ओली–हमाल 'सिनेमा संवाद'

राजनीतिमा मात्र होइन, खेलकुददेखि सूचना प्रविधि अनि संगीतका क्षेत्रमा भाषण ठोक्न र प्रतिक्रिया दिन पछि नपर्ने ओली शुक्रबार राजेश हमालसँगको ‘सिनेमा संवाद’ मा दुई घण्टा गफिए 

चैत्र ३, २०८०

कान्तिपुर संवाददाता

Oli-Hamal 'cinema dialogue'

काठमाडौँ — सक्रियताका हिसाबले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समकालीन अन्य नेताहरूका तुलनामा निकै अघि छन् । राजनीतिमा मात्र होइन, उनले खेलकुददेखि सूचना प्रविधि मात्र होइन, संगीतका क्षेत्रमा पनि भाषण ठोक्न र प्रतिक्रिया दिन पछि पर्दैनन् । उनै ओलीले शुक्रबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा अभिनेता राजेश हमालसँगको ‘सिनेमा संवाद’ मा करिब दुई घण्टा गफिए । 

त्यसक्रममा पूर्वप्रधानमन्त्री ओलीले कला मानव जीवनसँग सम्बन्धित रहेको धारणा राखे । तर उनले भनेको कला भने अभिनय र सिर्जनासँग भन्दा पनि जीवन निर्वाहका लागि गरिने क्रियाकलापसँग सम्बन्धित थियो । ‘जंगली युगबाट कृषिमा जाँदा, मानिसले कृषि कसरी गर्ने ? बाली कसरी लगाउने भन्ने कला सिक्यो । पशुपालनका लागि जंगली जनावरलाई तालिम दिएर घरपालुवा बनाउनुपर्‍यो । त्यसका लागि त एउटा जंगली जनावरसँग मित्रता गर्ने कला चाहियो नि,’ उनले भने, ‘उहिले सिकार खेल्ने कला चाहियो । कलाको अर्थ र महत्त्व जीवनसँग, बाँच्ने चाहना र बाच्ने इच्छाबाट सुरु हुन्छ ।’ 

कुनै कुरालाई सुन्दर प्रस्तुत गर्नु नै कला रहेको ओलीको बुझाइ छ । ‘काठको झ्याल बनाउन सकिन्छ, कलात्मक कि सोझै ? खम्बा बनाउन सकिन्छ, कलात्मक कि सोझै ? मानिस सचेत भएकाले कलाको विकास गर्‍यो । यसै भएर त संस्कृतिको विकास भयो । त्यसकारण कला, संस्कृति र साहित्य जोडिएर आए, ‘हमालतर्फ हेर्दै ओली भन्छन्, ‘मानव जीवनका विभिन्न पक्षहरूको सुन्दर प्रस्तुति नै कला हो ।’

निरस जीवनमा कलाले रंग भर्ने विद्वान्को बुझाइ उद्धृत गर्दै हमालले ओलीलाई कलाका फरक आयामले आफ्नो व्यक्तित्व र सोचमा पारेको प्रभावबारे प्रश्न गरे । तर, कला र जीवनको तालमेल मिलाउँदा मिलाउँदै कलाले आफ्नो जीवनमा पारेको प्रभावबारे बोल्न ओलीले बिर्सिए । मानव जीवनकै लागि कला आवश्यक रहेको तर्कमै उनी अलमलिए । ‘कला एउटा महत्त्वपूर्ण पक्ष हो । बाँच्न मात्रै त गाईभैंसी बाँचेजसरी मान्छे बाँच्न सकिएला । तर, मानव जीवन बाँच्न कला चाहिन्छ ।’ 

अस्कर वाइल्डको ‘कला अनावश्यक छ’ भन्ने धारणा संवादबीच प्रस्तुत गर्दै कलालाई ‘अनावश्यक आवश्यकता’सँग जोड्दै प्रश्न गरे । यसो हेर्दा अनावश्यकजस्तो पनि लाग्छ । तर, गहिराइमा हेर्दा कलाको भयंकर आवश्यकता हुन्छ । व्यक्ति जीवनको भागदौडमा कलाको पक्षलाई बुझ्ने सुझबुझ छ भने उसको व्यावहारिक जीवनलाई पनि सन्तुलन मिलाउन सक्छ । कला अनावश्यक आवश्यकता भन्ने कुरामा तपाईं कत्तिको सहमत हुनुहुन्छ ? 

कलाको आवश्यकताको गहिराइमा हमाल पुगिरहँदा त्यसको जवाफ भने ओलीले सतही रूपमै दिए । हमालको प्रश्न खस्न नपाउँदै ओलीले भने, ‘म त्यत्ति सहमत छैन । अलि बूढा मान्छेले लेख्यो कि क्या हो त्यो ?’ ओलीको यस्तो तुरुन्तैको ठट्यौली जवाफले राष्ट्रिय सभागृहको हलमा उपस्थित दर्शक गललल हाँसे । हमालले भने ओलीको जवाफ दिने शैलीलाई पनि कलात्मक बताइदिए । ‘मलाई कला अनावश्यक आवश्यकताजस्तो अलिक लाग्दैन । अननेससरी भनेको त अननेससरी भइगो, तर कला त नेससरी नेसिसिटी हो । हामी अरू जीवजस्तो भातलाई नै जिन्दगी ठान्दैनौं । गाईभैंसीका लागि घाँसपानी नै जिन्दगी हो । तर, मान्छेका लागि दालभात नै जिन्दगी होइन,’ ओलीले जवाफमा भने । 

कलाको आवश्यकतामाथि ओलीले गहिरिएर जवाफ नदिएपछि हमालले बीचमै सोधे, ‘मान्छेका लागि जुन व्यावहारिक पक्ष छ, त्यो नै जिन्दगी हो भन्ने छ नि । व्यापारीलाई व्यापार नै जिन्दगी, राजनीतिकर्मीलाई राजनीति नै जिन्दगी हो । तर, कला साहित्य, फिल्म अनावश्यक हो भन्ने पनि लाग्न सक्छ ?’ हमालको यो प्रश्नको उत्तरमा कला किन आवश्यक छ भन्ने निचोडमा भने ओली पुग्नै सकेनन् । उनले युवावस्थाको प्रेम, मातृत्वको उदाहरण दिए । तर, त्यही जवाफको उत्तरमा भने उनी अलमलिए । 

‘एउटी आमाले दालभात मात्रै जिन्दगी भन्ने ठान्दैन । आफ्नो सन्तानको मुस्कानमा उसले जे पाउँछ, त्यो संसारको सबैभन्दा मूल्यवान् छ । बच्चाको मुस्कानले जाडोमा फर भएको ज्याकेटले दिने आनन्द नदेला तर, त्यो बच्चाको मुस्कानले जाडो बिर्साइदिन्छ । गर्मी बिर्सिन्छ,’ उनले उदाहरण दिँदै बुझाउन खोजे,’ तसर्थ, सास फेर्नुलाई जीउनु भन्ने कि म जिउँदै छु सास फेरिरहेको छु । सास फेर्नलाई बाँचेको जीवन त के जीवन । सास फेर्न त वनस्पतिले पनि फेर्छ । एकै ठाउँमा उभिएर, एकै घरमा बसेर हामी जीउन चाहँदैन । प्रकृतिजस्तो रमाइलो जिन्दगी नै बाँच्न चाहन्छौं ।’ युवाको प्रेम र आमाको स्नेहले भावनासँग जोडिएको भन्दै हमालले तर्क गर्दा त्यसमा पनि ओली कमजोर देखिन खोजेनन् । हमालको प्रश्न पूरा हुन नपाउँदै भने, ‘जिन्दगी यथा र भावनासँग जोडिएको हुन्छ । यथार्थ र फिक्सनसँग जोडिएको हुन्छ ।’

कला र भावनाको सम्बन्धबीच ओली रुमल्लिएपछि हमालले संवादलाई राजनीतिसँग जोडिदिए । ‘जिन्दगी भावनासँग जोडिएको हुन्छ कि कथित बौद्धिकतासँग ?’ जवाफमा आफ्नो कला चेत पस्कँदै ओलीले भने, ‘जीवन यथार्थ हो, समाज यथार्थ हो । अवस्था जे छ त्यो यथार्थ हो । कला परिकल्पना हो, अभिनय हो । जीवन अभिनय गरेर चल्दैन । फिल्ममा नखाए पनि खाएको अभिनय । प्रेम नभए पनि प्रेमको अभिनय । नलडे पनि लडेको अभिनय । घाइते नभए पनि घाइतेको अभिनय । नमरे पनि मरेको अभिनय । जीवन त त्यस्तो हुँदैन । जिन्दगीमा त्यस्तो हुँदैन, राजनीतिमा त्यस्तै हुँदैन ।’ 

