परदेशको तीज
Highlights
- अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै तीज कार्यक्रम पनि टोलटोलमा हुन थालेका छन् । केही सातायता त नेपालबाट आउने कलाकारको संख्या पनि निकै छ । त्यस्ता कार्यक्रममा सारीचोलोमा सजिएर नेपालीमात्र होइनन्, विदेशी महिलासमेत तीजका गीतमा छमछमी नाच्दै गरेका देखिन्छन् ।
अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाकी रिज्नु अधिकारीलाई केही दिनयता भ्याइनभ्याई छ । कारण, एडिलेड वरपर हुने सबैजसो तीज कार्यक्रमको उनले निम्तो पाउँछिन् । अनि, सम्भव भएसम्म सबैमा पुग्छिन् पनि । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाकी महिला संयोजकसमेत भएकाले पनि होला उनको ‘तीजे व्यस्तता’ बढेको ।
अधिकारी आफूमात्रै तीज कार्यक्रममा गएर रमाइलो गर्दिनन् । भर्खरै नेपालबाट आएका विद्यार्थी र अभिभावकका साथै अन्य राज्यबाट आएका नेपालीलाई प्रोत्साहन र प्रेरित गरिरहेकी हुन्छिन् उनले । नाच्न र नचाउन अघि सर्ने त पुरानै बानी भन्दा पनि हुन्छ ।
अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै तीज मनाउनका लागि रिज्नुजस्तै व्यस्तता प्रायः सबै महिलाहरूको दैनिकी बनेको छ अहिले । झन् त्यसमा पनि सातैपिच्छे नेपालबाट कलाकार नै आएर कार्यक्रम आयोजना गरिएपछि नाचगान गर्न कसलाई मन लाग्दैन र ? त्यसमा पनि महिलाहरूको आफ्नै पर्व । रातो सारीचोलोमा सजिएर तीजका गीतमा छमछमी नाच्नेमा युवा उमेरका महिला मात्र नभएर यहीं जन्मिएका दोस्रो पुस्ता र नेपालबाट आएका आमाहरूसमेत उत्तिकै संख्यामा भेटिन्छन् । पछिल्लो समयमा त नेपाली मात्र नभएर विदेशी महिलाले समेत तीजमा रमाइलो गर्ने गरेका छन् । झन्डै डेढ लाखको हाराहारीमा रहेको नेपाली समुदायका कारण पनि तीजका बेलाको रमझम निकै बढ्दै गएको छ ।
अस्ट्रेलियाका हरेक राज्य तथा सहरमा आयोजना हुने औपचारिक कार्यक्रममा मात्र सीमित छैन तीज । अहिले त आफन्तका तथा साथीहरू मिलेर स्थानीय पार्क, घरमा समेत उत्तिकै रमाइलो गरिरहेका भेटिन्छन् महिलाहरू । कम्तीमा पाँच दिनसम्म काम गर्नुपर्ने, त्यसपछि घरपरिवारको हेरचाहबाट थकित भएका महिलालाई तीज राम्रो बहाना पनि बनेको छ । अझ, साथीभाइ भेट्ने, दुःखसुखका कुरा र रमाइलो गर्ने त छँदै छ । त्यसैले पनि होला आजकल नेपालमा भन्दा अस्ट्रेलियामा तीज धेरै पहिल्यै लागिसकेको हुन्छ । अस्ट्रेलियाका सबै मुख्य सहरमा झन्डै तीन साताअघिदेखि नै तीज सुरु भइसकेको छ । अझ नेपालबाट आउने कलाकारको ताँती नै लागेपछि त तीजको रौनक झन् थपिएको छ ।
‘तीज रमाइलो गर्ने, मिठोमिठो खाने, नाचगान गर्ने मात्र नभएर हाम्रो कलासंस्कृति र परम्परा भएकाले समेत हामी दिल खोलेर मनाउँछौं,’ अधिकारी भन्छिन् । उनका अनुसार पछिल्लो समयमा महिलाको संख्या बढ्दै गएको र आफ्नो मौलिक परम्पराप्रति अझ जागरुकता आएकाले समेत तीजको रौनकता थपिएको हो ।
अधिकारी मात्र नभएर परिवार भेट्न नेपालको विराटनगरबाट आएकी मनसरा कार्कीसमेत अस्ट्रेलियाको तीजको अलग रौनक भएको अनुभव सुनाउँछिन् । उनी आजकल विदेशमा पनि तीज नेपाली परम्परा र मौलिकताअनुसार मनाउन थालिएको बताउँछिन् । ‘मलाई त नेपालको भन्दा अस्ट्रेलियाको तीज बडो राम्रो लाग्यो,’ उनले भनिन् । कार्कीले नेपालमा तीजको अवसरमा हरेक महिलाले रातो सारी, चुरा पोते, गरगहना लगाएर हिँड्ने क्रममा कमी आए पनि अस्ट्रेलियामा बढिरहेकोमा खुसी छन् ।
