काठमाडौँ — सन् १९४७ मा आजकै दिन (अगस्ट १४) मा भारत र पाकिस्तान विभाजन भएका थिए । बेलायतले भारतलाई स्वतन्त्रता प्रदान गरेसँगै उसले शासन गरिरहेको भूभाग भारत र पाकिस्तानमा विभाजित भएका थिए ।
बेलायतले भारतमा शासन गर्न नसक्ने निचोडपछि स्वतन्त्रता दिने घोषणा गरेको थियो । जसका कारण अन्तिम भाइसराय लर्ड माउन्टब्याटनले १९४७ अगस्ट १५ मा भारतबाट बेलायत फर्किने उद्घोष गरे । त्यतिबेला भारतमा अधिकांश हिन्दु थिए । २५ प्रतिशत मुस्लिम थिए भने बाँकी शिख, बौद्धमार्गी र अन्य धार्मिक अल्पसंख्यक थिए ।
बेलायतीहरूले भारतमा शासन गर्ने क्रममा आफ्नो सहजताका लागि धर्मलाई भारतीय जनतामा विभाजन ल्याउने उपायका रूपमा प्रयोग गरेका थिए । जसका कारण भारत स्वतन्त्र भएसँगै मुस्लिमहरू हिन्दु बहुमतद्वारा शासित देशमा बस्नुपर्ने चिन्तामा परे र अलग मुस्लिम देशको अभियान चलाउने नेताको समर्थन गर्न थाले । कंग्रेस नेताहरू महात्मा गान्धी र जवाहरलाल नेहरूले सबै आस्था अटाउने स्वतन्त्र भारत चाहेको बताए पनि अल इन्डिया मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाले स्वतन्त्रताको सहमतिमा विभाजन हुनुपर्ने अडान नछाडेपछि भारत विभाजन भयो ।
दुई देशको सीमा कोरेका बेलायती कर्मचारी सर सिरिल र्याडिफ डक्लिफले हिन्दु बाहुल्य मध्य र दक्षिणी क्षेत्रलाई भारत र मुस्लिम बाहुल्य पश्चिमोत्तर र पूर्वोत्तर क्षेत्रलाई पाकिस्तानमा विभाजन गरेका थिए । तर देशभर नै हिन्दु र मुस्लिाम समुदाय रहेकाले करिब डेढ करोड मानिस विस्थापित भएका थिए । विभाजनका बेला पूर्वी पाकिस्तान रहेको भूभाग भने १९७१ मार्च २६ मा बंगलादेश बनेको हो ।
