कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गीति नाटक लिएर देश दौडाहा

दीपक परियार

पोखरा — लाहुरेको कथामा ‘गोर्खा पल्टन’, खाडी मुलुकमा जाने कामदारको कथामा ‘परदेशी’ जस्ता सफल चलचित्र दिइसकेका निर्देशक नारायण रायमाझीको ‘परदेशी–२’ असोज २६ मा प्रदर्शनमा आउँदै छ ।

गीति नाटक लिएर देश दौडाहा

दसैंको छेकोमा हलमा आउने फिल्म युनिट यतिबेला गीति नाटक लिएर देश दौडाहामा छ । चितवन, कोहलपुर, नेपालगन्ज, बुटवल हुँदै चलचित्र युनिट बिहीबार पोखरा आइपुगेको हो । निर्देशक रायमाझी, मुख्य कलाकारद्वय प्रकाश सपुत र केकी अधिकारी गीति नाटक लिएर पोखराका विभिन्न कलेजमा पुगेका छन् ।

फिल्मको कथा समेटेर तयार गरिएको गीति नाटक विद्यार्थीमाझ प्रदर्शन गरिएको निर्देशक रायमाझीले बताए । उनका अनुसार उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथामा तयार भएको हो ‘परदेशी २’ । ‘१२ कक्षा पास गरेपछि उच्च शिक्षा र आफ्नो सपना पूरा गर्न परिवार छोडेर परदेशिएकाहरूको कथा फिल्ममा छ,’ उनले भने, ‘त्यही समूहमाझ पुग्नुपर्छ भन्ने ठानेर कलेज–कलेज पुगिरहेका छौं ।’ गोर्खा पल्टन र परदेशीभन्दा ‘परदेशी २’ फरक रहेको बताउँदै उनले यो फिल्ममा गाउँ, सहर, परिवार र हरेक घरघरको कथा रहेको बताए ।

यो फिल्म गायक सपुतको डेब्यु फिल्म पनि हो । चलचित्र पत्रकार संघ कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हिरो बन्ने हुटहुटीले चलचित्रमा काम गरेको बताए । अर्को चलचित्रमा काम गर्ने/नगर्नेबारे ‘परदेशी–२’ प्रदर्शनमा आएको साता दिनपछि मात्रै सोच्ने उनले सुनाए । ‘फिल्म क्षेत्रमा आइसकेपछि रहर मात्रैले पनि नहुँदो रहेछ,’ उनले भने, ‘जिम्मेवार भएर सोच्नुपर्ने भएकाले अर्को फिल्ममा खेल्ने, नखेल्ने भन्ने सोच बनाइसकेको छैन ।’ परदेशी–२ मा अहिलेको समाज सुहाउँदो कथा रहेकाले हरेकखाले दर्शकले मन पराउनेमा उनी आशावादी छन् । फिल्मको प्रिमियर भने शुक्रबार बागलुङमा हुँदै छ । आफ्नो गृह जिल्लामा पहिलो फिल्म प्रिमियर गर्न पाउँदा सपुत निकै रोमाञ्चित छन् ।

कलाकार केकी अधिकारीले परदेशी–२ आफ्नो ३३ औं फिल्म भए पनि टिमसँग काम गर्दा पहिलो महसुस गरेको सुनाइन् । उनले सबैखाले दर्शकलाई जोड्ने किसिमको कथा फिल्ममा भएको बताइन् । फिल्ममा केकी र सपुतसँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटीलगायतको अभिनय छ । ‘परदेशी’ मा वैदेशिक रोजगारीको विषय समेटिएको थियो भने यसको सिक्वेलमा विद्यार्थीहरूको विदेश मोह समावेश छ ।

फिल्ममा अन्य कलाकार नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । चलचित्रको छायांकन नेपाल, भारत र अमेरिकामा गरिएको छ । तीन वर्षअघि निर्माण सम्पन्न भएको फिल्मको प्रदर्शन मिति पटक–पटक सरेको थियो ।

प्रकाशित : आश्विन १२, २०८० ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×