कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

‘कन्दरा’ को सानदार पुनरागमन

दीपक परियार

पोखरा — कोठामै स्टुडियो बनाएर रेकर्ड गरिएका गीतबाट कैयौं नवप्रतिभा जन्मिएका छन् । कलाकारको प्रस्तुति डिजिटल माध्यमबाट सहजै हेर्न सकिने अवस्था छ । ‘लाइभ कन्सर्ट’ मा दर्शकको अभाव हुने आशंकाकै बीच तीन दशक पुरानो ब्यान्ड ‘कन्दरा’ शुक्रबार पोखरामा गुञ्जियो । पोखराबाट उदाएको यो लोक पप ब्यान्डले हजारौं दर्शकबीच गृह नगरबाट सानदार पुरागमन गर्‍यो ।

‘कन्दरा’ को सानदार पुनरागमन

चिसो साँझमा गायक विवेक श्रेष्ठ आफ्नो ब्यान्डका सदस्यसहित ‘तगारोमा रुमाल राखी...’ सँगै स्टेजमा उक्लिँदा पोखरा प्रदर्शनी केन्द्र गर्मायो । सन् १९९५ मा पहिलो एल्बम ‘चन्चले कान्छी’ गीत/संगीतको दुनियाँमा आएपछि कन्दराले पछि फर्किनु परेको थिएन । शुक्रबारको कन्सर्टमा ‘चन्चले कान्छीको योवन...’ प्रस्तुत हुँदा पाका दर्शकले आफ्नो युवाकालीन समय सम्झिए । ‘लेककी हे माया...’, ‘तिमी पारी..’ र ‘विदेशिएर गइन् उनी...’ गाउँदा आफ्नो पुरानो दिनमा पुगे । केही नयाँ गीत पनि ब्यान्डले सुनायो । गोपाल योञ्जनलाई सम्झिँदै ‘जय जय नेपाल...’ दुईपल्टसम्म गाउँदा दर्शकले तालमा ताल, स्वरमा स्वर मिलाए ।

सबैको पर्खाइलाई सम्बोधन गर्दै ब्यान्डले कन्सर्टको अन्तिममा ‘हङकङ पोखरा...’ गीत प्रस्तुत गर्‍यो । सन् १९९८ मा रेकर्ड भएको यो गीत प्रस्तुत गर्दा कन्सर्टमा आएका बच्चादेखि वयस्कसम्मले तालमा ताल मिलाए । ०७३ मा पोखरा सभागृहमा भएको कन्सर्टपछि प्रदर्शनी केन्द्रको माहोलले ब्यान्डका सदस्य उत्साहित देखिन्थे । ‘कन्दराले पोखराको अथेन्टिक स्वादलाई फेरी ब्युत्याएको छ,’ कन्सर्टको सफलतापछि गायक श्रेष्ठले भने, ‘ब्यान्डको पुनर्संरचनाले हामी फेरी उठ्न सम्भव भयो ।’

स्थापनाको ३ दशकपछि कन्दराले ब्यान्डको पुनर्संरचना गर्दै नयाँ गीत ‘विचरा म...’ हालसालै सार्वजनिक गरेको थियो । संगीत संयोजक सुनिल थापा सुरुदेखि नै ब्यान्डमा निरन्तर छन् । नेपालमा पहिलोपल्ट जिप्सी ज्याज म्युजिक गुञ्जायमान गराएका गितारिस्ट हरि महर्जन, देव लामा, बेस गितारिस्ट पंकज झा र ड्रमर सुन्दर महर्जनको प्रस्तुतिले पनि कन्दराका गीतमा फरकपन महसुस गरायो । उनीहरु ब्यान्ड पुनर्संरचनासँगै कन्दरामा भित्रिएका थिए ।

गीत संगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने कन्दरा सांगीतिक अभियान ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत ब्यान्ड पोखरा प्रदर्शनी केन्द्रमा पहिलो लाइभ कन्सर्टमा प्रस्तुत भएको हो । पोखरा पर्यटन परिषद् र व्यवस्थापक अल्फा स्क्वायर प्रालिको सहकार्यमा देशका सातवटै प्रदेशका मुख्य सहरमा यो अभियान पुग्ने छ ।

कन्सर्टमा गायक श्रेष्ठले पोखरा घुम्ने निम्तो सहित सातै प्रदेश पुग्ने बताउँदै पहिला आफ्नो देशभित्रका पर्यटकीय स्थल घुम्न दर्शकलाई आग्रह गरे । उनका अनुसार अभियानको यो पहिलो र ठूलो कर्न्सट हो । कन्सर्टका लागि पोखरामा पहिलोपल्ट सबैभन्दा ठूलो आकारको स्टेज बनाइएको उनको दाबी छ ।


पोखरामा शुक्रबार कन्दरा ब्यान्डले आयोजना गरेको लाइभ कन्सर्ट । तस्बिर सौजन्य : प्रेम थापा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि संगीतमार्फत पोखराको प्रवर्द्धन देश विदेशमा गर्न कन्दरालाई साथ दिएको बताए । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिन सांगीतिक अभियानको थालनी भएको बताए । अभियानले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, घुमफिर संस्कृति एवम् दिगो पर्यटनलाई प्रोत्साहित मिल्ने गरी अर्थतन्त्र चलायमान हुने उनको अपेक्षा छ ।

गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने सांगीतिक अभियानको प्रवर्द्धनमा हातेमालो गरेका छन् ।

पोखराबाट सुरु भएको सांगीतिक कार्यक्रम सातै प्रदेश हुँदै राजधानीमा पुगेर समापन हुने छ । त्यसपछि भने सन्देशमूलक सांगीतिक कार्यक्रम लिएर विदेशसम्म पुग्ने कन्दराको योजना छ । सन् १९९२ मा पोखरामा स्थापना भएको यो ब्यान्डले अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ । कन्दराकै लोकपप शैलीका गीत चर्चित छन् ।

प्रकाशित : पुस २९, २०८० ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×