आजकै दिन : काउन्सिल अफ युरोपको स्थापना

वैशाख २२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४९ मा आजकै दिन (मे ५) मा काउन्सिल अफ युरोपको स्थापना भएको थियो । दोस्रो युद्धपछि युरोपमा मानवअधिकार, लोकतन्त्र र कानुनी शासन कायम राख्नका लागि उक्त अन्तर्राष्ट्रिय संस्थाको स्थापना गरिएको थियो । स्थापनका समयमा करिब ७० करोड जनसंख्या रहेका ४६ देशहरू संस्थाका सदस्य थिए ।

काउन्सिल अफ युरोपले आफ्नो छुट्टै कानुन निर्माण गर्न नसक्ने भए पनि सदस्य राष्ट्रहरूले विभिन्न विषयमा गरेका अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गराउने सक्ने हैसियत छ । काउन्सिल अफ युरोपको मुख्य निकाय भने ‘युरोपियन कोर्ट अफ ह्युमन राइट्स’ हो । यसले मानवअधिकारसम्बन्धी युरोपेली अभिसन्धिका आधारमा कार्य गर्नेगर्छ । 

त्यस्तै, सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सम्मिलित कमिटी अफ मिनिस्टर्स र सदस्य देशका संसद्का सदस्यहरू रहेको संसदीय सभा यसका प्रमुख अंग हुन् । यी अंगले सदस्य राष्ट्रहरूमा मानवअधिकारका विषयमा जनचेतना जगाउने र मानवअधिकारको सम्मान तथा प्रवर्द्धनका कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् । काउन्सिल अफ युरोप र मानवअधिकार अदालतको मुख्यालय फ्रान्सको स्ट्रासबर्गमा छन् । काउन्सिल अफ युरोपको वेबसाइटका अनुसार यसअन्तर्गत २ हजार २ सय जना कार्यरत छन् । यसका अंग्रेजी र फ्रेन्च गरी दुई आधिकारिक भाषा छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully