अछाम — जा घरको समाचार लैया, माल जान्या काग परदेशी हुँ, परदेशै छु, परदेश मेरा भागबिदेसिन बाध्य भएकाहरूको घरप्रतिको प्रेम र घरबारे जान्ने हुटहुटी । अनि, आफ्नो देशमा जन्मिएर पनि बिरानो देशमा जीवन बिताउनुपरेकाहरूको पीडा बोल्छन् गीतका यी हरफले ।
सुदूरपश्चिम र कर्णालीवासी जुन–जुन देशमा पुगेका छन् त्यता यस्तै भावका देउडा गीत बढी रुचाइएका छन् । यो गीतकी गायिका हुन्, अछामको ढकारी गाउँपालिका–२ हिच्मा बण्डालीमाडुकी २७ वर्षीया निरुता खत्री ।
दुर्गम गाउँबाट उदायकी निरुता सम्भवतः देउडा गीत गाएर देश र विदेशका दर्जनौं स्टेजमा जमेकी पहिलो अछामी देउडा गायिका हुन् । नयाँ पुस्ताले देउडाप्रति चासो देखाउनै छोडेका बेला निरुताजस्ता नवकलाकारको आगमनले देउडाको दायरा फराकिलो पार्दै गएको छ ।
सामान्य परिवारमा जन्मेकी निरुताको बाल्यकाल अभावै अभावमा बित्यो । ८ कक्षा पढ्दै गर्दा आमालाई पक्षाघात भएपछि उनको जीवनमा दुःखको पहिरो नै गयो । ३ दाजुभाइ र २ दिदीबहिनी भए पनि आमाले गर्नुपर्ने कामको जिम्मेवारी उनीमाथि आयो ।
यी सबै समस्याका बाबजुद पनि निरुताको मनभित्रको हुटहुटी बाहिर आएरै छोड्यो । स्कुले जीवनमा गीत संगीतभन्दा बढी उनको रुचि खेलकुदमा थियो । उनी भलिबल खेलाडी पनि हुन् । २०६७ सालमा आयोजना भएको राष्ट्रपति रनिङ सिल्डमा जिल्लाका १४ स्रोत केन्द्रमा उनको टिम भलिबलमा पहिलो भयो । त्यसपछि उनको जीवनमा उत्साह थपियो ।
जिल्लामा प्रथम भएर सुदूरपश्चिम स्तरीय खेलमा सान्त्वना भयो । उनलाई खेल क्षेत्रमै लागेर अगाडि बढ्नु थियो । ‘मलाई त्यो बेला भलिबल नै सबैथोक हो जस्तो लाग्थ्यो । तर गाउँमा बसेर भलिबल खेल्न र अवसर पाउन सम्भव थिएन । यो रहर त्यत्तिकै सकियो,’ उनले भनिन्, ‘परिवारको आर्थिक अवस्था समस्या देखेर मलाई एकदमै पीडा हुन्थ्यो । म गीत पनि गाउने गर्थे ।’
एसएलसीपछि उनी रेडियोमा काम गर्ने सोच बनाउन थालिन् । यत्तिकैमा अछामको एक रेडियोले आधारभूत पत्रकारिता तालिम दिने र त्यसबाट छनोट भएपछि रेडियोमा काम पाइने जानकारी पाइन् । ‘ढकारीबाट रेडियोमा काम गर्न मंगलसेनसम्म आउनु नै मेरा लागि ठूलो सफलता र पहिलो संघर्ष थियो,’ उनले उतिबेलाका दिन सम्झँदै भनिन्, ‘एकातिर परिवारको असहयोग, अर्कोतिर तालिममा छनोट भइएन भने गाउँ कसरी जाने भन्ने कुरा धेरै मनमा खेल्थे ।’
मंगलसेनमा एक साताको आधारभूत पत्रकारिता तालिम लिएपछि उनी रेडियोमा काम गर्ने गरी छनोट भइन् । त्यही दिनबाट चुनौतीबीच आफ्नो व्यावसायिक जीवन सुरु भएको हो उनको । रेडियोमा गीतसंगीतबारे कार्यक्रम चलाउने क्रममा देउडाप्रतिको मोह बढेको उनले बताइन् ।
‘अछामी भाषाबाट रेडियोमा देउडा कार्यक्रम चलाउँथे, श्रोतासँग देउडा दोहोरी खेल्दै गर्दा गायनतिरको यात्रा सुरु भयो,’ उनले भनिन् । रेडियोमा काम गर्ने बेला काठमाडौं जान पाएपछि अछामका कलाकारको सहयोगमा गीत रेकर्ड गरेको उनको भनाइ छ ।
अछामको एफएममा दुई वर्ष काम गरेपछि डोटीमा एफएममा काम गर्न थालिन् उनले । त्यति बेलादेखि व्यावसायिक रूपमा गायन क्षेत्रमा लागेको उनले बताइन् । ‘पहिलो गीत गाएपछि अरु अवसर पनि पाएँ । एक साताका लागि बिदा मागेर गीत रेकर्ड गर्न गएकी थिएँ । त्यसपछि गीत गाउनै व्यस्त भए ।’
काँडो बिज्यो कुयाँलीको, घाँस काट्याँ ऐरीको
कैल परछाइ जन पडौ, म छाड्न्या बैरीको
धन भन्नु हातको मैला, ज्यान गए काँ पाउला
एकै रोटो आधा खाउँला, सँगै प्रीति लाउँला
निरुताले गाएका यी टुक्का अहिले पनि धेरैले मन पराएका छन् । माया, प्रेम, सुखदुःखका देउडा गीत बढी रुचाइएको उनले बताइन् । सुदूरपश्चिम समाज दक्षिण कोरियाको निम्तोमा निरुता एक साताअघि देउडा गायन कार्यक्रममा सहभागी भएर भर्खरै स्वदेश फर्किएकी छन् ।
यसअघि नेपालका विभिन्न स्थानमा मात्र होइन, कतार र भारत पुगेर गीत गाइसकेकी छन् उनले । हालसम्म ५ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी निरुता आफूलाई देउडा गायिकाको रूपमा चिनाउन पाउँदा निकै भाग्यमानी ठान्छिन् ।
