कम्पनीले हालसम्म ३ सय ६० अर्ब रुपैयाँभन्दा बढी कर सरकारलाई बुझाइसकेको जनाएको छ । कम्पनीलाई सरकारले सबैभन्दा ठूलो करदाताका रूपमा पटक-पटक सम्मान गरेको छ ।
काठमाडौँ — देश सामान्य अवस्थामा हुन्थ्यो भने आज प्रयोगकर्ताका हिसाबले नेपालको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक, एनसेल आफ्नो २० औँ वार्षिकोत्सव भव्य तरिकाले मनाइरहेको हुन्थ्यो । यस उपलक्ष्यमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) र ग्राहक लक्षित विभिन्न कार्यक्रम र प्याकेज घोषणा गर्ने तय भएका भए ।
तर, भदौ २४ को प्रदशर्नका क्रममा भएको तोडफोड र आगजनीले कम्पनीको मुख्यालयसहित विभिन्न क्षेत्रीय कार्यालय तहसनहस बनेपछि कम्पनी अब सामान्य अवस्थामा फर्किन कसरत गर्दै छ । उत्सवका लागि सिँगारिन लागेको ‘एनसेल आइकन’ आगो र धुवाँको मुस्लोमा परिणत भएको छ । यो विनाशकारी घटनासँगै कम्पनीका वार्षिकोत्सवलक्षित सामाजिक तथा ग्राहक लक्षित घोषणाहरू अहिलेलाई रोकिएका छन् ।
आफ्नो इतिहासकै सबैभन्दा ठूलो भौतिक र भावनात्मक क्षति बेहोरिरहँदा एनसेलले भने उपभोक्ताहरूलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि भन्दै तीन दिनसम्म निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको थियो । यो भनेको ३० करोड रुपैयाँबराबरको सेवा निशुल्क सेवा वितरण गरिएको हो । एनसेलको घोषणापछि सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि नि:शुल्क सेवा उपलब्ध गराउँदै संकटका बेला आफ्ना ग्राहकलाई अटूट सञ्चारमा सहजीकरण गरेको थियो । आफ्नो कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै एनसेलले हाल जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दिएको छ ।
सन् २००५ सेप्टेम्बर १७ मा 'मेरो मोबाइल' नामबाट नेपालमा सेवा सुरु गरेको एनसेलले आफ्नो दुई दशक लामो यात्रामा धेरै बाधा-अवरोधहरू सामना गरे पनि यसपटकको आक्रमणले कम्पनीको भौतिक संरचनामा गहिरो क्षति पुर्याएको छ । एनसेल नेपालमा पहिलोपटक निजी क्षेत्रको जीएसएम मोबाइल सेवा शुरु गर्ने कम्पनी हो । दूरसञ्चार सेवा उपलब्ध गराउन भन्दै विभिन्न समयमा निजी लगानीका विभिन्न कम्पनीहरू नेपालमा सञ्चालनमा आए पनि ती टिक्न सकेनन् । आधा दर्जन यस्ता कम्पनी असफल बनिरहँदा एनसेल भने नेपालमा निरन्तर सेवा दिँदै आएको छ ।
विध्वंसको परिणाम
एनसेल स्रोतका अनुसार, भदौ २४ गते आन्दोलन चर्किनासाथ मुख्यालयका कर्मचारीहरूलाई हतार-हतार घर पठाइएको थियो । दिउँसो २ बजेपछि लैनचौर आएको भीडले कार्यालयमा ढुंगामुढा गर्न थाल्यो । भीडले त्यहाँ रहेका सुरक्षा गार्डहरूलाई बाहिर निकालेर एउटा कोठामा थुनी भवनमा आगो लगाइदिने धम्की दिएको थियो । त्यसपछि प्रदर्शनकारीहरूले पार्किङमा रहेका गाडीहरूको साँचो थुतेर गाडीहरू एक-एक गर्दै स्वागत कक्ष क्षेत्रमा ल्याई आगो लगाएका थिए । यसको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालभर भेटिन्छन् ।
