आजकै दिन : महात्मा गान्धी पक्राउ

वैशाख २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९३० मा आजकै दिन (मे ४) मा भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा, राजनीतिक तथा आध्यात्मिक नेता महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) लाई पक्राउ गरिएको थियो । 

१९३० को मार्च ५ मा नुनसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा ब्रिटिस शासकले गान्धीलाई गुजरातस्थित करादी गाउँबाट पक्राउ गरेको थियो । तर कुनै मुद्दा दायर नगरीकनै जेलमा राखिएका गान्धीलाई १९३१ को जनवरी २६ मा रिहा गरिएको थियो । 

स्वतन्त्रता आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउ परेका थिए । भारतमा ब्रिटिस शासनविरुद्ध अहिंसात्मक आन्दोलनको अगुवाइ गरेका गान्धीले दक्षिण अफ्रिकाको नागरिक आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । भारतमा उनलाई राष्ट्रपिताका नाममा सम्मान गरिन्छ ।

गान्धी १८६९ को अक्टोबर २ मा भारतको पोरबन्दरमा जन्मिएका थिए । कानुन अध्ययन गरेका गान्धीले ब्रिटिस संस्थाहरू बहिष्कारका लागि संगठित अभियान चलाएका थिए । त्यसका साथै उनले शान्तिपूर्ण नागरिक अवज्ञाको नेतृत्व लिएका थिए । १९४८ को जनवरी ३० मा गान्धीको हत्या भएको गरिएको थियो । राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा नाथुराम विनायक गोडसेले गोली हानेका थिए । ३८ वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी संगठन हिन्दु महासभाका सदस्य थिए । गान्धीले मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दुहरूलाई विश्वासघात गरेको उक्त संगठनको आरोप थियो । भारत–पाकिस्तान विभाजनका क्रममा मच्चिएको रक्तपातका लागि गान्धी दोषी भएको संगठनको आरोप थियो । सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएसँगै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए ।

गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई भारतीय अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजाय उच्च अदालतले सदर गरिदिएपछि गोडसेलाई सन् १९४९ को नोभेम्बरमा मृत्युदण्ड दिइएको थियो । गोडसेसँगै उनका साथी नारायण आप्टेलाई पनि मृत्युदण्ड दिइएको थियो । घटनामा संलग्न अन्य ६ जनालाई भने जन्मकैदको सजाय दिइएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully