मुलुकमा विकसित राजनीतिक घटनाक्रमका कारण बुधबारसम्म अन्तर्राष्ट्रिय व्यापार ठप्प
काठमाडौं — मुलुकभरका भन्सार कार्यालयमध्ये वीरगन्ज र कृष्णनगर मात्रै आंशिक रूपमा सञ्चालनमा आएका छन् । यी दुई कार्यालयमा प्रदर्शनकारीले क्षति नपुर्याएको समेत भन्सार विभागले जनाएको छ ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमका कारण बुधबारसम्म अन्तर्राष्ट्रिय व्यापार ठप्प रहेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए । बिहीबार मात्र वीरगन्ज र कृष्णनगर आंशिक रूपमा सञ्चालनमा आएको विभागको भनाइ छ ।
बिहीबार पेट्रोलियम पदार्थका ४४ ट्यांकर र ४२ वटा ग्यास बुलेटसहित औषधिको कच्चा पदार्थ बोकेको एउटा मालवाहक गाडीको जाँचपास गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए ।
सुरक्षा निकायको निगरानीमा जाँचपास गरेको उनको भनाइ छ । यस्तै ८२ वटा खाली गाडी भारततर्फ पठाइएको ज्ञवालीले जनाए । ‘हाम्रो पोर्टमा आएर बसेका खाली गाडी भारत पठायौं,’ उनले भने, ‘कर्फ्यु छँदै छ । बिहीबार अत्यावश्यक सामानको मात्रै जाँचपास गर्यौं । शुक्रबार बिहानदेखि तरकारीका गाडी पनि छाड्छौं ।’
बिहीबार हवाई इन्धनका तीन वटा ट्यांकर जाँचपास गरिएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडाले बताए । ‘बुधबारसम्म कार्यालयसँगै सबै सेवा बन्द थियो, बिहीबार हामीले कार्यालय खोल्यौं । र भैरहवा एयरपोर्ट जाने तीन ट्यांकर जाँचपास गरेर पठाएका छौं,’ उनले भने ।
भारतबाट मालवाहक सवारी नआए पनि खाली गाडी भने भारत पठाइरहेको उनले सुनाए । सामान आएको र व्यवसायीले स्वघोषणा गरेको खण्डमा सबैखाले सामानको जाँचपास गरिने खतिवडाले बताए ।
‘अहिले वीरगन्ज र कृष्णनगर भन्सार कार्यालय सकुशल छन् । देशभरका विवरण आउन बाँकी छ,’ बर्तौलाले भने, ‘देशभरका भन्सार कार्यालयमध्ये केहीमा तोडफोड, केहीमा आगजनी र केहीमा तोडफोडसहित आगजनी भएको छ ।’ चीन जोड्ने तातोपानी र रसुवागढी नाका प्राकृतिक विपत्तिका कारण बन्द रहेको समेत उनले सुनाए ।
