काठमाडौँ — शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभइ देशभर 'आदिपुरुष'को प्रदर्शन स्थगन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै देशभर फिल्मको प्रदर्शन स्थगन भएको फिल्मका वितरक मनोज राठीले बताए ।
'बिहानसम्म काठमाडौं र पोखरामा फिल्मको प्रदर्शन रद्द भएको थियो । त्यसपछि धरान, इटहरी, जनकपुर, धनगढी, चितवन हुँदै सबैतिर फिल्मको प्रदर्शन स्थगन हुने क्रम जारी छ । अब देशभर नै फिल्मको प्रदर्शन बन्द भयो,' राठीले भने । राठी 'आदिपुरुष'का नेपाल वितरक श्री व्यंकटेश इन्टरटेन्टमेन्टमा आबद्ध छन् ।
फिल्मको विवादले आफूहरु सय प्रतिशत घाटामा परेको राठीको दाबी छ । 'फिल्मले सुरुदेखि नै त्रास व्यहोर्नु पर्यो । हलवालाले चलाउ/नचलाउको भावमा शुक्रबार फिल्मको प्रदर्शन गरे । अब त हामी पूरै घाटा गयौं,' राठीले भने, 'अब हलवालाले नै फिल्मको प्रदर्शन बन्द गरेपछि हामीले गर्न केही सक्दैनौं ।'
हलहरुको छाता संगठन चलचित्र संघले भने कानुनी बाटो अपनाउने तयारी थालेको छ । 'सेन्सर भइसकेको फिल्मलाई यसरी रोक्ने काम कसको कार्यक्षेत्रमा पर्छ भन्ने कुरा नै बुझिएन । संघीय सरकारले अनुमति दिइसकेको फिल्म अब हामीले प्रदर्शन गर्न पाउँछौं कि पाउँदैनौं ? अब हामी सबैसँग अनुमति लिँदै बस्ने हो कि ? अब छिनोफानो गरिदिनु पर्यो भनेर हामी कानुनी बाटोमा जाने सोच्दैछौं,' संघका उपाध्यक्ष भाष्कर ढुंगानाले बताए ।
