नेपालमा सिल्भर, गोल्डेन टिप्स, ग्रिन टीसँगै अर्थोडक्स र अर्गानिक बन्छ । निडल टी, फेन्सी टी, सिनामोल टी पनि बनाउन सकिन्छ । यो चियाले नेपाली चियाको महत्त्व बढाउँछ । सरकारले अध्ययन गरेर लगानी गर्नुपर्छ
झापा — भद्रपुर, झापाकी उरुषा चापागाईं, सन् २०१३ देखि चिया उद्यममा संलग्न छिन् । चियासँगको उनको साइनो भने निकै पुरानो हो । अगुवा चिया उद्यमी बुबा उदय चापागार्ईंको सम्पूर्ण चिया व्यापार अहिले उनैले सम्हालेकी छन् । ‘चियाबारीमा हुर्किएका कारणले होला चियासँग मेरो सानैदेखि मायापिरती गाँसिएछ,’ उरुषाले चिया लगावबारे सुनाइन्, ‘चिया त मेरो जीवनकै पर्याय जस्तै भइसक्यो ।’ उरुषाको अर्जुनदृष्टि सानैदेखि चिया उद्यममा नै केन्द्रित थियो ।
२०६३ को एसएलसीपछि उरुषाले बुबालाई सघाउन थालिन् । मार्केटिङमा स्नातक गरिसकेकी उनले जीआईजेड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा केही समय इन्टर्नसिप गरिन् । पछि इलामस्थित गोर्खा टी इस्टेटमा काम गर्न थालेपछि भने उनलाई लाग्यो, ‘बेक्कारमा मार्केटिङ पढिएछ । अब चिया कारखाना स्याहारेरै जिन्दगी जाने भो ।’ तर बुबाले उनलाई सन् २०१४ मा नेपाली चिया प्रवर्द्धनका लागि जर्मनी पठाए । उरुषाले जर्मनीका २१ वटा सहरमा नेपाली चियाको प्रवर्द्धन गर्न थालिन् । प्रायः ले दार्जिलिङको चिया खोज्ने त्यहाँ नेपाली चियाको बजार खोज्न थालिन् । ‘दुई सय वर्षभन्दा पुरानो दार्जिलिङ ब्रान्डको चिया खोजी हुनु कुनै अनौठो कुरा थिएन,’ उरुषाले थपिन्, ‘तर, त्यसो भन्दा मन कटक्क खान्थ्यो । हाम्रो चिया दार्जिलिङभन्दा कसरी कम छ र भन्ने लागिरहन्थ्यो ।’
उरुषा चापागाईं
बुबाले गर्दै आएको सिंगो चिया व्यापार यतिबेला उनको काँधमा छ । बैंककबाट एमबीए सकेकी उनी केही समयअघि चिया प्रवर्द्धनकै सिलसिलामा फिनल्यान्ड पनि गइन् । कफी पियक्कड देश भनेर मानिने फिनल्यान्डमा चिया चिनाउनु उनको लक्ष्य थियो । फलस्वरूप उनको चिया यतिबेला फिनल्यान्ड, अमेरिका पनि जान थालेको छ । जर्मनी त मुख्य बजार नै हो । ‘अब चियाको शक्ति केन्द्र चीनमा नेपाली चिया निर्यात गर्ने योजना छ,’ उरुषाले सुनाइन्, ‘चीनमा नेपाली चियाको प्रशस्त सम्भावना छ । चिया चाइना पठाउन पाइयो भने सिंगो मुलुकको अर्थतन्त्रमै टेवा पुग्न सक्छ ।’
चियाको जिल्ला भनेर चिनिने इलामको सूर्योदय नगरपालिका–१४ ठूलोबर्दुमै प्रायः भेटिन्छन् बुद्ध तामाङ । बुबा हर्कराजको बुढ्यौली बढ्दै गएपछि १२ वर्षयता उनी बुबाको उद्यमलाई खर्लप्पै काँध हालेका छन् । छँदाखाँदाको जागिर माया मारेरै उनी बुबाको उद्यम सम्हाल्न इलाम उक्लिएका हुन् ।
२ सय ५० रोपनीभन्दा बढी जग्गामा उनको चिया बगान फैलिएको छ । ‘१८ घण्टा बगानमै खट्छु,’ जोसिला बुद्धले सुनाए, ‘क्वालिटी मेन्टेन गर्न पनि आफैं खट्नुपर्छ ।’ वार्षिक २२ हजार किलो अर्थोडक्स चिया उत्पादन गर्छन् उनी । वार्षिक करोड माथिको व्यापार हुन्छ । उनको बगानमा उत्पादित बर्दु हनिमुन, गोल्डेन टीको नाममा समुद्रपारसम्म चिया निर्यात हुन्छ । विगतमा अमेरिकी पठाउँथे । कोभिडपछि भने तेस्रो देशसँगको व्यापारिक साइनो टुट्यो । तर, पनि पुरानो व्यापारिक सम्बन्ध पुनः जोड्ने तरखरमा छन् बुद्ध । ‘फेरि अमेरिका पठाउने योजना बन्दै छ,’ उनले बगानका चियाका मुना सुमसुमाउँदै थपे, ‘निरन्तर कुरा भइरहेको छ, चाँडै निर्यात हुन्छ होला ।’
000
झापा भद्रपुरकै आदित्य पराजुली पनि दोस्रो पुस्ताका चिया उद्यमी हुन् । करिब ४५ वर्षअघि बुबा चण्डी पराजुलीलगायतले झापामा हल्दीबारी चिया ब्रान्डबाट उत्पादन थालेका थिए । त्यसअघि बुधकरण र गिरीबन्धु चिया बगान सुरु भइसकेको थियो । ‘चियालाई नगदे बालीका रूपमा फार्मिङ गर्नुपर्छ भन्ने पहिलो व्यक्ति चैं मेरै बुबा हो,’ आदित्यले दाबी गरे ।
