पौराणिक कृषि सामग्री संरक्षणमा युवा

चैत्र १६, २०८०

ज्योती श्रेष्ठ

Youth in Legendary Agricultural Materials Conservation

काभ्रे — एक छेउमा जाँतोमा महिलाले अन्न पिसेको देखिन्छ । अर्को कुनामा ढिकीमा अन्न पिसेको देखिन्छ । त्यस्तै, सिलौटोमा मसला पिसेको, ओखलमा अन्न फलेको पनि देखिन्छ । खेतमा हलो जोतेको, बारी खनेको दृश्यले जो कोहीलाई गाउँघरमै पुगेको जस्तो आभास हुन्छ । तर, यो दृश्य कुनै गाउँघरको नभई हालै आयोजित एक कृषि महोत्सवको हो । 

गाउँघरमा कृषि कर्ममा प्रयोग हुने पौराणिक कृषि उपकरणलाई आधुनिक ढंगले निर्माण गरेर राखिएको हो । जसले बालबालिकादेखि वृद्धसम्मलाई आकर्षित गरेको छ । साना बालबालिकाहरू नौलो कुरा देख्दा आश्चर्यमा परेका भेटिन्छन् भने बूढापाकाहरू कृषि कर्ममा आफूले गरेको दुःख स्मरण गर्छन् । 

खोटाङको मझुवागढी नगरपालिका–४ का २७ वर्षीय दीपक राईले काठलाई कलात्मक ढंगबाट पानीघट्ट, ओखल, जाँतो, ढिकी, सिलौटो, हलोलगायतका कृषि सामग्री बनाएका हुन् । काठबाट बनेका सामग्रीलाई उनले विद्युत्को प्रयोगले चलायमान बनाएका हुन् । कृषि कर्ममा क्रियाशील दीपक कृषि क्षेत्रमा प्रयोग हुने आधुनिकदेखि पौराणिक सामग्री संरक्षण तथा प्रवर्द्धनमा जुटिरहेका छन् । त्यसका लागि उनी कृषिसम्बन्धी मेला महोत्सवमा आफ्ना सामग्रीसाथ पुग्ने गर्छन् । 

Youth in Legendary Agricultural Materials Conservation‘सानो हुँदादेखि नै केही नयाँ काम गरौं भन्ने थियो । किसानको सन्तान भएकाले पनि कृषि क्षेत्रमै केही गर्ने सोच आयो,’ दीपकले भने, ‘परापूर्वकालका कृषि यन्त्र तथा सामग्री हराउन लागेकाले संरक्षण गर्नुपर्छ भनेर लागेको हुँ ।’ उनले २०६८ सालमा एसएलसी परीक्षा दिएपछि फुर्सदको उपयोग गर्दै उनले काठलाई कलात्मक ढंगबाट विद्युत्को प्रयोग गरी सानो जहाजको स्वरूप बनाएका थिए । त्यसपछि भने इतिहास विषय अध्ययन गर्न थालेपछि उनले पौराणिक कालमा कृषिमा प्रयोग हुने हलो, ढिकी, जाँतो, ओखललगायतका सामग्री बनाउन थालेका हुन् । 

Youth in Legendary Agricultural Materials Conservationसुरुमा यस्ता सामग्री बनाउँदा कतिपयले ‘बच्चाका खेलौना’ बनाएको भनेर खिसी गरेका उनले बताए । तर पछिल्लो समय भने लोप हुन लागेका कृषि सामग्री कलात्मक ढंगबाट प्रस्तुत गरेको’ भन्दै धेरैले सकारात्मक सुझाव दिने गरेका उनको भनाइ छ । पछिल्लो समय भने उनी कृषि उपकरणहरूको मर्मतसम्भार कार्यमा सक्रिय छन् । २०७३ सालदेखि दीपक प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन खोटाङमा सञ्चालक सचिव भएर काम गरिरहेका छन् । 

युवा ग्यालरी

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully