कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खाको मृत्यु

नवीन पोखरेल

लन्डन — कोभिड–१९ को संक्रमणबाट लन्डनमा एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । संखुवासभा, खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो । संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत कोभिड–१९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ ।

अस्पतालले परिवारका सबै सदस्यलाई १४ दिनसम्म आइसोलेसनमा बस्न पनि भनेको छ । यसबारे लिखित रिपोर्ट भने अस्पतालले सोमबार मात्र दिने भएको छ ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले राईको निधन कोभिड–१९ बाट भएको परिवारले जानकारी दिएको बताए ।

संखुवासभा समाज बेलायतका सल्लाहकार एवं छिमेकी टीका लोहरूङका अनुसार राई निमोनियाबाट ग्रस्त भएपछि केही दिनअघि नर्थविक पार्क अस्पताल भर्ना भएका थिए । डिस्चार्ज भएर फर्किएका उनमा मंगलबार दिउँसो ४ बजे अचानक समस्या देखिएको थियो । त्यसपछि फेरि अस्पताल लगिएकामा साँझ ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राई कोलेस्टेरोल, घुँडा सुन्निनेलगायत समस्याबाट पनि पीडित थिए । उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी पछिल्लो समय रुघाखोकीबाट ग्रस्त थिए ।



प्रकाशित : चैत्र ९, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?