ऐतिहासिक रामग्राम 

प्राचीन समयको कोलिया गणराज्यको राजधानी पण्डितपुर, रामग्राम र देवदहबारे विभिन्न अध्ययन अनुसन्धान र उत्खननले रामग्राम स्तूपलाई विश्व सम्पदा सूचीमा राख्ने काम अगाडि बढेको छ

चैत्र १३, २०८१

नवीन पौडेल

Historical Ramagram

नवलपरासी पश्चिम — गवान् गौतम बुद्धसँग सम्बन्धित स्थलमध्ये पश्चिम नवलपरासीको रामग्राम–७ उजैनीमा रहेको ‘रामग्राम स्तूप’ पवित्र तीर्थस्थल हो । बौद्ध धर्मको धार्मिक एवं खोजमूलक लेखमा उल्लेख गरिएअनुसार भगवान् गौतम बुद्धको अष्टधातु राखिएको स्थानमध्ये उत्खनन नगरिएको एकमात्र रामग्राम स्तूप हो । 

प्राचीन समयको कोलिया गणराज्यको राजधानी पण्डितपुर, रामग्राम र देवदहबारे विभिन्न अध्ययन अनुसन्धान र उत्खननले रामग्राम स्तूपलाई विश्व सम्पदा सूचीमा राख्ने काम अगाडि बढेको छ । रामग्राम स्तूप ईशापूर्व ५ सय वर्ष पुरानो कोलिया राजाद्वारा निर्मित स्तूप हो ।

बुद्धको महापरिनिर्वाणपछि बचेको अस्तु ल्याएर स्तूप निर्माण गरिएको थियो । रामग्राम स्तूपको खोजी गर्दा कोलिया राजधानी रामग्रामदेखि चार माइल पूर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियाँ यात्रीले वर्णन गरेका आधारमा रामग्राम स्तूप भेटिएको इतिहास छ । स्तूपको महत्त्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ । 

रामग्राम क्षेत्रको विकास र प्रवर्द्धनमा तीनै तहका सरकारले आवश्यक ध्यान नदिएको नागरिक समाजका अध्यक्ष एवं रामग्राम विकास तथा संरक्षण समितिका अध्यक्ष शम्भु उपाध्यायले बताए । ‘विश्वसम्पदा सूचीमा सूचीकृत हुन सक्ने, उत्खनन नगरिएको गौतम बुद्धको अस्तु रहेको स्थान अहिलेसम्म पर्यटकीय हब बनिसकेको हुनुपर्ने हो,’ उनले भने, ‘रामग्राम स्तूपको महत्त्व र रहस्य अझै पनि उजागर हुन सकेको छैन ।’

बुद्धको महापरिनिर्वाणपछि अस्तुलाई ८ भाग लगाएर विभिन्न स्थानमा राखिएको थियो । वैशाली, कपिलवस्तु, मगध, रामग्राम, अल्लकप्प, कुशीनगर, वेठदीप र पावामा अस्तु राखेर स्तूपा निर्माण गरिएको धार्मिक ग्रन्थ र बुद्धकालीन इतिहासमा उल्लेख छ ।

८४ हजार स्तूप बनाउने अभियानमा लागेका सम्राट् अशोकले अस्तुहरू झिक्ने र सोही स्थानमा स्तम्भ निर्माण गर्ने गरेका थिए । सात स्थानको अस्तु झिक्न सफल भए पनि रामग्राम स्तूपमा रहेको अस्तु उत्खनन गर्न नसकेको र तत्कालीन समयमा नागहरूले अस्तुको रक्षा गरेको प्रसंग उल्लेख छ । यही कारणले पनि रामग्राम स्तूपबारे अहिलेसम्म पनि रहस्यमै छ ।

स्तूपा वरपर बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना फेलापरेको छ । पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको विज्ञ टोलीले गत वर्ष स्तूपको उत्तरपश्चिम क्षेत्रमा गरेको उत्खननमा महत्त्वपूर्ण वस्तु फेला पारेको हो । सन् २०१८ मा गरिएको जियोफिजिक्स सर्भेमा ठूलो बिहार, पोखरी लगायतका बुद्धकालीन सामग्री फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन अहिले उत्खनन गरिएको हो ।

पछिल्लो समय रामग्राम नगरपालिकाले रामग्राम विकास कोष गठन गरेर यसको विकासमा लागिपरेको छ । ‘रामग्रामको महत्त्वलाई हामीले विश्वभर पुर्‍याउनुपर्छ । यसको विकास र प्रवर्द्धनमा स्थानीय तहको भूमिका कार्यकारी हुनुपर्दछ भन्ने हाम्रो बुझाइ हो,’ रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले भने, ‘तर, स–साना काममा पनि लुम्बिनी विकास कोषसँग अनुमति लिनुपर्ने तथा अन्य प्राविधिक समस्या हुने हुँदा हामीले छुट्टै विकास कोष गठन गरेका हौं । सबैसँग सहकार्य गरेर यसको विकासमा लाग्ने हाम्रो अठोट हो ।’ 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully