सञ्जय ‘हेराफेरी-३’ मा


मुम्बई — बलिउड अभिनेता सञ्जय दत्तले ‘हेराफेरी’ को तेस्रो सिक्वेलमा अभिनय गर्ने भएका छन् । सञ्जय आफैंले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै ‘हेराफेरी–३’ मा अभियन गर्ने बताएका हुन् । ‘अक्षयकुमार, सुनील सेट्टी र परेश रावलसँगै अभिनय गर्न पाउनु ठूलो कुरा हो,’ सञ्जयको भनाइ उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

फरहाद समजीको निर्देशनमा बन्ने फिल्ममा अक्षयकुमार, सुनील सेट्टी र परेश रावलको प्रमुख भूमिका हुनेछ । तेस्रो सिक्वेलमा भने सञ्जयसँगै कार्तिक आर्यन पनि थपिएका हुन् । ‘हो, मैले यो फिल्म गर्दै छु । हेराफेरी–३ को टिमसँग काम गर्न पाउँदा निकै उत्साहित भएको छु,’ सञ्जयले भनेका छन्, ‘यो ठूलो फेन्चाइज हो र म यसको एक हिस्सा बन्न पाएकामा खुसी छ ।’ फिल्ममा सञ्जयले रवि किसनको दाजुको भूमिका निर्वाह गर्न लागेका जनाइएको छ ।
सञ्जयले फिल्मका निर्माता फिरोज नाडियावाला आफ्नो पुरानो र निकट साथी भएको जनाउँदै अक्षय, सुनील र परेशसँग काम गर्ने वातावरण मिलाएको भन्दै धन्यवाद पनि दिएका छन् । हेराफेरी (पहिलो) प्रियदर्शनले र फिर हेराफेरी (दोस्रो) निरज बोराले निर्देशन गरेका थिए । हेराफेरी सन् २००० मा र फिर हेराफेरी २००६ मा रिलिज भएका थिए ।
प्रकाशित : फाल्गुन २४, २०७९ ०७:५६