भरतपुर कारागारमा फर्कन थाले कैदीबन्दी

भाद्र २७, २०८२

रमेशकुमार पौडेल

चितवन — भरतपुर कारागारबाट बाहिरिएका कैदीबन्दीहरू प्रशासनले सूचना गरेपछि फर्कन सुरु गरेका छन्। कारागार प्रमुख रविन्द्र ढुंगनाले शुक्रबार बिहानसम्म ६७ जना कैदीबन्दी फर्केको जानकारी दिए। भरतपुर कारागारबाट बुधबार बिहान कैदीबन्दीहरू बाहिरिएका थिए।

कारागार प्रमुख ढुंगनाका अनुसार भरतपुरमा कुल ७४० जना कैदीबन्दी थिए। तीमध्ये धेरै बुधबार बिहान कारागारबाट बाहिरिएका थिए। करिब ४०/५० जनाले आफूहरू नियमपूर्वक हुने बाहेक अरू केही नगर्ने बताएर बसेका थिए। तर पछि उनीहरू पनि सबै घरतिर गएका थिए।

भरतपुर कारागारबाट बाहिरिएका कैदीबन्दीहरूलाई तत्काल फर्कन चितवन प्रशासनले सूचना जारी गरेको थियो। सूचना सुनेर आफैं कारागार फर्कने कैदीबन्दीलाई बाहिर गएकै आधारमा फरक व्यवहार नगरिने तर सम्पर्कमा नआउनेहरूलाई खोजी गरी पक्राउ गरी कानुनबमोजिम गरिने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको भनाइ थियो।

'हामीसँग धेरैजनाले सम्पर्क गरिरहनु भएको छ। हिजो साँझसम्म ६० जना आइसक्नु भएको थियो। अहिले बिहानै पनि सातजना आइपुग्नु भयो। आउने क्रम जारी छ। नआउने जस्तैलाई प्रहरीले खोज्न सुरु गरेको छ,' कारागार प्रमुख ढुंगनाले भने।


रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully