कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मर्यादित महिनावारी अभियानमा गायिका

सुर्खेतकी गायिका सुनिता बुढा र कञ्चनपुरकी देउडा गायिका रेखा जोशीको अभियान
तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली र सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिलाहरूले महिनावारी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायमै छ । त्यसैले, महिनावारी भएका नारीलाई घरभन्दा केही पर बनाइएका झुपडी (छाउघर) मा बस्न लगाइन्छ । महिनावारीमा महिलालाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्गै बस्नुपर्ने परम्परा नै छ । लामो समयदेखि चलिआएको यस्तो परम्परा अन्य जिल्लामा पनि कायम छ । 

मर्यादित महिनावारी अभियानमा गायिका

तर पछिल्लो समय भने यही कुप्रथाविरुद्ध कलाकारहरूको पनि सक्रियता बढेको छ । तिनैमध्येकी एक हुन्, सुर्खेतकी गायिका सुनिता बुढा । कलाकारितासँगै सुनिता मर्यादित महिनावारी अभियानमा जोडिएकी हुन् । महिलाहरू महिनावारी भएका बेला घरभन्दा अलग्गै गोठमा बस्नुपर्ने बाध्यतादेखि महिलामाथि हुने भेदभावविरुद्ध उनको सक्रियता पछिल्लो समय निकै बढेको छ ।

सुर्खेतको वीरेन्द्रनगर–११ मा २०५० सालमा जन्मिएकी सुनिता अहिले मर्यादित महिनावारीसम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन कर्णालीका विभिन्न जिल्ला पुग्छिन् । केही समयअघि उनी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मर्यादित महिनावारी व्यवस्थापन कार्यशाला गोष्ठीमा पनि सहभागी भइन् । कर्णालीका विभिन्न पालिकाका उपप्रमुख र उपाध्यक्ष सहभागी कार्यक्रममा सुनिताले सांगीतिक प्रस्तुतिमार्फत छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताइन् । उनले छाउपडी प्रथाविरुद्धका गीतहरू गोष्ठीका सहभागीहरूलाई सुनाइन् ।

सुनिताले कर्णाली प्रदेशका लागि मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूतका रूपमा काम गरिरहेकी छन् । उनलाई मर्यादित महिनावारी व्यवस्थापन कर्णाली सञ्जालले नियुक्त गरेको हो । सञ्जालले सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) कर्णालीको सहकार्यमा उनलाई दूत बनाएको हो ।

सुस्वा परियोजनाका राजु तिर्वाले आफूलाई यो अभियानमा जोडेको सुनिता बताउँछिन् । ‘हामी पनि सहजै घरमा भान्सा छिर्ने र मन्दिर पस्ने वातावरण बन्न सकेको छैन । ग्रामीण क्षेत्रका महिला त गोठमा बस्न बाध्य छन् । जसका कारण उनीहरूमा शारीरिकदेखि मानसिक समस्या देखिने गरेका छन्,’ सुनिताले भनिन् ।

मर्यादित महिनावारी व्यवस्थापन अभियानमा जोडिएपछि कर्णालीका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउने कार्य गरिरहेको उनले बताइन् । ‘अभियानमा जोडिएपछि महिनावारी भएको बेला हुने विभेद हटाउनपर्छ भन्ने उद्देश्यले गीत पनि गाएकी छु,’ उनले भनिन् । ‘कथा छोरीको’ शीर्षकको गीतमा खेम सेन्चुरीले पनि आवाज दिएका छन् ।

सुनिताले गाएको ‘रमाउले नि हो, कमाउने नि हो’ तीजको बेला निकै चल्यो । सुर्खेतमै रेडियोमा काम गर्दै गाउँदै गरेकी उनी विद्यालय पढ्ने बेलैबाट गीतहरू गाउँथिन् । सुर्खेतसँगै आसपासका जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा भाग लिने क्रममा उनले २०६९ सालमा पहिलो पटक ‘छुट्न परे कसो गरौंला’ भन्ने गीत रेकर्ड गराइन् । त्यसपछि उनले निरन्तर लोकदोहोरी गीतहरू गाउँदै आएकी छन् । त्यस्तै, महिनावारी अभियानमा जोडिएकी अर्की गायिका हुन् रेखा जोशी । सुदूरपश्चिमको कञ्चनपुर घर भएकी देउडा गायिका रेखा सुरुमा मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी सुदूरपश्चिम सद्भावना दूत थिइन् । हाल उनी महिनावारी स्वच्छता व्यवस्थापन राष्ट्रिय सद्भावना दूत छन् । उनलाई सुरुमा यो अभियानमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले २०२२ बाट ५ महिनाका लागि जोडेको थियो । अहिले राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालले जोडेको छ ।

रेखा पनि महिनावारीमा गरिने विभेद हटाउन सुदूरपश्चिमसँगै कर्णाली र देशका विभिन्न जिल्ला पुग्ने गरेकी छन् । छाउपडी कुप्रथाले जरो गाडेको सुदूरपश्चिममा जन्मिएकी उनले पनि महिनावारी भएका बेला विभिन्न प्रकारका विभेद भोगेकी छन् ।

मनोरञ्जनात्मकसँगै जनचेतामूलक देउडा गीत गाउँदै आएकी रेखालाई २०२२ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका राजुले नै यो अभियानमा जोडिन आग्रह गरेका थिए । ‘आफैंले भोगेको र घर, गाउँ–समाजमा देख्दै आएका गलत प्रथाविरुद्ध जोडिएर काम गर्न पाएकामा खुसी छु । म त छाउपडी कुप्रथाको बिगबिगी भएको ठाउँमा जन्मेर हुर्किएकी हुँ,’ उनले भनिन्, ‘एक दिन यो हटेर जाओस् भन्दै म पनि यो अभियानमा जोडिएकी छु ।’

अभियानमा जोडिसकेपछि रेखा सुदूरपश्चिमका पाँच जिल्लाका आठ गाउँपालिकामा आयोजित सांस्कृतिक कार्यक्रममा पुगिसकिन् । सांस्कृतिक अभियानमा गाउँ पुग्दा किशोरी तथा महिलाहरूसँग महिनावारीसम्बन्धी छलफल पनि गर्ने गरेको उनले बताइन् । ‘ग्रामीण क्षेत्रमा बिस्तारै परिवर्तन भइरहेको छ । गोठमा बस्ने आमाहरूले छोरीहरूलाई महिनावारी भएका बेला घरकै कोठामा बसाउन थालेका छन्,’ उनी भन्छिन्, ‘महिनावारी बार्नु राम्रो होइन । यो बेला सरसफाइ गर्नुपर्छ भन्ने चेतना बढेको छ ।’

रेखाले महिनावारी विभेदविरुद्ध चारवटा जनचेतामूलक गीत पनि गाएकी छन् । उनले यो अभियानमा नजोडिँदै तीनवटा गीत ‘छाउपडी’, ‘छाउपडीको बेला’ र ‘लिलु’ गाएकी थिइन् । अभियानमा जोडिएपछि ‘खुलेर कुरा गरौं’ नामक जनचेतनामूलक गीत गाएको उनले बताइन् । यही विषयको अर्को गीतको तयारी गरिरहेको उनको भनाइ छ ।

कक्षा १२ को पढाइ सकेपछि १० दिनको रेडियो तालिम लिएर रेडियोमा देउडा गीतको कार्यक्रम सञ्चालन गर्दै गर्दा रेखालाई पहिलो पटक २०७१ सालमा गायक गोपाल दयालले देउडा गीत ‘घुटुक्क बालुडी लाया’ गाउन दिएका थिए । उनको यो गीत धेरैले मन पनि पराए । त्यसपछि उनले निरन्तर देउडा गीत गाउँदै आएकी छन् । रेखाका धेरै देउडा र ठाडीभाकाहरू चर्चित छन् । केही वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले रेखालाई सुदूरपश्चिमको देउडा क्षेत्रमा परिचित गराएको छ । यो गीत युट्युबमा समेत २६ लाखभन्दा बढीले हेरेका छन् ।

प्रकाशित : पुस २८, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×