सरकारलाई मेयर शाहको पत्र- 'आदिपुरुष' को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शन गर्न नदिउँ

असार १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलचित्र 'आदिपुरुष'मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश मूल भागबाट नहटाएसम्मे नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।

उनले शुक्रबार मन्त्रालयलाई पत्र लेख्दै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न भनेका हुन् । 

नेपाल सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन  मेयर शाहले  ध्यानाकर्षण गराएका छन् ।

शाहले चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।  मेयर शाहले पठाएको पत्रमा  भनिएको छ–‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले कूटनीतिक पहल गरिनुपर्छ ।’ 

आदिपुरुष विवाद

कान्तिपुर

Link copied successfully