सकियो नाइमा मोबिलिटी एक्स्पो

करिब एक लाखले गरे एक्स्पो अवलोकन, एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको आयोजकको दाबी

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

The Naima Mobility Expo is over

What you should know

काठमाडौँ — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सकिएको छ । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले एक दिन समय थपेको थियो ।

अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको भन्दै उनीहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि प्रदर्शन अवधि थपिएको नाइमाले जनाएको छ । एक्स्पोमा विभिन्न सवारीका ५० ब्रान्ड सहभागी थिए । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक नयाँ गाडी सार्वजनिक गरिएको थियो ।

नाइमाका अनुसार प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय अवलोकनकर्ता सहभागी भए । यस्तै चौथो दिन २१ हजार ५ सय, पाँचौं दिन २२ हजार र छैटौं दिन ७ हजार ८ सय जनाले अवलोकन गरेको नाइमाका मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले जनाए ।

६ दिनसम्म चलेको एक्स्पो करिब एक लाख जनाले अवलोकन गरेको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘करिब एक लाख जनाले एक्स्पो अवलोकन गरे,’ उनले भनिन् । एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको उनको दाबी छ । ‘एक्स्पो एकदमै राम्रो भयो, रेसपोन्स पनि राम्रो आयो,’ उनले भनिन् । नाइमाले सवारी मात्र बिक्री नगर्ने र उपभोक्ता आवाजलाई साथमै लिएर अघि बढ्ने उनको भनाइ छ ।

प्रायोजक नेसनल इन्स्योरेन्स र एभरेस्ट बैंकका साथै सबै साझेदारको सामूहिक योगदानले एक्स्पो सफल भएको वैद्यले जनाइन् । ‘पछिल्ला ६ दिन एकदम अद्भुत रहे । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा म अत्यन्त उत्साहित छु । तपाईंहरूले यो एक्स्पोलाई साँच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो,’ उनले भनिन् ।

एक लाख हाराहारी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै अवलोकनकर्ताको ऊर्जा, विचार, सहकार्य र जोस देख्दा नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गरेको अनुभव भएको वैद्यले सुनाइन् ।

नाइमाले एक्स्पोका दौरान निरन्तर सिकाइका सत्र सञ्चालन गरी अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्घता रहेको सन्देश प्रवाह गरेको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बताए । यी सत्र सहभागीहरूका लागि निःशुल्क प्रवेशसहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञको सहभागितामा सञ्चालन गरिएको थियो । नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सरकार, सरोकारवाला र दातृ निकाय तथा उपभोक्ताको सहभागितामा आयोजना गर्ने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully