गाउँलाई बजार र बजारलाई चलायमान बनाउन सडक सहयोगी भएका छन्, होटलमा लगानी बढेको छ, गाउँमै सानातिना उद्योग खुल्ने क्रम तीव्र छ
भैरहवा — भैरहवाको बेलहिया (सुनौली) नाकादेखि बुटवलको राजमार्ग चौराहासम्मको २४ किलोमिटर दूरीको ६ लेन सडक किनारामा राखिएका बत्ती, फूल र हरियाली सहरी सौन्दर्यको मनमोहक दृश्य बनेको छ । यो सडक हुँदै साँझमा यात्रा गर्नेको मन आनन्दित हुन्छ ।
सडक किनारको सौन्दर्यले दिउँसोमा पनि आकर्षण थपेको छ । यात्राको सहजतासँगै सडकले रोजगारी, व्यापार र व्यवसायलाई पनि जोडेको छ ।
सीमा–नाकादेखि व्यापारिक केन्द्र बनेको बुटवललाई ६ लेनको सडकले जोडेपछि सडकलाई आधार मानेर दुवैतर्फ उद्योग खुल्ने क्रम बढेको छ । व्यापार र उद्यम गर्नेहरू पनि बढ्दै छन् । सडकबाट तीन–चार किलोमिटर पूर्व र पश्चिम क्षेत्रका खेत कृषि उत्पादनले हरियालीपूर्ण छन् ।
मध्यभागमा बुटवल–बेलहिया सडक भएर तीव्र विकासमा अघि बढेको तिलोत्तमा नगरपालिकामा मात्र एक हजार बढी युवाले व्यावसायिक कृषि खेती र कृषिजन्य पदार्थको विविधीकरण गर्ने उद्योग स्थापना गरेका छन् । देशकै पक्षीजन्य उत्पादनमा पहिचान बनेको अस्ट्रिच फार्मले यही सडकलाई आधार मानेर एक अर्ब बढी लगानीमा अस्ट्रिच उत्पादन गरी विदेश निर्यात गरिरहेको छ ।
अहिले यहाँ च्याउ उत्पादन गरेर निर्यात भइरहेको छ । तीन सयभन्दा बढीले रोजगारी पाएका छन् । दैनिक एक लाख लिटरसम्म दूध उत्पादन गर्ने र त्यसको पनि विविधीकरण गरेर देशका अन्य सहरमा पठाउने उद्योगका लागि पनि यो सडक मुख्य सहयोगी बनेको छ ।
सडकको पूर्व र पश्चिम दुवै क्षेत्रमा एक सय बढी गाई–भैंसी पाल्ने किसान २ सयभन्दा धेरै छन् । झन्डै ८ अर्ब खर्चेर सडकको चौडाइ विस्तारपछि बुटवल र भैरहवाको आर्थिक अवस्था नै बदलिएको छ । यही सडकले बुटवललाई ‘आर्थिक हब’को पहिचान दिएको छ । अर्बौं लगानीका एक दर्जन ठूला र पाँचतारे होटल यही सडक आसपासमा स्थापना भइरहेका छन् ।
लुम्बिनीमा मात्र झन्डै ४ सय किलोमिटरको दूरी पर्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढदेखि बुटवल, भालुबाङ, नेपालगन्ज हुँदै कर्णालीको चिसापानी पुलसम्मको सडकलाई पनि विभिन्न ८ चरणमा विभाजन गरेर ६ लेनमा निर्माण गर्ने काम अघि बढेको छ । झन्डै १ सय २० किलोमिटर सडकमध्ये बर्दघाटदेखि बुटवलसम्मको ४३ किलोमिटर सडक लुम्बिनीमा पर्छ, सरकारले १ सय २० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण सुरु गरेको थियो । अहिले दुवै खण्डमा सडक निर्माणको काम जारी छ ।
बुटवलदेखि लुम्बिनी र कर्णाली प्रदेशको सिमाना कर्णाली नदीको चिसापानी पुलसम्मको सडक विस्तारका लागि सरकारले ७ खण्डमा विभाजन गरेर काम गर्ने योजना सरकारको छ । बुटवलदेखि चन्द्रौटासम्मको काम अघि बढेको छ । नारायणगढदेखि चन्द्रौटासम्मको सडकलाई एसियाली राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने योजनाअनुसार विभिन्न खण्डमा विभाजन गरेर निर्माण गर्ने गरी योजना बनाइएको हो ।
आठ खण्डमा विभाजन भएको पूर्व–पश्चिम राजमार्गको मध्य खण्ड पर्ने नारायणगढदेखि कर्णालीको चिसापानी पुलसम्मको दूरी ४ सय ६७ किलोमिटर छ । बुटवलदेखि बर्दियाको चिसापानी (कर्णाली) पुलसम्म ३ सय ४६ किलोमिटर दूरी छ । त्यसमध्ये बुटवल–गोरुसिंगे खण्डको ४० किलोमिटर सडक विस्तार सुरु भएको छ । त्यसपछि गोरुसिंगेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर खण्डको काम हुनेछ । बुटवल–चन्द्रौटा सडक एसियाली विकास बैंकको ऋण सहयोगमा झन्डै ३५ अर्ब लागतमा निर्माण हुँदै छ । यो सडक बजार क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनमा विस्तार हुनेछ ।
लुम्बिनीको बुटवललाई केन्द्र बनाएर निर्माण भएका यी सडकको निर्माण पूरा हुँदा लुम्बिनीकै आर्थिक समृद्धि र सडक सपना पूरा हुने अपेक्षा गरिएको छ । बुटवलदेखि पाल्पा हुँदै गण्डकी प्रदेशको पोखरा र बुर्तिबाङतर्फ जाने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पनि ७ अर्बभन्दा बढी लगानीमा सुरुङ मार्ग निर्माण भइरहेको छ । सुरुङको ट्र्याक खोल्ने काम सकिएर विस्तार र स्तरोन्नतिको चरण सुरु भएको छ ।
बुटवलदेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग विस्तारको काम पनि सुरु हुँदै छ । सिद्धार्थ राजमार्गसँग जोडिएको कालीगण्डकी करिडोर पनि पाल्पा, गुल्मी र बागलुङ खण्डको धेरै क्षेत्रमा कालोपत्र भएको छ । चीनको कोराला नाका जोड्ने यस सडकले चिनियाँ पर्यटक बुटवल र लुम्बिनीसँग जोड्दै छ ।
पूर्वपश्चिम राजमार्गको दाङको लमही शिवखोलादेखि उत्तरतर्फको तुलसीपुरसम्मको सडक निर्माणका लागि ३ अर्ब ९९ करोड ४९ लाखको स्रोत सुनिश्चित गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ । राजमार्गको कुइरेपानीदेखि सर्रासम्मको वैकल्पिक मार्गलाई पनि चार लेनमा स्तरोन्नति गर्ने गरी काम अघि बढेको छ । अर्घाखाँचीको गच्छेदेखि प्रदेशको राजधानी भालुबाङसम्मको सडक स्तरोन्नति र विस्तारको काम सुरु भएको छ ।