आदित्यले डाँफे, पराजुली, नेपाः, सुनमाई, ग्रामीण, गोर्खाजस्ता आधा दर्जन बढी चिया कारखानाको जिम्मेवारी सम्हालिरहेका छन् । बुबा चण्डी पनि अझै चिया उद्यममा सक्रिय नै छन् । तर पनि धेरैजसो दायित्व आदित्यकै काँधमा छ । उनका अनुसार सुरुमा पूर्वोत्तर भारतको असमबाट बिरुवा लिएर चिया खेती गरिएको थियो । प्राविधिक पनि भारतबाटै मगाइएको थियो । ‘चियाको बिरुवादेखि जनशक्ति अनि मलखाद सबै भारतबाटै आयात हुन्थ्यो,’ आदित्य थप्छन्, ‘अहिले भने थोरै सहज भएको छ ।’ उनका अनुसार चिया क्षेत्रको विगतको चुनौती घट्दो हैन, बरु बढ्दो क्रममा छ । सबभन्दा ठूलो चुनौती भनेको बजार हो ।
चिया कारखाना खोल्ने तर उत्पादित चिया कहाँ बेच्ने भन्ने चिया उद्यमीलाई डर छ । चियाको सही मूल्य पनि पाउन सकेका छैनन् । ‘अब नयाँ पुस्ताले चियाको नयाँ बजार खोज्नुपर्छ,’ आदित्य भन्छन्, ‘अब पनि स्थायी बजारको खोजी भएन भने नेपाली चिया लोप भएर जाने पक्का छ ।’ चिया क्षेत्र धराशायी भएमा २० लाख मान्छेलाई प्रत्यक्ष असर पर्ने पराजुलीको अनुमान छ । भारतले बारम्बार नेपाली चियामाथि प्रतिबन्ध लगाउने प्रयत्न गर्न किन खोजिरहेको छ ? उनको तर्क छ, ‘किनभने हाम्रो चियासँग भारत डराइरहेको छ ।’
आदित्यसँग नेपाली चियाको प्रवर्द्धनका धेरै योजना छन् । तर, कसलाई कहाँ सुनाउने भन्नेमा उनी अन्योलमा छन् । नेपाली चियालाई राम्रो बनाउन परम्परागत ढाँचालाई छाड्दै जानुपर्ने उनको सुझाव छ । ‘नेपालमा सिल्भर, गोल्डेन टिप्स बन्छ । ग्र्रिन टी बन्छ, अर्थोडक्स, अर्गानिक बन्छ । योभन्दा बढी चिया पनि बनाउन सकिन्छ । त्यसतर्फ सरकारले अध्ययन गरेर लगानी गर्नुपर्छ,’ उनी थप्छन्, ‘निडल टी, फेन्सी टी, सिनामोल टी पनि बनाउन सकिन्छ । यो चियाले नेपाली चियाको महत्त्व बढाउँछ ।’
000
भद्रपुरका दीपेश ढकालका बुबा प्रेमराज ढकालको पनि डाँफे चिया बगान छ । दीपेश अढाई दशकदेखि यसैमा सक्रिय छन् । ‘बुबाको पालादेखि चिया खेतीमा लगाव बढ्न थाल्यो,’ दीपेशले सुनाए, ‘बुबाको शेषपछि सम्पूर्ण बगानको जिम्मेवारी मेरै काँधमा छ ।’ उनी हल्दीबारी, दीपेश चिया वाटिकाजस्ता बगानमा संलग्न छन् । उनका अनुसार विगतमा बगानहरू सीमित थिए । अहिले त झापामा मात्रै दुई दर्जनभन्दा बढी छन् ।
दीपेशले बुबाको निधनपछि मात्र चिया उद्यम सम्हाल्न सुरु गरेका हुन् । उनका दाजु बेलायतमा छन् । उनलाई पनि धेरै पटक विदेश जाने मौका नआएको हैन, तर उनी चिया बगानमा नै रमाए ।
000
अर्का युवा उद्यमी नीरज पराजुलीका अनुसार नेपालमा पहिलो पटक चिया रोपण करिब डेढ सय वर्षअघि इलाममा भएको थियो । तर, यसको व्यावसायिक खेती भने २०३० को दशकपछि मात्रै भएको हो । खासगरी २०२१ को भूमि सुधार ऐनपछि हदबन्दीबाट जमिन जोगाउन मूलतः इलाम र झापामा चिया खेती सुरु भएको हो ।
धान खेती मासेर चिया लगाउन थालियो । अहिले चिया उद्योग घाँडोजस्तो भएको छ । ‘चियामा समस्यै समस्या छ,’ नीरजले भने, ‘यस्तै हो भने नेपाली चिया दीर्घकालीन जान्छ जस्तो लाग्दैन ।’
नेपाली चियाको उत्पादन ज्यादा छ तर खपत कम । त्यही कारण अधिकांश चिया भारत निर्यात गर्नुपर्ने बाध्यता छ । ‘भारतले सधैं हेप्छ । भाउ दिँदैन,’ उनी सुनाउँछन्, ‘भारतको हेपाइ सहेर पनि व्यापार गर्न बाध्य छौं ।’ भारतले ४० प्रतिशत बिक्री कर लगाउने कुरा चर्चामा छ । यदि त्यसो भएमा नेपाली चिया उद्योगलाई ठूलो मर्का पर्नेछ । ‘पश्चिम बंगाल सरकारले नेपाली चियालाई प्रतिबन्ध गर्ने अनेक जुक्ति गरिरहेको छ,’ नीरजले थपे, ‘यो गम्भीर कुरा हो ।’
