लुम्बिनी क्षेत्रभित्र भौतिक संरचना नबनाऔं, बोटबिरुवा र बगैंचालाई सामान्य रूपमा संरक्षण गरौं, किनकि लुम्बिनी आउनु भनेको अनित्यको बोध गर्नलाई हो
बुद्ध जन्मस्थल लुम्बिनीको मुटु नै पवित्र उद्यान क्षेत्र हो । त्यसलाई राम्रो र सुन्दर बनाउन अरू धेरै कुरा जोडिएका छन् । विश्वविख्यात जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीलाई विश्वकै शान्तिको मुहान र आध्यात्मिक गन्तव्य बनाउन लुम्बिनी विकास गुरुयोजना बनाए ।
पवित्र उद्यान क्षेत्रभित्र गोलो नहर, भित्र पानी र बगैंचा बनाउने उक्त गुरुयोजनामा उल्लेख छ । उनले डिजाइन गरेका हरेक कुरामा बुद्ध दर्शन प्रतिबिम्बित छ । शान्तिको झझल्को छ । झट्ट हेर्दा सबै कुरा बुझिँदैन तर गहिरिएर खोज अनुसन्धान गर्दा शान्तिको सामीप्य पाइन्छ ।
लुम्बिनीमा बनाइएको गोलो नहरसहित अहिले निर्माणाधीन कतिपय संरचना गोलो, आधा गोलो, सर्कल, हाफ सर्कल, सेमी सर्कल र वर्गाकारको अवधारणामा आधारित छन् । यसले बुद्धको दार्शनिक पक्षसँग गहिरो चासो राख्छन् । प्रथम शताब्दीतिरका बुद्धका योगी नागार्जुनले बुद्ध शिक्षालाई शून्यवादका रूपमा व्याख्या गरेका थिए ।
अनित्यको कुरा नै शून्यवाद हो । यसको हरेक क्षण परिवर्तनशील छ । हामी जहाँबाट सुरु भयौं, अन्त्य पनि त्यही हो । जन्म लिनुअघि र मृत्युपछिको एउटा चक्र हुन्छ । त्यो नै शून्यवाद हो । त्यही अनित्यलाई ध्यानमा राखेर गोलो नहरको अवधारणा बनाइएको बताइन्छ ।
लुम्बिनी क्षेत्रभित्र भौतिक संरचना नबनाऔं । बोटबिरुवा र बगैंचालाई सामान्य रूपमा संरक्षण गरौं । किनकि, लुम्बिनी आउनु भनेको अनित्यको बोध गर्नलाई हो । बुद्धले आनन्द लगायतका अनुयायीलाई आफ्नो मृत्युपछि चारधाम जानू भनेको उल्लेख पाइन्छ । ‘पहिले तिमीहरू लुम्बिनी जानू । त्यो पनि श्रद्धा र भक्तिपूर्वक जानू,’ बुद्ध शिक्षामा उल्लेख छ, ‘मेरो अनुहार हेरेर होइन, शिक्षामा सचेत भएर जानू । यसरी भक्ति र मेरो शिक्षामा ध्यानमग्ध भएर गयौ भने अनित्यको बोध हुन्छ ।’
केन्जो टाँगेले पनि यही ‘कन्सेप्ट’मा पवित्र उद्यानभित्रको गोलो नहरको अवधारणा ल्याएको हुन सक्ने बताइन्छ । त्यही भएर त्यो ठाउँमा आँखालाई आकर्षित गर्ने संरचना बगैंचा आदि नबनाएर जति सक्दो साधारण र सामान्य बनाउने गुरुयोजनामा उल्लेख छ ।
लुम्बिनीको मुख्य प्रवेशद्वार उत्तरतिरबाट हो । अहिले गेट नम्बर बाँडिए पनि गुरुयोजनामा त्यस्तो व्यवस्था छैन । हरहेवा नाला पार गरेर सांस्कृतिक केन्द्रनिर सवारीसाधन पार्किङ गरेर प्रवेश गर्ने स्थल छ । अहिलेको लुम्बिनी संग्रहालय र लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र रहेको ठाउँ लुम्बिनी सांस्कृतिक केन्द्र हो । त्यसपछि केन्द्रीय नहरको दुवैतिर हुँदै छायादार रुखबिरुवाको मनोरम वातावरणमा मायादेवी मन्दिर प्रवेश गर्ने उल्लेख छ । त्यस्तै केन्द्रीय नहर दुवैतिर ठाउँठाउँमा बस्ने बेन्च, विश्राम स्थल, पानी पिउने ठाउँ र शौचालय बनाउनुपर्ने उल्लेख छ ।
त्यहाँ जाने तीर्थालुले स्वतः सांसारिक आध्यात्मिक जगत्मा प्रवेश गरिरहेको अनुभूति गरुन् भन्ने भावना गुरुयोजनामा कल्पना गरिएको छ । त्यसैगरी प्रज्ञा अर्थात् जीवन के हो ? क्षणभंगुरता के हो, हामी सबैभन्दा बढी कुन चीजबाट आशक्त छौं, त्यो आशक्तताबाट कसरी दुःखी भइरहेका छौं र त्यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने कुरा बोध होस् भनेर टाँगेले भौतिक रूपमा देखाउन खोजेका छन् ।
केन्द्रीय नहरदेखि मायादेवी मन्दिरसम्मै ठाउँठाउँमा विभिन्न भाषामा सरल तरिकाले बुद्ध बचनको शिक्षा दिने बोर्ड–ब्यानर राख्नु जरुरी छ । त्यस्तै मधुर धुनमा बुद्ध सूत्र सुन्न सकियोस् । श्रद्धालु उपासक उपासिकालाई बुद्ध जन्मस्थलमा प्रवेश गरिरहेको अनुभूति होस् ।
केन्द्रीय नहरमा कस्ता रुखबिरुवा रोप्ने भनेर पनि वनस्पतिविज्ञको सुझावका आधारमा टाँगेले सिफारिस गरेका छन् । यहाँ सधैं हरियाली र छाया दिने रुख रोप्न उनको सुझाव छ । अहिले गर्मीका बेला केन्द्रीय नहरमा हिँडेर आउन जान निकै गाह्रो छ । केन्द्रीय नहरमा अशक्त, वृद्ध, बिरामी र हिँड्न नसक्नेलाई डुंगाबाट ल्याउने/लैजाने व्यवस्था मिलाउन भनिएको छ । यो डुंगा मेसिनले चलाउने नभई मानवले खियाउने प्रयोग गर्न पनि सुझाव दिइएको छ ।
लुम्बिनी आउने विदेशी तीर्थयात्रीले नेपाल–भारत सीमा क्षेत्र (बोर्डर) मा निकै समस्या झेल्नु परिरहेको छ । भारतीय इमिग्रेसनमा नेपालतिर आउँदा ज्यादै झन्झटिलो बनाइएको छ । लामो फर्म भर्नुपर्ने, फर्किंदा पनि त्यस्तै समस्या बेहोर्नुपर्ने स्थिति छ । सीमामा डिजिटल फर्म भर्ने व्यवस्था गरिएको छ ।
जुन अंग्रेजी भाषामा छ । अंग्रेजी नजान्ने र नबुझ्ने विदेशी तीर्थयात्रीलाई यसले पनि समस्या पारिरहेको छ । कतिपय तीर्थयात्री त मोबाइल नै नबोक्ने खालका पनि आउँछन्, तिनीहरूलाई झन् गाह्रो छ । समूहमा आउनेलाई झनै सास्ती दिइएको छ । यही फर्म भर्ने नाममा एउटा ग्रुप झन्डै ६/६ घण्टा सीमामा बस्नुपरेको दुखेसो पनि गर्छन् ।
अहिले लुम्बिनी आउने ९७ प्रतिशत विदेशी तीर्थयात्री भारत हुँदै आएका छन् । सीमाको समस्याले भारतीय ट्राभल एजेन्ट पनि वाक्कदिक्क भएको सुनाउँछन् । जहाँबाट विदेशी तीर्थयात्री नेपाल प्रवेश गर्छन्, त्यहींबाट आध्यात्मिक वातावरण दिनेतिर योजना बनाएर लाग्नु जरुरी छ ।
भैरहवाको बुद्ध चोकमा लुम्बिनी गेट बनाइएको छ । निकै राम्रो र उत्कृष्ट कलाशिल्प प्रयोग गरिएको छ । यहाँबाट लुम्बिनी सुरु भएको संकेत दिन्छ । तर त्यसपछि बाटोमा देखिने कलकारखाना, उद्योगधन्दा, धूलोधूवाँ र कालो मुस्लोले जुन उत्साह र उमंगले तीर्थयात्री यहाँ आइरहेका हुन्छन्, त्यहीं निराश र तनाव लिन सुरु भइहाल्छ ।
यसले पनि लुम्बिनीप्रति राम्रो सन्देश गइरहेको छैन । यसले पनि लुम्बिनीको पर्यटकीय विकासमा बाधा पुगिरहेको छ । जेहोस्, जीवनलाई सकारात्मक बनाउन र शान्तिको ऊर्जा दिन लुम्बिनी एक पटक जानैपर्ने गन्तव्य हो भन्ने सन्देश दिन ढिला नगरौं ।
