तीज गीतले पहिचान

रूपन्देही बसाइँ सरेर आएकामध्ये धेरै कलाकारितामा सक्रिय छन् । कोही शब्द रच्छन्, कोही संगीत भर्छन् भने गाएरै अघि बढेका धेरै लोक कलाकार देशैभर परिचित छन् । तर तीज गीतकै कारण पहिचान बनाउनेमा पर्छन् शिलु भट्टराई, सीता रानामगर, प्रचण्ड जीसी र दीपु मगर । 

भाद्र २०, २०८०

सन्जु पौडेल

लुम्बिनी — प्यूठानको नौबहिनी गाउँपालिका–८ का दीपु मगर अहिले रूपन्देहीका स्थापित लोक गायक हुन् । जन्मस्थानमा रहँदै विद्यालयस्तरका थुप्रै प्रतियोगितामा सहभागिता जनाएर दोहोरी गाएका थिए । उच्च शिक्षा अध्ययनका लागि बुटवल आएपछि उनको गायकीले रफ्तार समात्यो । 

स्थानीय मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा आफ्नो खुबी प्रस्तुत गरेका उनी कुशल कार्यक्रम सञ्चालक पनि हुन् । यहीं रहेर लोक गायनमा परिचय बनाएका उनी अहिले लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्षसमेत छन् । 

यसबीच उनले १५ वटा तीजका भाका गाइसकेका छन् । ‘दोहोरी प्रतियोगितामा भाग लिँदै गायनलाई अगाडि बढाइयो,’ उनले भने, ‘दोहोरी प्रतियोगितासँगै तीजका गीतले अहिले कलाकारका रूपमा चिनाएका छन् ।’ २०६१ सालमा प्यूठानबाट रूपन्देही आएपछि गायनलाई अघि बढाउन सहयोग पुगेको उनले बताए । यहाँका पुराना गायक/गायिकाका गीत सुन्ने, कार्यक्रममा सँगसँगै हिँडेर गाउने गर्दागर्दै गीत गाउने लत नै बसेको उनी बताउँछन् ।

‘सुरुमा मैले रेडियोमा काम गरें, आफू पनि पढें, विद्यालयमा पढाएँ,’ उनले भने, ‘अहिले त फुल टाइम कलाकार भएको छु, पुरै समय गीतसंगीतलाई दिएको छु ।’ तीजका भाकाले आफूलाई परिचय दिएको उनले बताए । ‘मलाई तीज गीतप्रति अति लगाब छ,’ उनले भने, ‘महिला दिदीबहिनी मैले गाएको गीतमा नाचेको देख्दा खुसी लाग्छ ।’

दीपुले २०६७ सालमा एल्बम निकालेर औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेको उनले बताए । २०७० सालको तीजमा ‘सरसर साडी सर्काएर...’ बोलको गीतबाट उनले चर्चा कमाए । २०७४ मा ‘छुकछुके रेल...’ बोलको गीत निकै चल्यो । त्यसले थप गाउने ऊर्जा मिलेको उनले बताए । तीजकै कार्यक्रमका लागि उनलाई कतार र दुबई जाने अवसरसमेत मिलेको उनले बताए । यस वर्षको तीजमा गीत निकाल्न नपाए पनि विभिन्न कार्यक्रममा सहभागी हुने तय भइसकेको दीपुले बताए । ‘मैले मौलिकभन्दा पनि आधुनिक बेसमा नाच्ने गीत गाएर श्रोता, दर्शकलाई रमाइलो गराएको छु,’ उनले भने, ‘मौलिकता जोगाउने हो, सँगसँगै नयाँ खालका भाका पनि मानिसले सुन्न चाहन्छन्, सोही अनुसार पनि अघि बढ्नुपर्छ ।’ 

‘धुव्रतारा मकैको पातलाई..., कहाँमा जान्छ्यौ रानी चरी बगाल..’ जस्ता तीज भाका सुनेर हुर्किएका दीपुले हरेक गीतलाई अपनत्व दिएर सुन्नुपर्ने बताए । ‘हरेक गीतको भाका र शब्द गाउने र शब्द रचना गर्ने कलाकारमा भर पर्छ,’ उनले भने, ‘त्यसैले आधुनिकतासँगै गीतसंगीत परिवर्तन हुनु स्वाभाविक हो ।’ दीपुले गायकीमा कस्ता शब्द राख्ने, कलाकारले के कुरामा ध्यान दिने भन्ने विषयलाई ख्याल गर्दै दोहोरी गीत प्रतिष्ठानले नै विकृति न्यूनीकरण समिति नै बनाएर काम गरिरहेकाले नयाँ वा पुरानैमा पनि केही त्रुटि भए सम्झाउने काम गरिरहेको बताए । अहिले कालकारले पुराना तीजका भाकामा शब्द मिलाएर र भाका परिवर्तन गराएर गाइरहेको उनले बताए । 

तीजको कुरा हुँदा गायिका शिलु भट्टराईलाई नसम्झिने कमै होलान् । उनले तीज भाकाबाटै नेपालीमाझ चर्चा कमाएकी हुन् । अहिलेसम्म सयभन्दा बढी गीत गाइसकेकी उनलाई ‘तीज गायिका’ को उपनाम नै दिइएको छ । हरेक वर्षको तीज आउनै लाग्दै शिलुका गीत चोक चोक, माइक्रो बस र दर खाने कार्यक्रममा घन्किन्छन् । आफूले तीज गीत मन पराउने भएकाले गाउने गरेको उनले बताइन् । ‘म अरू गीत पनि गाइरहेकी हुन्छु,’ गुल्मीकी बासिन्दा शिलुले भनिन्, ‘सानैदेखि गुल्मीको रेसुंगाको चिसो हावामा आमासँग चौतारीमा पुगेर तीज गीत सुनेको, गाएको रमाइलो सम्झना कायम राख्न तीजमै बढी केन्द्रित हुने गरेकी छु ।’ 

पुराना भाकामै तीजका गीत गाउने गरेकी उनले मौलिकता जोगाउन तीज भाकाले सघाइरहेको बताइन् । २०७१ सालमा पहिलो पटक गाएको तीज गीत घुम पाकुम घुम... ले चर्चा कमाएपछि तीजका भाकालाई बढावा दिएको उनले बताइन् । ‘म पहिले ब्युटिसियन थिएँ,’ उनले भनिन्, ‘मोडल बन्नका लागि काठमाडौं गएँ, साथीभाइले गीत गाउने सुझाव दिएपछि गायिका भए ।’ पहिलो गीत साढे दुई लाख रुपैयाँ खर्च गरेर बजाएको उनले सम्झिइन् ।

त्यसपछिका धेरै गीत अरूका लागि गाएको उनले बताइन् । ‘मलाई जस्ता पनि गीतको अफर आइरहन्छ,’ उनले भनिन्, ‘मौलिकता जोगाउने गीतमै मेरो जोड हुन्छ ।’ उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी अध्यक्ष हुन् । उनी यस वर्ष तीजको कार्यक्रममा प्रस्तुति दिन युएई जाँदै छिन् । उनका भंगेरी चरीले..., लालुमई टेबुलमा ऐना छ..., भइँपत्र हल्लाउँदै... बोलका तीज गीत चर्चित छन् । 

 २०६० सालमा गुल्मीबाट बुटवल झरेकी सीता रानामगरले ०६१ सालमा गीत सार्वजनिक गरिन् । त्यतिबेला अडियोको जमाना थियो । दोहोरी गीत गाउन जानेकी उनले बुटवलमा भर्खर भर्खर सुरु भएका व्यापारिक महोत्सवमा आयोजना हुने दोहोरी प्रतियोगितामा भाग लिइन् । त्यसबाटै गायन यात्रा थालिन् । बजारमा भीसीडी, सीडी अडियो मात्र उपलब्ध हुने समयमा गाउन सुरु गरेकी थिइन् । अहिलेको आधुनिकीकरणले गायकसँगै अन्य कलाकारलाई समेत कला अघि बढाउन सघाएको उनले बताइन् । ‘हामीले गाएका गीत रेडियोमा बज्थे, अहिले चारैतिर हेर्न सुन्न मिल्छ,’ उनले भनिन्, ‘कलाकारिताको क्षेत्रलाई प्रविधि र सुविधाले अघि बढाए पनि संस्कार र संस्कृति भुल्नु हुँदैन ।’ 

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा जिल्ला कार्यसमिति हुँदै अहिले केन्द्रीय सहसचिवको जिम्मेवारीमा छन् । रानाले पैसावाला हो..., लाहुरेको छोरी..., नौतुनाको रेल..., सरी ल.. जस्ता तीज गीतबाट चर्चा कमाएकी हुन् । वर्षैपिच्छे तीजका गीत गाउने उनले यस वर्ष गीत सार्वजनिक नगरेको उनले बताइन् । हजुरआमाका पालामा सुनेको ‘भंगेरी चरी, लालुमई’ गीत अहिले पनि सुन्न पाइने भएकाले कलाकारले पुरानो भाकालाई सम्मान गरिरहेको उनले बताइन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानले हरेक कलाकारलाई समेट्दै पुराना भाका, शब्द तथा लयको संरक्षणसहित नयाँ प्रविधिमा श्रोतालाई रमाइलो हुने गरी गीत गाउन आग्रह गर्ने गरेको उनले बताइन् । 

 विभिन्न समयमा आयोजना हुने लाइभ दोहोरी कार्यक्रममा गीत गाएर लोक गायनमा परिचय बनाउनेमध्ये प्रचण्ड जीसी पनि हुन् । ०६१ सालमा प्यूठानबाट बुटवल आएका उनी लोकसंगीतमा जमेका छन् । तर पछिल्लो समय लोकगीतको मौलिकता हराउँदै गएकोमा चिन्तित छन् उनी । मौलिक शब्द रचना तथा त्यसका लागि गर्नुपर्ने आर्थिक त्यागलाई जुनसुकै कलाकारले थाम्न नसकेको उनको बुझाइ छ । ‘प्रकृतिमा देखिएका, घर समाजमा भएका विषयलाई गीतमा सन्देश दिने हिसाबले गाइने तीजका भाका भ्युज बढाउने, स्टेज चढ्ने माध्यममा लगिएको छ,’ उनले भने, ‘मौलिकपना जोगाउने स्रष्टाको सम्मान नहुनु र सरकार तथा संघसंस्थाले नचिनेका कारण पुराना भाका हराउँदै गएको हो ।’ 

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट रूपन्देही बसाइँ सरेर आएकामध्ये धेरै कलाकारितामा जमेका छन् । उनीहरूले गीतसंगीतका विभिन्न विधा अंगालेका छन् । कोही शब्द रच्छन्, कोही संगीत भर्छन् भने गाएरै अघि बढेका धेरै लोक कलाकार देशैभर परिचित छन् । लुम्बिनी प्र्रदेशका स्रष्टाका रूपमा चिनिएका डिल्लीनारायण पाण्डे, ओम ज्ञवाली, सपना गाहा, शिरीश देवकोटा, प्रचण्ड जीसी, वैकुण्ठ महत, दामोदर बस्याल, मन्जु आचार्य, अनुराधा घर्ती, मन्जु पौडेललगायतले लोक गीतको जगेर्ना तथा गायनकै लागि गरेको योगदान अतुलनीय छ ।

अहिले पनि यस प्रदेशका युवा गायकगायिकाले नेपाली लोकसंगीतलाई अघि बढाउन सघाएका छन् । रितु थापा, दीपक गरौंजा मगर, रेनु राना, शीतल शर्मा, उज्ज्वल गिरी, लालमाया थापा, नारायण बीपी परियार, विष्णु श्रीपाली, रायमाझी परिवारका हरिमाया, शर्मिला, एलिना र विशाल, विक्रमबाबु विश्वकर्मा, पुरुषोत्तम पौडेल, श्रीधर अधिकारी, वसन्त लम्साल, योगराज पोखरेल आदिले रूपन्देहीबाट लोक क्षेत्रमा क्रियाशील छन् ।

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully