हस्पिटालिटीको केन्द्र

कृषि, उद्यम, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारले लुम्बिनीको हस्पिटालिटी क्षेत्रलाई बाह्रै महिना चलायमान बनाइरहेका छन् 

चैत्र १३, २०८१

दीपेन्द्र बडुवाल

Center of Hospitality

भैरहवा — रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर भन्नेबित्तिकै धेरैलाई गल्लामण्डी बजारको सम्झना हुन्छ । सदरमुकामको मध्यभागमा रहेको उक्त बजार गल्ला (खाद्यान्न) संकलन केन्द्रका रूपमा थियो । धेरै वर्ष रूपन्देही र आसपासका किसानले उब्जाएको अन्न संकलन गरेर बिक्री गर्ने व्यवसायीले जिल्लामा उद्योग–व्यापारको जग हालेको पाइन्छ ।

सीमावर्ती भैरहवामा गल्ला व्यापार हुन्थ्यो भने उत्तरमा अवस्थित बटौली बजारमा पहाडी जिल्लाबाट आएका सर्वसाधारणले घिउ बेचेर बदलामा नुन–तेल र लत्ताकपडा किनेर फर्किन्थे । 

परम्परादेखि व्यापार र नेपाल–भारत आउजाउ थलोका रूपमा रहेको रूपन्देही अहिले ‘सर्भिस सिटी’मा परिणत भइसकेको छ । ‘रूपन्देहीले स्वदेशी र विदेशी पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा प्रदान गरिरहेको छ,’ भैरहवाका व्यवसायी धीरजकुमार घिमिरेले भने, ‘उद्योग, व्यापारसँगै पर्यटन क्षेत्र रूपन्देही मात्र नभएर लुम्बिनीकै आर्थिक मेरुदण्डका रूपमा विकास भइरहेको छ ।’

परम्परादेखि रूपन्देहीको बेलहिया स्थलमार्गबाट मुलुकमा धेरै पर्यटक भित्रिने नाका हो । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउनेलाई लक्षित गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई नाकाबाट आउने पर्यटक थपिएका छन् ।

विभिन्न नाकाबाट भैरहवामा पाइला टेक्ने बाह्य र आन्तरिक पर्यटकलाई लुम्बिनीसमेत मुलुकका पर्यटकीय गन्तव्यमा सहज आवतजावत र बसोबासका लागि आवश्यक सबै सुविधा यहीँबाट प्रदान गर्न सकिने भएकाले रूपन्देहीलाई ‘सर्भिस सिटी’ भनिएको व्यवसायी घिमिरेले बताए । 

पछिल्लो समय भारतलगायत मुलुकबाट धेरै परिवार आफ्ना आफन्तजनको विवाहका लागि रूपन्देहीलगायत लुम्बिनी प्रदेशका स्तरीय होटल छनोट गरेर आउन थालेका छन् । लुम्बिनीमा रूपन्देहीको बेलहियाबाहेक पश्चिम नवलपरासीको महेशपुर, लुम्बिनीको कालिदह, कपिलवस्तुको कृष्णनगर, चाकलचौडा, दाङको कोइलाबास, बाँकेको रुपैडिया र बर्दियाको मूर्तिया नाका हुँदै भारतीय र तेस्रो मुलुकका पर्यटक आइरहेका छन् । यसरी आउने पर्यटकलाई सीमावर्ती सहरले आवास, खानपिन, मनोरन्जन, यातायात, पथप्रदर्शन र पर्यटकीय गन्तव्य घुमफिरका लागि सेवा प्रदान गरिरहेका छन् । 

अहिले लुम्बिनीका रूपन्देही, दाङ, बाँके, पाल्पा, अर्घाखाँचीलगायत जिल्लामा पर्यटक लक्षित संरचना र सुविधा थप भइरहेका छन् । पहिले पाहुनाका लागि भनेर होटल र रेस्टुराँ मात्र निर्माण गरिन्थे । अहिले आवासीय र खानपिनका सुविधासँगै पर्यटकलाई भुलाउन मनोरन्जनका कार्यक्रमसँगै भ्रमण प्याकेज समेत बनाउन थालिएको छ ।

आन्तरिक र बाह्य पर्यटक लक्षित तारे होटल सञ्चालनको होडबाजीले यहाँको हस्पिटालिटीको परम्परागत शैलीमा परिवर्तन ल्याएको छ । स्तरीय होटलको संख्या वृद्धिले पर्यटक आकर्षित नगर्ने रूपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस बाई सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्मा बताउँछन् । ‘पर्यटकको बसाइ लम्ब्याउने खालका गतिविधि विकास गर्न जरुरी छ,’ उनले भने, ‘त्यसका लागि होटलले नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ 

अहिले रूपन्देहीका होटलमा विभिन्न चाडपर्व लक्षित इभेन्ट सञ्चालन र अफर सञ्चालन गर्न थालिएको छ । यस्ता इभेन्ट प्रायः एकै प्रकारमा भएकाले यिनमा फरकपन जरुरी रहेको उनको भनाइ छ । ‘हाम्रो होटलले परिसरमै आधा दर्जन खेलका लागि आवश्यक पूर्वाधार तयार गर्दै छ,’ उनले भने, ‘यसबाहेक तीन दिनको प्याकेज कार्यक्रम पनि सञ्चालन गरेका छौं, जसमा सहर अवलोकन, पुल पार्टी, मुभी अवलोकनलगायत छन् ।’ प्रदेशमा रहेका ऐतिहासिक र पुरातात्त्विक स्थलका कथा बिक्री गर्न सक्ने हो भने पर्यटकको बसाइ लम्ब्याउन सकिने उनको तर्क छ । 

