजिदिन्छौं, ठेला छोड भन्नुहुन्थ्यो ।’ त्यसबेला मानिसले कसरी आफ्नो कामको स्तर विभाजन गरेको छ भन्ने बुझेको कुँवरले बताए । उनलाई मानिसको व्यवहारले आफूले गलत काम रोजेछु कि भन्ने पनि लाग्यो । त्यसताका अलि फरक खालको खाजा बनाए मानिसको भीड बढ्ने उद्देश्यले बर्गरलाई फरक खालको स्वादमा बनाउने उपाय निकाले ।

‘सेफसँग मिलेर धेरै पटक बर्गरको रिसिपी बनाउने, बिगार्ने गरियो,’ उनले भने, ‘फाइनल्ली बर्गर मीठो बन्यो, दैनिक ३ सय पिस बर्गर बिक्न थाल्यो । बिस्तारै फस्टाएको व्यवसायले कुँवरलाई यसको दायरा बढाउन मन लाग्यो ।’ त्यसपछि आफैंले एउटा फुडट्रक डिजाइन गरे । उक्त ट्रक बनाएर बुटवलको ट्राफिकचोकमा राखे । सडक छेउका घरबेटी, प्रहरी आदिले धेरै दुःख दिन थाले । तर हार नमानीकन उनले प्रशासनिक अनुमति लिई व्यवसाय चलाइरहे ।

ट्राफिकचोकमा राम्रै भएपछि हौसिएका उनले व्यवसाय विस्तार गर्दै गए । अहिले उनको व्यवसाय रूपन्देहीमा मात्र सीमित छैन । बुटवल र पोखराका साथै काठमाडौंका केही स्थानमा ड्याडिज किचन पुगेको छ । अहिलेसम्म खाना र खाजाका १८ आउटलेट सञ्चालनमा आइसकेको उनले बताए । ३ सिस्टर भेन्चर छन् । जसअन्तर्गत काठमाडौंमा कुकर कफी चर्चित छ । बुटवलमा बर्गरसँगै अन्य फास्टफुड र सोर्मा चल्छ भने बुटवलकै हेल्दी डायट प्लानरका रूपमा पपैया चलेको छ । पोखरामा आफ्नै भवनमा ३ सय जना बस्न मिल्ने ड्याडिज किचन सञ्चालनमा छ ।

पोखराको प्रतिष्ठान नेपालमै फास्ट फुड सेन्टरमा धेरै जना अट्ने क्षमता भएको नमुना खाजा घर हो । ‘देशभर एक सय यस्ता खाजा घर खोल्ने इच्छा छ,’ उनले भने, ‘निकट भविष्यमा विदेशमा पनि नेपाली खानाको स्वाद लिएर स्थापित हुन चाहन्छु ।’ यसबाहेक मोटर्स तथा इलेक्ट्रोनिक्सतर्फ लगानी गरेर उनले वातावरण अनुकूल सवारी पनि बेचिरहेका छन् । बुटवल वरपरका सबै व्यवसायमा बहिनी सरिताले सघाइरहेकी छन् ।

कमल यतिमा सीमित छैनन् । योगा, ध्यानका साथै अरूलाई मोटिभेट गर्ने खालका उनका कुरा सुन्नेको लर्को लाग्छ । उनीसँग एक घण्टा बसेर गफिने जोकोही कमलको ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’ भन्ने नारा अँगाल्न तत्पर हुन्छन् । उनले यही नारा आफ्ना कर्मचारीलाई समेत सिकाएका छन् । उनीसँग हाल ६ सय ६० कर्मचारीले काम गरिरहेका छन् । कमल हरेक कर्मचारीलाई २५ हजारभन्दा माथि तलब दिने लक्ष्य राखेर अघि बढेको बताउँछन् । ‘२०८२ सम्म म त्यो लक्ष्यमा पुग्न चाहन्छु,’ उनले भने ।

उनले मासिक २० लाख रुपैयाँ भाडा मात्रै बुझाउँछन् । वर्षमा ३५ लाख रुपैयाँभन्दा बढी कर्मचारीको तलबमा खर्च गर्छन् । तर जनशक्ति टिकाइरहन नसक्नु आफूजस्ता हरेक व्यवसायीको पीडा भएको उनले बताए । ‘काम सिकेपछि विदेश नै गइरहेका छन्,’ उनले भने, ‘आकर्षक तलब दिएर यहीँ टिकाउन सक्ने हो भने, युवाको सोच र क्षमता विकास गर्न सकिन्छ कि भन्ने लाग्छ ।’

नेपालीसँगै भारतीय तथा विदेशी पर्यटकसमेत आउने गरेको उनको खाजा घरमा नेपाली स्वाद पस्किने खालका खाजा थप गर्न सके पर्यटक आकर्षण गर्न सकिने उनको भनाइ छ । ‘मैले पनि उही विदेशी परिकार बेचिरहेको छु,’ उनले भने, ‘नेपालको परम्परागत खाजा खुवाउन सके विदेशीलाई नेपाली खानामा लोभ्याउन सकिन्छ होला । यसको प्रयास जरुरी छ, म गर्दै छु ।’ निजी क्षेत्रलाई अघि बढाउन सके राज्यलाई समेत राम्रो हुने उनले बताए । ‘मलाई अप्ठ्यारो पर्नासाथ छौं है भन्ने बोली नै काफी छ,’ उनले भने, ‘काम त म आफैं गर्छु, आफू बाँच्छु र धेरै युवालाई बचाउँछु ।’

प्रकाशित : चैत्र १४, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x