पोखरा — पोखरा महानगरपालिकाले भारतीय फिल्म 'आदिपुरुष'मा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी सिनेमाको सोमबारदेखि प्रदर्शन रोकिएको छ ।
पोखरामा बिन्ध्यावासिनी, श्रीकृष्ण, सिनेप्लेक्स, मिडटाउन ग्यालेरिया, बाराही क र ख गरी ६ वटा फिल्म हल सञ्चालनमा छन् । अर्को एउटा हल पनि सञ्चालनको तयारीमा छ ।
महानगरले असार १ मा लेखेको पत्र आइतबार अपराह्न ती फिल्म हललाई पठाएको थियो । पत्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म महानगरभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ भन्ने उल्लेख छ ।
