गण्डकी — पोखराको व्यस्त पृथ्वीचोकको सडकमा हुइँकिरहेका गाडी । हस्याङफस्याङ गर्दै गन्तव्यतर्फ लागिरहेका पैदलयात्री । अनि साँझपखको पोखरेली हावाको चिसो झोंका । त्यही झोंकामा स्वर मिसाइरहेकी थिइन्, गायिका जुनु रिजाल । रेडियो कान्तिपुरले आयोजना गरेको ‘रेडियो अन ह्विल्स’ कार्यक्रममा जुनु आफ्नो प्रस्तुति राख्दै थिइन् । दर्शकले उनीसँगै स्वर मात्रै मिसाइरहेका थिएनन्, चिच्याउँदै र उफ्रँदै साथ पनि दिइरहेका थिए ।
जुनुले तीनवटा गीत गाइन् । पोखराबारे लेखिएको ट्रेडमार्क गीत ‘फेवा तालमा साइँली’ गाउँदा दर्शकमा छुट्टै उल्लास थियो । त्यसपछि ‘यो हो नि तरिका’, ‘कान्छीको भट्टी’ गाइन् ।
मुख्य सडकमा आयोजित कार्यक्रम भएकाले दर्शकको आउने जाने क्रम पनि उस्तै थियो । गन्तव्यतर्फ छुट्न आतुर यात्रु पनि समय निकालेरै सुनिरहेका थिए । मोटरसाइकल तथा स्कुटरको पछाडि बसेकाहरू पनि हातको इसाराले नाचेका देखिन्थे । पोखराको ऊर्जावान् भीड अघि प्रस्तुति राख्दा जुनु पनि जोसिलो देखिइन् । जुनुपछि स्टेजमा चढे, रवि ओड । नेपाल आइडल सिजन २ का विजेता ओडले पनि ३ वटै गीत सुनाए । ‘राम प्यारी’, ‘चि र मुसी चैर’, ‘छ माया छपक्कै’ गीतमा रविले पृथ्वीचोकको भीडलाई नचाए ।
पोखराका दर्शकको व्यग्र प्रतीक्षामा देखिन्थे गायक कमल खत्री । जबजब कार्यक्रम सञ्चालकद्वय दीपाञ्जली लामा र महेश लिम्बूले कमलको नाम लिन्थे, दर्शकको स्वर चर्को सुनिन्थ्यो । कार्यक्रमको अन्तिममा गीत गाउन स्टेज चढेका कमलले आफ्ना हिट गीत दर्शकलाई पस्किए । ‘आत्मामा’, ‘कोरेर प्रेम पत्र’, ‘जाऊँला रेलैमा’ उनले गाउँदा बस चढ्न आतुर यात्रु पनि मनमनै आफ्ना प्रेमी/प्रेमिकालाई आत्मैले प्रेमपत्र कोरेका हुँदा हुन् ।
रेडियो कान्तिपुरले प्रोमोसनल टुरअन्तर्गत ‘रेडियो अन ह्विल्स’ शृंखला चलाएको हो । पोखरा आउनुअघि टोलीले धरान, दमक, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, चितवन, धनगढी, नेपालगन्ज, सुर्खेत र बुटवलमा कार्यक्रम गरिसकेको छ ।
शृंखलाको अन्तिम कार्यक्रम काठमाडौंमा हुनेछ । कार्यक्रममा सांगीतिक कार्यक्रमसँगै अन्य मनोरन्जनात्मक खेल पनि खेलाइएका थिए । बेलुन फुटाउने, नटको टावर बनाउने, छिटो खाजा सक्ने जस्ता खेल खेलाइएका थिए । यस्तै ४ वटा स्टलमा पनि विभिन्न खेल खेलाउँदै गिफ्ट ह्याम्पर दिइएको थियो ।
