कर्मी चौतारी

रंगमञ्चमा अभिनयको प्रशिक्षण लिएर घर फर्किएकाहरूले दौंतरीलाई जोड्दै बनाए नाट्यकर्मी टोली, अब उनीहरूको साझा सपना छ आफ्नै थिएटर
रमेशकुमार पौडेल

चितवन — चितवनका कलाकर्मीहरू नाटक हुँदै फिल्मसम्म पुगेका छन् । नारायणगढमा नाट्यकर्ममा धेरै अघिदेखि विभिन्न व्यक्तित्व जोडिँदै आएका छन् । पछिल्लो समय युवा समूह ‘कर्मी चौतारी’ नाटकलाई अगाडि बढाउन प्रयासरत छ ।

कर्मी चौतारी

रंगमञ्चमा अभिनय सिकेर आएका युवाले दौंतरीलाई समेट्दै समूह बनाएका छन् । चितवनमा नाटक देखाउन एउटा उपयुक्त ‘नाटक घर (थिएटर)’ बनाउने उनीहरूको सपना छ । यसो भए रंगमञ्चको संगत गर्न अन्य धेरै जना अग्रसर हुने उनीहरूको ठम्याइ छ ।

‘कर्मी चौतारी’ चितवनमा रंगमञ्च र साहित्यमा सक्रिय हुने उद्देश्यले गठन भएको संस्था हो । रंगमञ्चतर्फ व्यस्त छ अञ्जान प्रदीपको टोली । उनको साथमा छन्– नवीनप्रसाद घिमिरे, निसु लुङ्गेली, किरण ढकाल, कृष्ण घिमिरे, सुनील ढुंगाना, आश्मा राई, प्रवेश प्याकुरेल, सन्दीप ढकाल, आरती गौतम, विवेक तिवारी र भीमबहादुर राई ।

यही समूहमा सक्रिय छन्– जया ढकाल, कृष्ण परियार, यमन कार्की, सिर्जना न्यौपाने र अभिषेक ओझा पनि ।

गैंडाकोटमा चित्रकार भीम शर्माको एकल कला प्रदर्शनी चलिरहेको छ । त्यसको उद्घाटनका दिन प्रदीपको टोलीले नाटक प्रस्तुत गर्‍यो । भीमका चित्र ‘स्वप्नवयन’ मा आधारित रहेर उनीहरूले नाटक देखाए । अब वैशाख अन्तिममा नारायणगढ नारायणी कला मन्दिरमा ‘चित्तौन कचहरी’ हुँदै छ । त्यसका लागि कर्मी चौतारीले नाटक प्रस्तुत गर्दै छ । यो बेला टोली त्यसैका लागि व्यस्त छ ।

अञ्जान प्रदीप स्कुल पढ्दा नै नाटकमा खेल्न रुचि राख्दथे । कक्षा १२ पढ्दै गर्दा २०७२ सालमा उनको भेट पुस्तक पसल सञ्चालक मुकुन्द ‘खलपात्र’ सँग भयो । मुकुन्द साहित्य र रंगमञ्चका बारेमा विमर्श गर्दथे । त्यसैले यी दुईको संगत बाक्लियो । सोही वर्ष पुसमा यी दुई जना काठमाडौं गए । उनीहरूले सर्वनाम र थिएटर मलमा गएर नाटक हेरे । नाटकबारे बुझाउन उनीहरूले अग्रजहरूलाई आग्रह गरे । त्यो घुमघामको प्रतिफल राम्रो निस्कियो । सर्वनामले कार्यशालाका लागि श्याम खड्का, सविना गोपाली, अर्जुन न्यौपाने र बिम्ब अधिकारीलाई पठाउने भयो । मुकुन्द र प्रदीप नारायणगढ फर्केर तयारी थाले । तालिममा १५ जना जुटे । त्यसबाट खारिएपछि उनीहरूले नारायणी कला मन्दिरमा श्रीमान् वीरबहादुर, बहुलाकाजीको सपना, चरणदास चोर, पत्थरको कथा, वाल नाटक नयाँ कदममा आफ्नो कला पस्किए ।

प्रदीपले यो बीचमा अर्को अवसर पाए । मण्डला ड्रामा स्कुलमा उनी डेढ वर्ष पढ्न गए । २०७७ साउनमा उनीसहित देशका विभिन्न ठाउँका १६ जना छनोट भएका थिए । भदौबाट अनलाइन क्लास सुरु भयो । दसैंपछि काठमाडौंमै गएर पढे । नाटकका धेरै कुरा, रंगमञ्चका अनेक पाटाका बारेमा जान्ने बुझ्ने ठूलो अवसर थियो भन्छन् उनी । त्यहीं छँदा नै ‘शिरीषको फूल’ लाई नाट्य रूपान्तरण गरेर मञ्चन गरे । मण्डलाको कक्षा पूरा गरेर फर्केपछि नारायणगढमा कार्यशाला राखेर नाटकमा लाग्ने टिम तयार गरे । ‘हामीहरूले सक्दो नाटक मञ्चन गरेकै छौं । दर्शकहरू सन्तुष्ट नै छन् । तर यहाँ नाटक देखाउने सुविधा भएको थिएटर छैन । यो भए निरन्तर नाटक गर्ने, साथीहरूसँग सधैं जोडिइरहने वातावरण बन्थ्यो,’ प्रदीपले भने । थिएटर बनाउन जमिनबाहेक पनि कम्तीमा ३० लाख रुपैयाँ आवश्यक पर्ने उनीहरूले देखेका छन् । कुनै बेला नाटक हेर्न आएका नै ‘कर्मी’ मा जोडिएर कलाकार भएका छन् । नवीनप्रसाद घिमिरे नाटक ‘बहुलाकाजीको सपना हेर्न’ आएका थिए । त्यसपछि उनलाई नाटकमा रस बस्यो । उनी टोलीसँग नजिकिन थाले । अहिले कर्मी चौतारीको सदस्य भएर नाटकमा अभिनय गर्दै छन् । कर्मी चौतारीका नयाँ सदस्य हुन् किरण ढकाल । नाटकले आफ्नो काममा केन्द्रित हुन सहयोग गर्ने हुँदा आफ्नो जीवन नै बदलेको उनले बताए ।

निसु लुङ्गेली थिएटर बने समग्र चितवनमा नाटक मौलाएर जाने बताउँछिन् । यसका लागि कलाकारले मात्रै नभएर साहित्य र कला मन पराउने सबैले सोच्नुपर्ने उनको भनाइ छ । मञ्चमा मात्रै नभएर कर्मी चौतारीले सडक नाटकहरू पनि देखाउने गर्छ । बाल श्रमिकका विषयमा ‘परिणाम’ र कृषिको विषादीका विषयमा ‘आफ्नै समाधान’ नामक सडक नाटक देखाएर सामाजिक सरोकारमा मुद्दा उठाएको प्रदीपले बताए ।

प्रकाशित : वैशाख २५, २०८० ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?