सिरहामा जनजीवन सामान्य बनेपछि हट्यो कर्फ्यु र निषेधाज्ञा, कारागार क्षेत्रमा भने यथावत

भाद्र २८, २०८२

विनय आजाद

सिरहा — जेनजी आन्दोलनपश्चात् जनजीवन सामान्य बन्दै गएपछि सिरहा जिल्लामा कर्फ्यु र निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले जनजीवन सामान्य बन्दै गएपछि शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाएको हो ।

तर, कारागार कार्यालय, सिरहा क्षेत्रमा भने कर्फ्यु यथावत राखिएको छ । कारागारको एक सय मिटर वरपरका क्षेत्रमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू रहनेछ ।

'जिल्लाभरको अवस्था सहज बन्दै गएको छ, हामीले त्यसलाई मध्यनजर गर्दै यो निर्णय गरेका हौं,' प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कान्तिपुरसित भने, 'शान्ति सुव्यवस्था कायम गर्न यहाँका सर्वसाधारणले गरिरहनुभएको सहयोगप्रति हामी आभारी छौं ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully