पात्रमार्फत चिनिएका विपिन

रासस

काठमाडौँ — नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् ।

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’ मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका हुन् । त्यसैले अन्य अभिनेताभन्दा चरित्र निर्माणमा गम्भीर फरक देखिन्छन् ।

‘जात्रा’ शृंखलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्विकारेका थिए । चरित्र निर्माण गरेता पनि निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन् । ‘दर्शकले विश्वास गर्नुहुन्न कि ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले अर्कै भूमिका निर्वाह गरेको थिए,’ अभिनेता कार्कीले भने । यद्यपि उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे ।

अवकाश प्राप्त शिक्षकको भूमिकासँगै अभिनेता कार्की उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको रूपमा प्रस्तुत भए । चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपछि स्वाभाविक देखियो । ‘चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्विकार्ने गर्छु,’ अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि बिस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’

उनले प्रदर्शनका क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’ कै दोस्रो शृंखला भए पनि यसको कथावस्तु फरक रहेको निर्माण पक्षले जानकारी दिएको छ । रंग पत्रकार सुशील पौडेलद्वारा लिखित ‘प्रसाद २’ मा जातीय विभेद र वर्गीय संघर्षको कथा छ । सुदर्शन थापाले निर्देशन गरेका चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल र बालकलाकार उपेश ढकालको अभिनय छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

हिमालयन शेर्पा अन्तिम चारमा

लक्ष्मी साह

बारा — सिमरामा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकप फुटबलमा सोमबार ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई २–१ ले हराएर हिमालयन शेर्पा सेमिफइनलमा पुगेको छ ।

पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा सातदोबाटो पहिलो सहभागितामै निरास बन्न पुग्यो । ३५ औं मिनटमा सातदोबाटोका कप्तान सुदीप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । हिमालयन शेर्पाका डिफेन्डर म्यानुअल नानाको गल्तीको फाइदा उठाउँदै सातदोबाटोका कप्तान सुदीपले बललाई सहजै पोस्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदीपले लिएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस सातदोबाटोका डिफेन्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडरमार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई बक्सभित्र सटिक पास उपलब्ध गराए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केही सेकेन्ड बााकी छँदा टिमलाई खेलमा फर्काए ।

दोस्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाइनलमा मकवानपुर ११ सँगको भेट पक्का गरे । हिमालयन शेर्पाका मिडफिल्डर सत्यम् शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा बक्सभित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटोका गोलरक्षक निशान्त थापामगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल पुग्नका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १२ औं मिनटमा सातदोबाटोका सुशील लामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले बक्सभित्र दिएको सटिक पासमा उनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

२२ औं मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनटमा सातदोबाटोका नीरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले बक्सभित्र दिएको पासमा नीरजको प्रहारले गोल पोस्टको दिशा लिन सकेन ।

खेलको ७४ औं मिनटमा सातदोबाटोका नीरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईन बाट बल अघि बढाएका नीरजले खाली पोस्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेन्डरले बल क्लिएर गर्दै संकट टारे ।

खेलको पााचौ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारबाट बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।

खेलको आठौं मिनटमा निशान लिम्बुको प्रहार गोलपोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए ।

खेलको ३१ औं मिनटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलरक्षकले बचाउ गरे ।

खेलको ५५ औं मिनटमा हिमालयन शेर्पाका सुशील राईको शसक्त प्रहार सातदोबाटोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोलरक्षक निशान थापामगरले पन्च गरेर जोगाए ।

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपीएफ क्लबकोसित प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×