लुम्बिनीको सामर्थ्य : पर्याप्त छन् समृद्धिका आधार र अवसर

बैंक र वित्तीय संस्थाबाट लुम्बिनीको औद्योगिक क्षेत्रमा मात्रै सवा खर्बभन्दा बढी कर्जा प्रवाह, सञ्चालनमा रहेका ६० सिमेन्ट उद्योगमध्ये ४५ वटा लुम्बिनीमै

चैत्र १३, २०८१

डा. डिल्लीराज अर्याल

Strengths of Lumbini: Sufficient foundations and opportunities for prosperity

लुम्बिनी नेपालको मध्यभागमा रहेको महत्त्वपूर्ण प्रदेश हो । भू–बनोटका हिसाबले यो प्रदेश तराई, भावर, चुरे, मध्यपहाडी र उच्चपहाडी क्षेत्रमा फैलिएको छ । लुम्बिनी ऐतिहासिक, सांस्कृतिक, धार्मिक र व्यापारिक रूपमा महत्त्वपूर्ण मानिन्छ । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनेको छ । कृषि, उद्योग, पर्यटन, जलस्रोत र व्यापार यहाँका प्रमुख आर्थिक स्रोत छन् । यहाँ जातीय, भाषिक र सांस्कृतिक हिसाबले विविधायुक्त रहनसहन भएका मानिस बसोबास गर्छन् ।

लुम्बिनीका झन्डै दुई तिहाइ जनसंख्याले कृषि क्षेत्रलाई आफ्नो मुख्य जीविकोपार्जनको स्रोतका रूपमा अपनाएका छन् । यहाँको कुल क्षेत्रफलको २९ प्रतिशत जमिन खेतीयोग्य छ । कुल खेतीयोग्य जमिनमध्ये ८२.२ प्रतिशतमा कृषिसम्बन्धी गतिविधि भइरहेको छ । 

कृषि क्षेत्रले प्रदेशको आन्तरिक कुल गार्हस्थ्य उत्पादनमा २९.६ प्रतिशत योगदान पुर्‍याएको छ । कृषि पेसामा संलग्न जनसंख्याको हिस्सा ५७.४ प्रतिशत छ । प्रदेशको कुल सिँचाइयोग्य जमिनमध्ये ५५.७ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध छ भने ३५ प्रतिशत जमिनमा बाह्रै महिना यो सुविधा उपलब्ध छ । लुम्बिनीमा विदेशी लगानीमा उत्पादनमूलक, सेवामूलक र पर्यटन क्षेत्रसँग सम्बन्धित सात उद्योग सञ्चालनमा छन् ।

यहाँ ठूला, लघु, घरेलु र साना उद्योगको संख्या विस्तार भइरहेको छ । प्रदेशले औद्योगिक क्षेत्र विस्तारका लागि रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्र स्थापना कार्य अघि बढाएको छ । नेपालमा स्थापित तथा सञ्चालनमा आएका ६० सिमेन्ट उद्योगमध्ये ४५ वटा लुम्बिनीमै छन् । बैंक र वित्तीय संस्थाबाट लुम्बिनीको औद्योगिक क्षेत्रमा १ खर्ब ३० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । 

यस प्रदेशमा नेपालको कुल खानीको १७.६ प्रतिशत र प्रदेशको कुल गार्हस्थ्य उत्पादनको ०.४ प्रतिशत योगदान छ । यहाँ १८ प्रकारका धातु खनिज, १९ प्रकारका अधातु खनिज, ७ प्रकारका रत्न पत्थर, ३ प्रकारका इन्धन खनिज, ७ प्रकारका शृंगारिक खनिज र निर्माणमा प्रयोग हुने ढुंगा, बालुवा र माटो प्रशस्त छ । 

ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले लुम्बिनीमा प्रचुर पर्यटकीय सम्भावना छ । विश्व सम्पदा सूचीमा समावेश भएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत तिलौराकोट, रामग्राम, रानीमहल, रुरु क्षेत्र, रेसुंगा, सुपादेउराली, स्वर्गद्वारी, बाह्रकुने, धारापानीजस्ता पर्यटकीय स्थल यहाँ छन् ।

बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कृष्णसार संरक्षण क्षेत्रजस्ता प्रमुख पर्यटकीय गन्तव्य पनि छन् । सिस्ने हिमाल, पुथा हिमाल, तातोपानीका मुहान र विभिन्न ताल, झरना र प्राकृतिक गुफा पनि प्रदेशका आकर्षण हुन् । देशको समग्र विकासका लागि शिक्षा पूर्वाधारको भूमिका महत्त्वपूर्ण हुन्छ । 

लुम्बिनीको साक्षरता दर ७८.०८ प्रतिशत छ । जसमा, पुरुष साक्षरता दर ८५.१८ प्रतिशत र महिला साक्षरता दर ७१.६६ प्रतिशत छ । विद्यालय छोड्ने दर आधारभूत तहमा ३.९ प्रतिशत र माध्यमिक तहमा ६.७ प्रतिशत छ । लुम्बिनीमा बालमृत्यु दर (५ वर्षमुनिका, प्रतिहजार जीवित जन्म) ४१, नवजात शिशुमृत्यु दर (प्रतिहजार जीवित जन्म) २१, मातृमृत्यु दर (प्रतिलाख जीवित जन्म) २०७ छ । यहाँ पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दर २५ प्रतिशत, ख्याउटेपनको दर १६ प्रतिशत र कम तौलको दर १९ प्रतिशत छ ।   

आर्थिक र सामाजिक विकासका लागि यातायात पूर्वाधार एक महत्त्वपूर्ण आधार हो । यहाँ राष्ट्रिय, प्रादेशिक र स्थानीय सडक गरी कुल १५ हजार ७६ किमि सडक सञ्जाल छ । जसमध्ये, प्रादेशिक सडक ४ हजार ५ सय ४३ किमि छ ।

निर्मित सडकमध्ये कालोपत्र सडक २२.६ प्रतिशत छ । त्यसैगरी, झोलुंगे पुल १ हजार ३ सय ३९ वटा सम्पन्न भएका छन् भने लुम्बिनी केबलकार (२.६ किलोमिटर) र सिद्धार्थ केबलकार (१.९४ किलोमिटर) सञ्चालनमा छन् । सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन अवस्थामा छ भने तुल्सीपुर–लुहाम, बबई–छिन्चु, दुम्कीबास–बर्दघाट सुरुङमार्ग अध्ययनमा छन् । ९३.७ प्रतिशत घरधुरीमा विद्युत् सेवा र ४.७ प्रतिश घरधुरीमा सौर्य ऊर्जा सेवा उपलब्ध छ । 

लुम्बिनी नेपालको ऐतिहासिक, धार्मिक, भौगोलिक, आर्थिक र सांस्कृतिक विविधता समेटेको एक महत्त्वपूर्ण प्रदेश हो । प्राकृतिक स्रोतसाधन, कृषिजन्य उत्पादन, औद्योगिक प्रवर्द्धन, पर्यटन, व्यापार, जलस्रोत र पूर्वाधार विकासका हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र हो । यसको भौगोलिक अवस्थिति, भारतसँगको खुला सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल, रणनीतिक व्यापारिक मार्ग तथा कृषियोग्य उर्वर भूमि, धार्मिक तथा रमणीय पर्यटकीय स्थल आर्थिक विकासको सम्भावना बोकेका प्रमुख आधार हुन् । 

औद्योगिक विकास आर्थिक वृद्धिको मेरुदण्ड हो । यसले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक उत्पादनशीलता वृद्धि गर्छ । साथै, सीप विकास, प्रविधि स्थानान्तरण र नवप्रवर्तनलाई प्रोत्साहन गरी दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्दछ । औद्योगिक विकासले अर्थतन्त्रलाई गतिशील बनाउँदै समृद्धिको आधार तयार गर्छ । 

लुम्बिनीमा बुटवल, भैरहवा र नेपालगन्जमा रहेका औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रको स्थापना तथा सञ्चालनले औद्योगिक विकासको ढोका खोलेको छ । भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही, कोहलपुर–नेपालगन्ज, चन्द्रौटा–कृष्णनगर र घोराही–तुल्सीपुरलाई औद्योगिक करिडोरका रूपमा विकास गरी औद्योगिक क्षेत्र विस्तार गर्न सकिन्छ । भारतसँग सीमावर्ती क्षेत्रमा रहेको हुँदा व्यापारिक अवसर धेरै छन् । लगानीमैत्री नीति तथा व्यवसाय प्रवर्द्धनका उपाय अवलम्बन गरी लुम्बिनीलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल, रेसुंगा विमानस्थल, टरिगाउँ विमानस्थल, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग र अन्य ग्रामीण सडक पूर्वाधारको विकास गरी लुम्बिनीलाई समृद्ध बनाउन सकिन्छ । नेपाल–भारत व्यापारिक मार्ग, करिडोर विकास तथा यातायात सञ्जाल विस्तार गरी प्रदेशलाई आर्थिक गतिविधिको केन्द्र बनाउन सकिन्छ ।

डा. अर्याल लुम्बिनी योजना आयोगका उपाध्यक्ष हुन्।

Link copied successfully