सुरक्षाको कारण देखाउँदै उपत्यकामा 'आदिपुरुष'को बिहानी सो रद्द

दिउँसोबाट प्रदर्शनमा आउने

असार १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय फिल्म 'आदिपुरुष'को बिहानीको सो काठमाडौं उपत्यकाका हलमा रद्द गरिएको छ । सुरक्षाको कारण देखाउँदै हलहरुको छाता संगठन 'चलचित्र संघ'ले बिहानीको सो रद्द गरेको जनाएको छ ।

'संघकै छलफल अनुसार बिहानीको सो बन्द गरेका हौं । अब १० बजेबाट फिल्म चल्छ,' वान सिनेमाजका म्यानेजर उमेश गिरीले भने । 

उपत्यकाका केही हलमा भने बिहानीको सो पनि सञ्चालनमा आएको 'आदिपुरुष'को नेपाल वितरक उज्ज्वल पौडेल बताउँछन् । 'केही हलले डरका कारण फिल्म देखाउनु भएन । उपत्यका बाहिरका हलमा फिल्म प्रदर्शनमा आयो । उपत्यका भित्रका केही हलमा भने फिल्म चल्यो । अब दिउँसोबाट सबै चल्छ,' पौडेलले भने ।

यसअघि 'जानकी भारतीय छोरी हुन्' भन्ने संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि 'आदिपुरुष'को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । बिहीबार नै फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाइ फिल्मको जाँचपास अनुमति पत्र लिएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा मात्र नभइ भारतमा समेत उक्त संवाद नसच्च्याए उपत्याकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै फेसबुकमा लेखेपछि 'आदिपुरुष' विवादमा तानिएको थियो ।

आदिपुरुष विवाद

कान्तिपुर

Link copied successfully