ओलीको जवाफले उनले कलालाई यथार्थ चित्रणका रूपमा अझै बुझ्न नसकिएको प्रस्ट हुन्छ । त्यसैले होला, त्यही कुरा बुझाउन हमाले पिकासोको चर्चित भनाइ प्रस्तुत गरे । ‘कला पस्कँदा त्यसको सुरुवात झूटबाटै हुन्छ । तर, यो एउटा यस्तो झूट हो जसलाई अवलोकन गर्नेले आफूभित्रको सत्य थाहा पाउँछ,’ ‘हमालले ओलीतर्फ हेर्दै भने ओलीको त्यही बुझाइलाई उल्टाइदिए । हमालले थपे, ‘फिल्म हेर्दा सबैलाई लाग्छ कि यो झूट हो, नाटक हो । धनवान देखिए पनि यो वास्तविक जीवनमा गरिब छ भन्ने लाग्न सक्छ । तर त्यहाँ देखाइएका भावनामा व्यक्ति वहन सक्छ । त्यो झूट हो भन्ने थाहा हुँदाहुँदै फिल्मको दृश्यबाट प्रभावित भएर हाँस्न, रुन, दुखेसो पनि पोख्न सक्छ । दृश्यभाषाको यो शक्तिलाई नकार्न मिल्दैन होला नि ?’ तर, ओलीले कलालाई यथार्थ चित्रण नभएको बताए । ‘म फिल्म र कलालाई झुट भन्दिन । कथा र अभिनय भन्छु । झूट अलिक भन्न हुन्न, झूटभन्दा होच्याइयो त्यसलाई,’ महाभारतको उदाहरण दिँदै ओलीले भने, ‘कला एकदम यथार्थ चित्रण होइन, कला हो । कथा हो तर, झूट होइन । कथा भनेको इतिहास होइन, त्यसैले त्यसलाई परिकल्पना भन्नुपर्छ ।’ 

कथामाथि लामो छलफल भएपछि हमालले समानता व्यावहारिक जीवनमा सम्भव नभएको तर्कतर्फ ओलीलाई डोर्‍याउन खोजे । तर, ओली भने त्यो सम्भव हुने पक्षमै उभिए । दुईबीच यसबीचमै लामो छलफल चल्यो । ‘१६ औं शताब्दीसम्म त मान्छे जंगली अवस्थामै थियो । त्यसबाट पशुपालन आयो, तबसम्म नभएको कुरा भयो । कृषिमा आयो । १९०३ सम्म त राइट ब्रदर्श त हवाईजहाज बनाउँदै थिए । अहिले त पोखरा जाउ, हवाई जहाज । संसारभर हजारौं हवाई जहाज । एक सय २० वर्षमा त यस्तो भयो नि । पहिल्यै हुँदै नभएको कुरा हुँदो रहेछ,’ ओलीले परिवर्तनको सम्भावना देखाउन उदाहारण दिँदै भने । ओलीको जवाफ सक्न नपाउँदै हमालले सोधे– ती कुराले समानता ल्यायो त ?’ 

‘हामीले जे कथा भइरहेको छ त्यसैलाई स्विकारेर बस्यौं भने नयाँ फिल्म बन्ने भएन । तर, अहिलेसम्म नबनेको फिल्म किन बनाउने ? आजबाट थाल्नुपर्‍यो ? ओलीले यसरी नै जवाफ दिएपछि हमालले सोझै ओलीलाई कटाक्ष गर्दै बिम्बात्मक प्रश्न गरे । ‘आजबाट थाल्ने हामीसँग चेत थियो भने हिजोबाट किन थालिएन ? दुईबीचको यो तर्क/वितर्कमा दर्शकले खुबै मनोरञ्जन लिए । फिल्म संवादमाथि छलफल भइरहँदा हमालले जनताको पक्षबाट गुनासो, सत्तापक्षप्रतिको निराशा ओलीसामु प्रस्तुत गरिरहे । ओली भने हमालको गुनासोलाई राजनीतिक परिभाषाले गलत सावित गर्न खोजे । दुईबीच फिल्मका विविध पक्षबीच छलफल गर्ने निहुँमा राजनीतिमाथि भने राम्रै बहस भयो । त्यसैले ओलीले भने, ‘अहिले हामीबीच कन्फ्रन्ट भएजस्तो देखियो ।’ 

ओलीले भनेझैं फिल्ममाथिको यो बहसमा राज्यले अझै कलालाई किन बुझ्न सकेका छैनन् भन्ने सत्य प्रस्तुत भयो भने हमालको प्रश्नमा जनताको चरम निराशा, सत्तापक्षप्रतिको प्रश्न । 

कान्तिपुर

Link copied successfully