अहिले रूपन्देहीको बेलहियादेखि बुटवलको गोलपार्कसम्म २६ किलोमिटर व्यापारिक मार्गको दायाँबायाँ स्तरीय होटल सञ्चालन भइरहेका छन् । यहाँ सञ्चालित अधिकांश होटल चारतारे स्तरका छन् । स्वदेशी उद्योगी व्यवसायीले लगानी गरेका यस्ता होटलको व्यवस्थापनको जिम्मेवारी भने म्यानेजमेन्ट कम्पनीले लिन थालेका छन् । यस्ता कम्पनीमध्ये केही मुलुकभित्रै होटल चेन सञ्चालन गरिरहेका छन् ।

केही होटलले विदेशी कम्पनीसमेत भित्र्याएका छन् । होटल व्यवस्थापनमा यस्ता कम्पनीको प्रवेशले तिनको हस्पिटालिटीमा नयाँ आउनुका साथै अन्य लगानीकर्तालाई सिक्ने अवसरसमेत सिर्जना गरिरहेको यहाँका व्यवसायीको भनाइ छ । रूपन्देहीको भैरहवामा पाँचतारे सिद्धार्थ भिलासा सञ्चालनमा छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपअन्तर्गत यो पहिलो पाँचतारे रूपन्देही सदरमुकामको आकर्षण बनेको छ । यसबाहेक चारतारे स्तरका होटल निर्वाणा, मौर्या, होटल रेडसन, नान्स, भैरहवा गार्डेन, ल्यान्डमार्क, एसियन बुद्ध सञ्चालनमा छन् । 

बुटवल उपमहानगरपालिकाभित्र साना–ठूला गरेर दुई सयभन्दा बढी होटल सञ्चालनमा छन् । माछा पर्यटनका लागि प्रसिद्ध सियारीमा लुम्बिनी प्यालेस रिसोर्ट, सखिया फिस भिलेजलगायत आधा दर्जन स्तरीय होटल छन् । बुद्धस्थल लुम्बिनीमा पाँच चारे पवन प्यालेससहित चारतारे स्तरका होक्के, कसाई, मायादेवी गार्डेन, लुम्बिनी गार्डेन सञ्चालनमा छन् । 

लुम्बिनीमा बाराही समूहले पनि होटल निर्माण गरिरहेको छ । यीबाहेक ८० भन्दा बढी मध्यम र साना होटल छन् । रूपन्देहीमा मात्रै होटल व्यवसायमा ८० अर्ब हाराहारी लगानी भइसकेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले जनाए । यहाँ धेरै लगानीका तारे होटल मात्र नभएर सर्वसाधारणले खर्च गर्न सक्ने खालका सबै स्तरका होटल खुलेको श्रेष्ठले बताए ।

‘यो हस्पिटालिटी हब हो,’ उनले भने, ‘यहाँ आउने पाहुनालाई निराश होइन, खुसी तुल्याएर पठाउँछौं ।’ मुख्य नाका भएका रूपन्देही र बाँकेमात्र होइन, प्रदेशका १२ वटै जिल्लाका पर्यटकीय सम्भावना लक्षित गरेर हस्पिटालिटी क्षेत्रमा लगानी भइरहेको छ । यहाँका लगानीकर्ताले पर्यटकको चाहना बुझेर नयाँ गन्तव्य पहिल्याउँदै लगानी बढाइरहेका छन् । कतिले पाहुना लोभ्याउन नयाँ कार्यक्रम र शैली विकास गरेका छन् । 

लुम्बिनीका मनोरम पहाडी जिल्लामा धमाधम पर्यटकीय गतिविधि बढिरहेका छन् । बुटवलको चिडियाखोलाबाट पाल्पाको बसन्तपुरसम्म लुम्बिनी केबलकार सञ्चालनमा आएको छ । त्यस्तै बुटवलको पश्चिम फूलबारीबाट बसन्तपुर डाँडासम्म सिद्धार्थ केबलकार सञ्चालनमा छ ।

बुटवलमा बेस भएका दुईवटा केबलकारको सञ्चालनले पाल्पाका वसन्तपुर र नुवाकोटमा पर्यटकीय लगानी थपिन थालेका छन् । पहाडकी रानी भनेर उपमा पाएको पाल्पा सदरमुकाम तानसेन र रानीमहल स्वदेशी र भारतीय पर्यटकले रुचाएको गन्तव्य हो । पछिल्लो समय गुल्मीको रेसुंगा आकर्षक गन्तव्य बनेको छ ।

‘हामीसँग पर्यटन गन्तव्य र संरचना प्रशस्त छन्,’ नेपलिज होटलर्स एसोसिएसन अध्यक्ष प्रवीणबहादुर पाठकले भने, ‘अब जति सकिन्छ पर्यटक ल्याउन अभियान चलाउनुपर्छ ।’ प्रदेशको पश्चिम कुनामा रहेका बर्दिया र बाँके निकुञ्ज वन्यजन्तु केन्द्रित सफारी पर्यटनका केन्द्र हुन् ।

सफारी पर्यटन लक्षित गरेर बर्दियाको ठाकुरबाबा र आसपासका पालिकामा धमाधम होटल तथा रेस्टुराँ सञ्चालनमा आइरहेका छन् । होटल एसोसिएसन बर्दियाका अध्यक्ष मोहन चौधरीका अनुसार ठाकुरद्वारामा मात्रै ५० भन्दा बढी होटल खुलिसकेका छन् । कर्णालीको भँगालो खौराहा नदी किनारमा प्रकृतिमैत्री रिसोर्ट खुल्न थालेको चौधरीले बताए । 

दीपेन्द्र बडुवाल

Link copied successfully