रुकुम पूर्व — चाहे कलाकार अमृत गुरुङले आजभन्दा झन्डै एक दशकअघि गाएको ‘शिरफूल शिरैमा...’ होस् वा हालसालै सुरेन्द्र राणाले लेखेको ‘रुकुम मैकोट...’ गीत होस्, रुकुम पूर्वको खुबै चर्चा पाइन्छ । युट्युबमा दसौं करोड पटक हेरिएका यी गीतका शब्दमा झैं रुकुम पूर्व साँच्चै सुन्दर छ, मनोरम छ अनि छ घुम्नलायक पनि ।
लम्बिनीको सबैभन्दा अग्लो ७ हजार २ सय ४६ मिटर उचाइमा रहेको पुथा हिमालको शिरदेखि झन्डै ११ सय मिटर उचाइमा रहेको पोखराको तातोपानीको मुहानसम्म फैलिएको रुकुम पूर्वलाई नेपाल सरकारले ‘उत्कृष्ट यात्रा गन्तव्य’का रूपमा समेत सूचीकृत गरेको छ । १ लाख १३ हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको रुकुम पूर्वमा तीन पालिका छन् । यसलाई ‘कान्छो जिल्ला’ पनि भनिन्छ ।
२०७३ सालमा संघीयताको आवधारणाअनुसार राज्यको पुनःसंरचना गरिएपछि रुकुमलाई पूर्व र पश्चिम भाग छुट्याएर दुई जिल्ला कायम गरियो । यसकारण यसलाई ‘कान्छो जिल्ला’ भन्ने गरिएको हो । यसबाहेक लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पनि हो रुकुम पूर्व । अरू ११ जिल्लाभन्दा अलि फरक परिचय र चिनारी बोकेको यस जिल्लामा अर्गानिक कृषि र पर्यटकीय दृष्टिले अथाह सम्भावना भएको ठाउँ हो ।
पुथासँगै ५ हजार मिटरभन्दा माथिका सिस्ने, दोगारी, सामजङ र निम्कु हिमाल यहाँ छन् भने कमलताल, पुपाल दह, गुप्ता दह, सुन दह र साम्पेलगायत विभिन्न तालतलैयाको सुन्दरताको बयान शब्दमा सायदै गर्न सकिएला ।
धौलागिरि हिमालको पश्चिम भागमा रहेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको ६० प्रतिशत भू–भाग पनि यही जिल्लामा पर्छ । सिस्नेतिर वनघारी भाका र पैसेरुको लहरोमा नाचिन्छ भने भुमे र पुथातिर यानीमाया भाकामा गीत गाउँदै भुमे नाचमा छमछम नाचिन्छ । भाषादेखि भूगोल अनि रीति–संस्कृतिदेखि जीवनशैलीमा समेत विविधता पाइने रुकुम पूर्वमा यही अनेकतालाई एकताको डोरीले बाँधेको छ ।
‘जनसंख्याका हिसाबले हेर्ने हो भने यहाँ जनजाति त्यसमा पनि खासगरी मगर खाम भाषा बोल्नेको बाहुल्य छ । विविध भाषाभाषीको पनि आफ्नै परिचय छ । आपसको हाम्रो प्रेम नै जिल्लाको चिनारी हो,’ भुमे गाउँपालिकाका पूर्वअध्यक्ष रामुसुर बुढा भन्छन् ।
विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले निकै महत्त्वपूर्ण जिल्लाका रूपमा रुकुम पूर्वलाई चित्रित गर्न सकिन्छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षको उद्गमस्थलका रूपमा समेत रहेको रुकुम पूर्व जिल्लाका मूल बाटोलाई ‘गुरिल्ला मार्ग’ समेत भन्ने गरिएको छ । तत्कालीन माओवादीले आफ्नो ‘विशेष आधार क्षेत्र’का रूपमा घोषणा गरेको ऐतिहासिक चुनबाङ आसपासबाट सुरु भएको यो मार्ग रुकुमकोटबाट डाँडैडाँडा हुँदै रुकुम पश्चिमको बाँफीकोटतर्फ अघि बढ्ने पर्यटन व्यवसायी मानबहादुर बताउँछन् ।
‘गुरिल्ला मार्गलाई पनि व्यावसायिक पदमार्गका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि झन्डै १५ वर्ष पहिले नै म्यापसमेत बनाइएको छ ।’
