अटो क्षेत्रमा १५ अर्ब क्षतिको अनुमान 

सबैभन्दा धेरै क्षति थापाथलीमा भएको छ । यसबाहेक कलंकी, हेटौंडा, पोखरा, नारायणगढलगायतका डिलरमा पनि क्षति भएको जानकारी आइरहेको छ ।

भाद्र २८, २०८२

काठमाडौं — नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट १५ अर्ब रुपैयाँहाराहारी क्षति पुगेको अनुमान गरेको छ । नाडा कार्यसमितिले शुक्रबार बेलुकी गरेको गरेको भर्चुअल बैठकमा प्रारम्भिक रूपमा काठमाडौंसहित देशभरका अटो डिलर,शोरुम, वायरहाउस, स्पेयर पार्टस स्टोरलगायतमा भएको क्षतिको प्रारम्भिक अनुमान १५ अर्ब रुपैयाँ हाराहारी भएको अनुमान गरिएको महासचिव सुरेन्द्र उप्रेतीले कान्तिपुरसँग बताए ।

‘हिजोबाट व्यवसायीहरू बाहिर निस्किनु भएको छ । हामीले क्षतिको विवरण संकलनका लागि सबैलाई फारम पठाएका छौं,यकिन विवरण आउन केही दिन लाग्ला । अहिलेको प्रारम्भिक जानकारीअनुसार १२ देखि १५ अर्ब रुपैयाँ हाराहारीमा क्षति भएको अनुमान छ,’ महासचिव उप्रेतीले बताए ।

उनका अनुसार सबैभन्दा धेरै क्षति थापाथलीमा भएको छ । यसबाहेक कलंकी, हेटौंडा, पोखरा, नारायणगढलगायतका डिलरमा पनि क्षति भएको जानकारी आइरहेको छ । ‘थापाथलीमा जलेका गाडीबाहेक आगलागी भएका शोरुमको डेकुरेसनलगायतको लगानी मात्रै ५० देखि ६० करोड हाराहारी भएको छ,’ महासचिव उप्रेतीले भने । 

यसैबीच अटो क्षेत्रको अर्को संस्था नेपाल अटोमाबाइल इम्पोर्टस एन्ड म्यानिफ्याक्सर्च एसोसियसन (नाइमा)ले सोमबार बैठक डाकेको अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘हिजो रातिदेखि अलि सहज भएको छ । व्यवसायीहरूलाई धेरै पुस गरेका छैनौ । हामीले क्षति विवरणबारे सोमबार बैठक राखेका छौँ,’ हाल नेपालबाहिर रहेकी अध्यक्ष वैद्यले भनिन् ।

Link copied successfully