सन् १९१४ मा आजकै दिन : पनामा नहर खुला

श्रावण ३०, २०८०

कान्तिपुर संवाददाता

सन् १९१४ मा आजकै दिन (अगस्ट १५) मा पनामा नहर खुला भएको थियो । पनामा गणतन्त्रको साँघुरो घाँटीमार्फत एट्लान्टिक र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहरबाट पहिलोपटक ‘एसएस एन्कन’ पानीजहाजले यात्रा गरेको थियो । ८० किलोमिटर लामो नहर वर्षौं लगाएर निर्माण गरिएको थियो । नहर निर्माणको जिम्मा लिएको फ्रान्सेली कम्पनीले १८८२ को जनवारीमा काम सुरु गरेको थियो । तर सोचेअनुसार कामको प्रगति नभएपछि १९०४ मेमा अमेरिकाले काम थालेको थियो ।

नहर निर्माणका लागि निकै चासो देखाएका अमेरिकी राष्ट्रपति थियोडोर रुजबेल्टले निर्माण कार्यको निरीक्षणका लागि १९०६ को नोभेम्बर ६ मा पनामाको भ्रमण गरेको थिए । उनी अमेरिकाबाहिरको यात्रा गर्ने पहिलो अमेरिकी राष्ट्रपतिसमेत हुन् । नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारको ज्यान गएको थियो ।

तीमध्ये अधिकांशको नहर निर्माणका क्रममा फैलिएको मलेरिया र ज्वरोका कारण मृत्यु भएको थियो । नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तट बीचको दूरी करिब १२ हजार ८ सय ७५ किमि कम भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully