चालक बन्ने हुटहुटी

वैशाख २२, २०८०

अनिश तिवारी

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित महिला सञ्जालले महिलालाई आत्मनिर्भर बनाउन फरक तालिम दिएको छ, ‘सवारी चालक तालिम’ । चौतारामा सञ्चालित तालिममा सहभागी भएसँगै सीप सिकेर दक्ष चालक बन्ने र आत्मनिर्भर बन्ने हुटहुटी पलाएको छ । तीनैमध्ये एक हुन्, चौतारा साँगाचोगढी नगर–५ हुद्रुङ गाउँकी २६ वर्षकी सुस्मिता घले । एक महिने तालिम वैशाख १० बाट सुरु भएको हो । तालिम सकिएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने योजना बनाएकी छन् उनले । ‘अब चालक बनेर जिन्दगी धान्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ,’ घलेले भनिन् ।

चालक या सहचालक जेसुकै हुन् जिल्लामा हाल पुरुष मात्रै भेटिन्छन् । यसले समाजमा सवारी चलाउने पुरुषले मात्रै हो भन्ने मान्यता फेरिने विश्वास लिएकी छन् चौतारा साँगाचोकगढी नगरको महिला सञ्जाल सदस्य सुजाता सापकोटाले । सवारी चालक तालिमले किशोरीदेखि महिलामा थप हिम्मत बढाएको उनको बुझाइ छ । ‘यसअघि स्कुटी चलाउन सिके पनि गाडी चलाउने मोह थियो । वडा महिला सञ्जालले गरेको अभियानका कारण यो अवसर पाएँ,’ सापकोटाले भनिन् । उनीजस्तै उत्साहित छन् चौतारा साँगाचोकगढी नगर क्षेत्रका मीना थापा, जानकी श्रेष्ठ र सरिसा घले । 

‘हामीले जीविकोपार्जन गर्ने नयाँ माध्यम पाएको अनुभव गरेका छौं, यो हाम्रा लागि धेरै शुभ कुरा हो, यसले हामीलाई अघि बढ्न हौसला दिनेछ,’ श्रेष्ठले भनिन् । चौतारा साँगाचोकगढी–५ महिला सञ्जालकी अध्यक्ष गंगा घिमिरेका अनुसार २७ जनालाई परम्परागत सीपभन्दा अलिक फरक प्रविधि र विकाससँग जोडेर तालिम दिइएको हो । जसमा अधिकांश महिलाले आफूलाई सशक्त बनाउने काममा सघाएको अनुभव गरेका छन् । ‘चार जना प्रशिक्षकले चारपांग्रे सवारी चलाउन सिकाइरहेका छन् । जसमा २४ देखि ४५ वर्षसम्मका २७ जना छन्,’ घिमिरेले भनिन् । 

महिलालाई चालक पेसाबाट आत्मनिर्भर र हौसला बढाउन यस्ता नयाँ प्रकारका तालिम दिइएको चौतारा साँगाचोकगढी नगरका मेयर कृष्ण सापकोटा देशबन्धुले बताए । ‘हामीले यस्ता प्रभावकारी कामलाई प्राथमिकता दिएका छौं । यसले महिलालाई आत्मनिर्भर र सक्षम बनाउने विश्वास छ,’ उनले भने । तालिमका लागि तीन लाख बजेट छुट्याएको चौतारा साँगाचोकगढी नगरले जनाएको छ । तर उक्त बजेटले नपुगेपछि प्रत्येक सिकारुसँग ६/६ हजार रुपैयाँ लिइएको छ । 

युवा ग्यालरी

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully