फरक धारको ‘ज्याकी : आई एम ट्वान्टी वान’

वैशाख २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ को काठमाडौंको आई प्लेक्स मलस्थित वान सिनेमाज्मा प्रिमियरको शो गरिएको छ । शोमा उपस्थित फिल्मीकर्मी र पत्रकारले फरक धारमा निर्माण गरिएको भन्दै फिल्मको प्रशंसा गरेका छन् ।

नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथाभन्दा अलग फिल्म बनेको निर्देशक प्रदीप भट्टराईले प्रतिक्रिया दिए । ‘नेपाली फिल्ममा जे बिक्छ त्यही बनाउने चलन छ । तर, रेनाशा वान्तवा राईले यो ट्रेन्डलाई भत्काइदिनुभएको छ । अब, फिल्म मेकरका लागि पनि नयाँ बाटो यो फिल्मले खोलिदिएको छ ।’

फिल्म हेरेर आफूलाई निकै आनन्द आएको नायिका प्रियंका कार्कीले बताइन् । नेपाली फिल्म क्षेत्रको पहिलो ‘डान्स ड्रामा’ फिल्मले नयाँ सोच बोकेको अर्की नायिका शिल्पा मास्केको भनाइ छ । फिल्ममा कलाकारको मिहिनेत देखिएको यी दुई नायिकाको भनाइ छ । नायिका अना शर्माले फिल्म हेरेर आफूले पूर्ण रूपमा मनोरञ्जन लिएको बताइन् । नेपालमा पनि यस्तो उत्कृष्ट काम गर्ने डान्सर रहेको भन्दै उनले खुसी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक बनेको र सन्देश पनि दिने खालको रहेको बताए । नेपालमा यो स्तरको फिल्म बन्नु आफैंमा सुखद भएको उनको भनाइ छ । नायिका केकी अधिकारी र रिमा विश्वकर्माले पनि फिल्मको तारिफ गरे । नेपालमा यस्तो कथामा फिल्म बनाउनु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै उनीहरूले निर्देशकको काम, कलाकारको काम र प्राविधिकहरूले मिहिनेत गरेको देखिएको बताए । 

रेनाशा वान्तवा राईको निर्देशनमा धीरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको फिल्मले एक युवाको डान्सर बन्ने सपनाको कथा भन्छ । फिल्म वैशाख २१ गते बिहीबारदेखि सार्वजनिक रूपमा प्रदर्शन हुँदै छ । प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको निर्देशक रेनाशाले बताइन् । प्रिमियरमा फिल्म हेर्ने अधिकांशको प्रतिक्रियाले खुसी लागेको नायिका जसिता गुरुङको भनाइ छ । नायक धीरज मगरले फिल्मका लागि ३ वर्ष मिहिनेत गरेको र त्यसको सुखद प्रतिक्रिया मिलेको बताए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully