झापा — बुद्धशान्ति–३ बुधबारेकी तारा अधिकारीले २०७० मा उद्योग थाल्दा साथमा पुगनपुग १० हजार रुपैयाँ मात्रै थियो । त्यही रकमको आडमा उनले भाडामा मेसिन ल्याइन् । अनि सुरु गरिन् सिलाइ–बुनाइको काम । तालिमहरू पनि सञ्चालन गर्न थालिन् । ‘पहिला सिलाइ तथा कटिङसँगै गुडिया बनाउँथें,’ अधिकारीले भनिन्, ‘समय बित्दै जाँदा उद्योग पनि बढ्दै गयो, नयाँ सामान पनि बनाउँदै बेच्दै गएँ ।’
त्यतिबेला ‘सुर्के थैली खै भन सुर्के थैली खै...’ बोलको गीत खुब चलेको थियो । त्यो गीतसँगै अधिकारीको व्यापार पनि फस्टायो । उनको उद्योगमा सुर्के थैलीको माग ह्वात्तै बढ्यो । व्यक्तिगत मात्रै हैन, व्यापारिक प्रयोजनका लागि सुर्के थैली खोज्दै उनको उद्योग धाउने बढे । ‘पहिलो सामान्य गुडिया बनाउँदै थिएँ,’ अधिकारीले थपिन्, ‘सुर्के थैलीको मागपछि त उद्योग ह्वात्तै नाफामा आइहाल्यो नि ।’
उनले सँगसँगै विभिन्न प्रकारका झोला बनाउन थालिन् । २०७६ को भदौमा घरेलु तथा साना उद्योग कार्यालय झापाले झोला बनाउने तालिम दियो । तालिमपछि सिताला झोला उद्योगको रूपमा संस्था दर्ता गरेरै उनले उत्पादनलाई तीव्रता दिइन् ।
यतिबेलासम्म उनले स्थानीय रूपमा पहिचान पनि बनाइसकेकी थिइन् । थोरै लगानीबाट थालिएको सीपलाई उनले छोटो अवधिमा उद्योगकै रूप दिइन् । कुनै दिन भाडामा मेसिन ल्याएर काम थालेकी उनीसँग १५ वटा आफ्नै मेसिन थिए । दुई महिलाले प्रत्यक्ष रोजगारी पनि पाएका थिए ।
करिब १० वर्षमा उनको उद्योग झोला उत्पादनका लागि झापामै कहलिएको छ । अहिले १५ जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । खासगरी विपन्न, दलित र परिवारबाट एक्लिएका महिलाहरूलाई अधिकारीले सीपसँगै रोजगारीको मौका दिएकी छन् ।
सीताको सीप केन्द्र अहिले वार्षिक लाखौं रुपैयाँको कारोबार गर्ने उद्योगमा परिणत भएको छ । घरमै उद्योग छ । वर्षमा खर्च कटाएर चोखो १२ लाख जति आम्दानी नै गर्छिन् अधिकारी । ‘प्लास्टिकको बदलामा प्रयोग गरिने झोलाको माग धेरै छ,’ उत्साही उनी थप्छिन्, ‘विद्यालयदेखि विभिन्न संघसंस्था र व्यक्तिले प्रयोग गर्ने झोला अर्डरबमोजिम उत्पादन गरिन्छ ।’
झापाका लागि कच्चा पदार्थ विराटनगर, वीरगन्जबाट ल्याइन्छ । यो कारखानामा सबै किसिमको अर्डरअनुसारको सामान तयार हुन्छ । न्यूनतम सय रुपैयाँदेखि अधिकतम १५ सयसम्मको झोला पाइन्छ । एसएलसीपछि नै सिलाइ कटिङ सिकेकी अधिकारीले करिब ६ वर्ष सहकारीमा जागिर पनि खाइन् ।
तर, उनको मन जागिरमा अडिएन । अनि जागिर छाडेर सीपलाई सदुपयोग गर्नतिर लागिन् । ‘सीप जीवनको एउटा महत्त्वपूर्ण पाटो हो,’ उनी थप्छिन्, ‘यो छ भने कहींकतै गए पनि दुःख पाइँदैन ।’