यसै क्रममा कार्यालयको दोस्रो तल्लामा रहेको जिमखानाबाट प्रदर्शनकारीले फालेको 'डम्बेल' लागेर तल प्रदर्शन गरिरहेका एक व्यक्ति गम्भीर घाइते भएका थिए । तोडफोड गर्दै कार्यालयको दसौँ तल्लासम्म पुगेको भीडले कर्मचारीका लकरहरू फोडेर निजी सामान, आईटी उपकरण र एलसीडी मनिटरजस्ता सामग्री चोरेको थियो । मंगलबार राति १०-११ बजे नेपाली सेना नआउन्जेलसम्म लुटपाट जारी रहेको स्थानीयहरू बताउँछन् ।
काठमाडौंस्थित मुख्यालय मात्र नभई धनगढी, महेन्द्रनगर र पोखरामा रहेका एनसेलका क्षेत्रीय कार्यालय र एनसेल सेन्टरहरूमा पनि पूर्ण रूपमा क्षति पुर्याइएको छ । अन्य विभिन्न सेन्टरहरूमा पनि ढुंगामुढा र लुटपाट भएको एनसेल स्रोतले जानकारी दिएको छ । त्यहाँ रहेका ग्राहकका विवरण, कम्पनीका सम्झौतापत्र, प्रमाणपत्रजस्ता दस्तावेज नष्ट भएका छन् । तपाथी, कम्पनीको टावर र डेटा सेन्टरजस्ता संवेदनशील पूर्वाधारमा क्षति पुगेको छैन ।
कोभिड महामारीका बेला अपनाइएको डिजिटाइजेसन र वर्क फ्रम होम (घरबाटै काम गर्ने) अभ्यासले गर्दा यो संकटका बेला पनि सेवा प्रवाहमा कुनै असर नपरेको स्रोतको भनाइ छ । ‘हामी एनसेलको कार्यालयलाई दोस्रो घर मान्छौँ, यो पूर्ण रूपमा ध्वस्त भएको छ, यसले कर्मचारीको मनोबलमा असर गरे पनि हाम्रो प्राविधिक क्षमतामा कुनै चुनौती आएको छैन,’ ती अधिकारीले भने ।
दूरसञ्चार क्षेत्रका विज्ञ आनन्दराज खनालले नेपाल टेलिकम, एनसेल, सीजीनेट, भायानेटजस्ता दूरसञ्चार कम्पनीका पूर्वाधारमाथिको आक्रमणलाई ‘मब मेन्टालिटी’ (अराजक मनोविज्ञान)को उपजका रूपमा हेरेका छन् । यी घटनाले आगामी दिनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन चुनौती खडा गर्ने उनको चिन्ता छ । उनका अनुसार भौतिक आक्रमण हुनुभन्दा पहिले नै तत्कालिन ओली सरकारले सामाजिक सञ्जालमाथि लिएको नीतिका कारण लगानीको वातावरण बिथोलिएको थियो ।
तोडफोडका घटनाले लगानीकर्ताको आत्मविश्वासलाई झनै कमजोर बनाएको खनालको विश्लेषण छ । ‘विदेशी लगानी आउने सम्भावना र यहाँको घरेलु लगानीको आत्मविश्वास पनि पूर्ण रूपमा हल्लिएको छ,’ उनले भने, ‘सरकारको नीतिगत स्थिरता छैन भन्ने सन्देश एकातिर थियो भने अर्कोतिर यस्तो भिडले जतिबेला पनि आक्रमण गर्नसक्छ भन्ने डर थपिएको छ ।’ लगानीकर्ताहरूको डगमगाएको विश्वासलाई पुन:स्थापित गर्नु नै अबको मुख्य चुनौती रहेको र यसलाई पार लगाउन नसके नेपाल प्रविधिको क्षेत्रमा धेरै पछाडि पर्ने चेतावनीसमेत खनालले दिएका छन् ।
यसै पनि नेपालको दूरसञ्चार क्षेत्र आर्थिक र व्यावसायिक कठिनाइसँगै जुधिरहेका बेला भौतिक पूर्धाभारमा पुगेको गम्भीर क्षतिले व्ययभार बढ्ने भएको छ । यस्तोमा कम्पनीहरूलाई सेवा विस्तार र गुणस्तर सुधारमा पर्याप्त लगानी गर्न चुनौती थपिनेछ ।
नेपालमा सेवा सञ्चालनको दुई दशक लामो यात्रामा एनसेलले विभिन्न समयमा विभिन्न बाधा-अवरोध खेप्दै आएको छ । स्वामित्व खरिद-विक्री र करसम्बन्धी विषयमा कम्पनी विवादित बनेको र त्यसकै रिस अहिले पोखिएको कतिपयको बुझाइ छ । दूरसञ्चार विज्ञ खनाल भने यस विध्वंसको पछाडी कुनै जायज तर्क नदेखिने र यो विशुद्ध अराजकताको परिणाम भएको बताउँछन् ।
नेपालको दूरसञ्चार क्षेत्र, डिजिटल रुपान्तरण र समग्र अर्थतन्त्रमा एनसेलको योगदान महत्वपूर्ण रहेको छ । २०६१ भदौ १६ मा नेपालको पहिलो निजी दूरसञ्चार सेवा प्रदायकको रूपमा स्पाइस नेपाल प्रालीको स्थापना भएको थियो । त्यसले २०६२ सालबाट ‘मेरो मोबाइल’ नाममा दूरसञ्चार सेवा शुरु गरेको थियो । त्यो बेला नेपालमा मोबाइलको पहुँच जम्मा ६ प्रतिशत रहेकोमा एनसेलको आगमनले बजारमा तीव्र विस्तार ल्याएको थियो । दक्षिण एसियामै सन् २००७ मा थ्री जी सेवा सुरू गर्ने पहिलो देश नेपाल भए पनि त्यतिबेला इन्टरनेट सुस्त र बफरिङ हुन्थ्यो । सन् २०१० मा एनसेलले थ्री जी सेवा व्यावसायिक रूपमा सुरू गरेपछि भने पहिलो पटक सहज रूपमा बिना बफरिङ भिडियो हेर्न सकिने भयो । यसले डिजिटल कनेक्सनलाई पनि बलियो बनाउन भूमिका खेल्यो ।
कम्पनीले हालसम्म ३ सय ६० अर्ब रुपैयाँभन्दा बढी कर सरकारलाई बुझाइसकेको जनाएको छ । कम्पनीलाई सरकारले सबैभन्दा ठूलो करदाताका रूपमा पटक-पटक सम्मान गरेको छ । एनसेलको इकोसिस्टमबाट प्रत्यक्ष-अप्रत्यक्ष गरी करिब एक लाख रोजगारी सिर्जना भएको छ । प्रत्यक्ष रूपमा ५ सय जनाले रोजगारी पाएका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण र कला-संस्कृति संरक्षणमा २ अर्ब ५ करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ । गत वर्ष मात्रै, आफ्नो १९औं वार्षिकोत्सवमा कम्पनीले 'एनसेल फाउन्डेसन' स्थापना गरी आगामी पाँच वर्षमा सामाजिक पहलहरूमा थप २० करोड रुपैयाँ योगदान गर्ने प्रतिबद्धता जनाएको थियो ।
‘२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रूपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्याउँदै आएको छ,’ कम्पनीले आइतबारको विज्ञप्तीमा भनेको छ, ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्उन चाहन्छौँ ।’ कम्पनीले आफू फेरि उठ्ने प्रतिबद्धता जनाएको छ ।