वास्तवमा अस्ट्रेलियामा तीज मनाउने क्रममा सकारात्मक परिवर्तन आइरहेको महिलाहरू नै स्विकार्छन् । अहिले मौलिक रूपमा आफ्नो परम्परागत सारीचोलो, चुरापोतेमा सजिएका महिला हरेक कार्यक्रममा भेटिन्छन् । त्यतिमात्र नभएर यहाँ हुर्किंदै गरेका दोस्रो पुस्ताका किशोरी तथा युवतीमा समेत नेपाली कलासंस्कृति र चाडपर्वप्रति चाह र चासो बढिरहेको अभिभावकहरू स्विकार्छन् ।
नारी निकुञ्ज अस्ट्रेलियाकी पूर्वकेन्द्रीय अध्यक्ष मञ्जु खड्का दोस्रो पुस्ताले समेत आफ्नो चाडपर्वलाई उत्साहका साथ मनाउनु सकारात्मक मात्र नभई खुसीको कुरा भएको बताउँछिन् । विदेशमा समेत आफ्नो मौलिक कलासंस्कृति र चाडपर्वलाई जीवित राख्नका लागि उनीहरू नै जिम्मेवार हुने बताउँदै पछिल्लो समयमा दोस्रो पुस्तासमेत तीजजस्ता पर्व मनाउनका लागि उत्साहित पाएको उनको अनुभव छ ।
दसैंतिहार, नयाँ वर्षलगायतका अवसरमा त नेपाली कलाकारको लर्को लाग्ने गरेको अस्ट्रेलियामा झन् तीजमा कलाकार नआउने त कुरै भएन । अहिलेसम्म झन्डै एक दर्जन टोलीले अस्ट्रेलियामा कार्यक्रम गर्न भ्याएको छ । तीमध्ये कतिपय त अझै अस्ट्रेलियामा कार्यक्रम गरिरहेका छन् । केही भने कार्यक्रम सकेर फर्किसकेका छन् ।
आम्दानी पनि मनग्गे हुने र दर्शकलाई पनि फरक किसिमको मनोरन्जन हुने भएकाले कलाकारलाई यस्ता किसिमका चाडपर्व वा अवसरमा बोलाउने गरेको आयोजकहरू सुनाउँछन् । गिरीश इभेन्टका प्रमुख गगन गिरीका अनुसार नेपालबाट कलाकार बोलाएर कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य आर्थिक फाइदाभन्दा पनि यहाँका नेपालीलाई मनोरन्जन दिलाउनु हो । तीज, दसैंतिहार जस्ता नेपाली परम्परागत चाडपर्वमा कलाकार ल्याएर कार्यक्रम गर्दा यसले विदेशमा समेत नेपाली कलासंस्कृति तथा परम्पराको जर्गेनामा मद्दत पुग्ने उनी बताउँछन् ।
हुन त तीजका यस्ता कार्यक्रममा दर्शकका लागि निश्चित शुल्क लिने गरेका छन् आयोजकले । तर केही आयोजकले भने कार्यक्रमलाई निःशुल्कसमेत गर्ने गरेका छन् । लगातार पाँच वर्षसम्म नेपालबाट कलाकार ल्याएर कार्यक्रम गरिसकेका गिरी अन्य समयमा पैसा लिने गरिए पनि तीजमा भने महिलाका लागि निःशुल्क कार्यक्रम गरेको दाबी गर्छन् । ‘अन्य समयमा हामीले कार्यक्रममा सहभागी भएबापत रकम लिए पनि तीजमा अहिलेसम्म हाम्रा चेलीबेटीसँग पैसा लिएका छैनौं र लिन्नौं पनि ।’ तीज पर्व विशेष गरेर चेलिबेटीको कार्यक्रम भएकाले सम्मानस्वरूप उनीहरूलाई निःशुल्क प्रवेश दिनुपर्ने उनको भनाइ छ ।
तीजका कार्यक्रममा सहभागी हुन आएका गौरी मल्ल, कोमल वलीमात्र नभएर शान्ति श्री, एलिना चौहान, कला लम्साल, पशुपति शर्मालगायतका कलाकारले समेत अस्ट्रेलिया आएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनीहरूमध्ये कतिले यहाँका प्रायः सबै सहरमा कार्यक्रम गरेका छन् भने केहीले सीमित स्थानमा । तर जहाँ कार्यक्रम गरे पनि सहभागीको संख्या भने निकै हुने गरेको छ ।
आफ्ना दाजुभाइ र परिवार नेपालमा भएकाले समेत अस्ट्रेलियामा रहेका महिलालाई तीजको विशेष महत्त्व हुने गरेको छ । त्यसैले उनीहरू आफूआफू मिलेर दर बनाएर खाने मात्र नभई सामूहिक रूपमा मनोरन्जन गर्ने गरेका छन् । केहीले तीजकै मौका पारेर आफ्ना अभिभावकलाई अस्ट्रेलिया नै बोलाउने गरेका पनि छन् । तर आफ्नो माइतीघरमै पुगेर मनाएको तीजको सम्झना नगर्ने भने कोही छैनन् । माइतीघरमा आफ्ना दाजुभाइ तथा बच्चैदेखिका हितैषी साथीहरूसँग मनाएको जस्तो तीज परदेशमा कहाँ हुन्छ र ?
प्रकाशित : भाद्र ३१, २०८० ११:२३