काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)का कारण जारी लकडाउनले विश्वभरका उद्योगहरुमा असर पारेको छ । फिल्म उद्योग पनि यसको मारमा परेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सुरुमै सिनेमा घर बन्द भए ।
फिल्मको छायाँकन र पोस्ट प्रोडक्सन रोकियो । बलिउड यो नोक्सानबाट अछुतो रहने कुरै भएन । बलिउड पण्डितहरुले विभिन्न कारणले उद्योगको अवस्था फेरि उस्तै नरहने विश्लेषण गरेका छन् ।
बक्स अफिसमा रस्साकस्सी
सन् २०१९ लाई फर्केर हेर्दा, धेरै फिल्म एकसाथ प्रदर्शनमा आउँदा एकअर्कासँग भिड्नु परेको थियो । यो लकडाउनले फेरि त्यही दृश्य फर्काउने डर भारतका फिल्मकर्मीमा छ । अवस्था सामान्य भएपछि फिल्म हलहरु खुल्नेछन् । प्रदर्शनको पर्खाइमा धेरै फिल्म छन् । त्यतिबेला फिल्म प्रदर्शनका लागि होडबाजी हुने अनुमान छ ।
बक्स अफिस विश्लेषक तरन आदर्शले भनेका छन्, ‘भविष्यमा अराजक दृश्य देखिँदैछ । हिन्दीमात्र होइन, हलिउड, तामिल, तेलेगु, पञ्जाबीलगायत फिल्म एकसाथ प्रदर्शनमा आउनेछन् । सायद ठूला फिल्मका निर्माताहरु प्रदर्शन मितिबारे छलफल गरेर अगाडि बढ्लान् ।’
फिल्म वितरक एवं प्ररदर्शक मनोज देसाई यसरी फिल्मको भिडन्त नगराउन सल्लाह दिन्छन् । ‘यदि निर्माता र निर्देशकको दिमाग छ भने उनीहरु एकसाथ आउनु हुन्न । प्रदर्शन मिति बाँडफाँड गर्नुपर्छ,’ उनले भनेका छन् ।
फिल्म वितरक अक्षय राठी फिल्मसम्बन्धी सबै संघसंस्थाले प्रदर्शनमा भिडन्त नगराउन अभ्यास गर्नुपर्ने बताउँछन् ।
‘फिल्मको प्रदर्शन जुधाउने मुर्खता गर्नु हुँदैन । हलमा निश्चित समयसम्म फिल्म प्रदर्शन जारी राख्नुपर्छ । करिब २ हप्ताको फरकमा फिल्म प्रदर्शनमा ल्याउनुपर्छ । त्यसबीच साना फिल्म प्रदर्शनमा ल्याउँदा पनि फरक पर्देन,’ राठीले भने ।
हुन त लकडाउनअघि नै अभिनेता सलमान खान अभिनित ‘राधे ः योर मोस्ट वान्टेड भाइ’ र अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम्ब’ ईदमा एकसाथ प्रदर्शनमा आउने तयारी थियो । यसरी फिल्महरु एउटै मितीमा प्रदर्शनमा आउँदा साना फिल्मको हालत नाजुक हुने निर्माता आनन्द पण्डित बताउँछन् ।
‘मलाई त साना प्रोजेक्टको चिन्ता छ । यो उद्योगमा बजेटभन्दा बढी कमाउँदा सफल मानिन्छ । तर, कतिले ऋण लिएर वा सम्पत्ति बेचेर पनि त फिल्म बनाएको हुन्छ,’ पण्डितले अगाडि थपे, ‘वर्षभरी बिना पैसा काम गर्नेहरु पनि होलान् । उनीहरु फिल्म प्रदर्शनकै प्रतिक्षामा होलान् । उनीहरुको लागि समय कठिन बनिदिन्छ ।’
साना फिल्मको उद्दार गर्न ओटीटी
साना फिल्मले थिएटरभन्दा पनि ओटीटी (ओभर दी टप) प्लेटफर्ममा फिल्म प्रदर्शन गर्नुपर्ने तरन बताउँछन् । ओटीटी अनलाइन प्लेटफर्म हो, जसमा फिल्म हेर्न सकिन्छ । नेटफ्लिक्स, हुलु, आइट्युन यसका उदाहरण हुन् ।
‘फिल्महरु सिधै ओटीटीमा प्रदर्शनमा ल्याउन सकिन्छ । यदि तपाईँले आफ्नो फिल्म सिधै इन्टरनेटमा राख्नुहुन्छ भने हलबाट कमाई नहोला तर साना फिल्म हलमा कतिञ्जेल टिक्न सक्छन् र ?’ तरनले भने ।
१० करोडभन्दा थोरै बजेटमा फिल्म बनाउनेले अनलाइन प्लेटफर्मको विकल्प रोज्नुपर्ने वितरक गिरिश जोहर बताउँछन् । अर्का विश्लेषक अमोद मेहरा भने यो कुरामा सहमत देखिएनन् । ‘साना प्रोजेक्ट बनाउनेहरुले ओटीटीलाई फिल्म दिन राजी होलान् । तर, प्रश्न यो छ कि के ओटीटी प्लेटफर्म यी फिल्म किन्न इच्छुक छन् ? कन्टेन्ट राम्रो भएको फिल्म उनीहरुले रोज्ने हो,’ उनले भने, ‘यस्ता प्लेटफर्म सिरिजतिर बढी ध्यान दिन्छन्, फिल्ममा होइन । ठूला स्टारका फिल्म मात्र त्यस्तोमा स्थान पाइरहेको हुन्छ ।’
अहिले भारतीय फिल्मकर्मीले मल्टिप्लेक्ससँग फिल्म प्रदर्शनको आठौं हप्तामा ओटीटीमा प्रदर्शन गर्ने सम्झौता गरेका हुन्छन् ।
सामाजिक दुरीको प्रभाव
कोरोनाले मानिसहरुलाई सामाजिक दुरी कायम गर्ने बानी बसालिदिएको छ । यसको प्रभाव फिल्म क्षेत्रमा देखिने तरन तर्क गर्छन् । ‘एकअर्काबाट टाँढिएर बस्ने कुरा लामो समयसम्म अभ्यास हुनेछ । सुटिङ सेटले पनि सुरक्षामा धेरै ध्यान दिनुपर्छ । यसले किसिङ दृश्यलगायत धेरै अन्तरंग दृश्यमा कमी ल्याउने देखिन्छ’, तरणले भने ।
तरणको कुरामा हाँस्दै गिरिशले भनिहाले, ‘मलाई लाग्दैन यस्तो हुन्छ । बरु अमिताभले लकडाउनमा निकालेको लघु फिल्मजस्तो होला ।’
(बलिउड हगंमाबाट)
