चितवनसँग औद्योगिक सहरको साइनो

आर्थिक शिथिलता, कच्चा पदार्थ अभाव, नाकाबन्दी, भूकम्प र दक्ष जनशक्ति अभावमा केही वर्ष अगाडिसम्म संकटमा रहेको यो औद्यागिक क्षेत्रमा हाल नयाँ उद्योग सञ्चालन गर्न उद्यमीहरू सक्रिय हुन थालेका छन् । 

कार्तिक ८, २०८१

सुवास विडारी

Sign of industrial city with Chitwan

वाग्मती प्रदेश राजधानी हेटौंडाको दक्षिण भागमा अवस्थित हेटौंडा औद्योगिक क्षेत्रमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीको लगानीमा विभिन्न उद्योग सञ्चालित छन् । नेपालकै ठूलो र पुरानो यो औद्योगिक क्षेत्रका उद्योग मकवानपुर तथा अन्य क्षेत्रका व्यक्तिको रोजगारीको मुख्य थलो हो ।

देशकै सबभन्दा ठूलो व्यापारिक नाका वीरगन्ज र राजधानी काठमाडौंको मध्यभागमा पर्ने हेटौंडाको दक्षिणतर्फ चुरे वनमा यो औद्योगिक क्षेत्र स्थापना गरिएको हो । 

२०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएसँगै हेटौंडामा औद्योगिक क्षेत्र स्थापना गर्ने अवधारणा जन्मेको थियो । २०१३ सालको पहिलो पञ्चवर्षीय योजनामा नेपाल सरकारले औद्योगिक क्षेत्र निर्माण गर्ने नीति स्वीकृत गरेको थियो । यो नीतिलाई कार्यान्वयन गर्न संयुक्त राज्य अमेरिकाका नेपालस्थित अमेरिकी सहयोग (यूएसआईडी) समक्ष काठमाडौं र हेटौंडामा औद्योगिक क्षेत्र निर्माण गरिदिन प्रस्ताव सरकारले राखेसँगै यसले सार्थकता पाएको हो । 

काठमाडौंको बालाजु र हेटौंडा उपमहानगरपालिका–८ स्थित उजाड जमिनमा अमेरिकी सरकारको सहयोगमा औद्योगिक क्षेत्र स्थापना भएको हो । तत्कालीन समयमा औद्योगिक क्षेत्रका लागि बेलायती सरकारको सहयोगमा हेटौंडास्थित चौकीटोलमा १४ मेगावाट विद्युत् उत्पादन क्षमताको डिजेल प्लान्ट स्थापना गरिएको थियो । हाल उक्त डिजेल प्लान्ट बन्द छ ।

आर्थिक शिथिलता, कच्चा पदार्थको अभाव, नाकाबन्दी, भूकम्प र दक्ष जनशक्तिको अभावमा केही वर्ष अगाडिसम्म संकटमा रहेको यस औद्यागिक क्षेत्रमा हाल नयाँ उद्योग सञ्चालन गर्न उद्यमीहरू सक्रिय हुन थालेका छन् । 

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार अहिले बहुर्राष्ट्रिय कम्पनी र ठूला उद्योग स्थापना गर्न जग्गा खोज्न आउनेको संख्या बढिरहेको छ । हाल यो औद्योगिक क्षेत्रभित्र १ सय १५ उद्योग सञ्चालनमा छन् । अहिले विभिन्न १३ वटा नयाँ उद्योग निर्माणाधीन छन् । जसमध्ये ७ वटा उद्योगले भवन निर्माण गरिरहेका छन् । निर्माणाधीन उद्योगले चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा उत्पादन सुरु गर्ने प्रतिबद्धता गरेका छन् ।

औद्योगिक क्षेत्रमा एक दशकदेखि विभिन्न प्रकारका ६ वटा उद्योग आर्थिक संकट र कच्चा पदार्थको अभावमा बन्द भएका छन् । यहाँ सञ्चालित उद्योगबाट हालसम्म ८ हजार २ सय ७५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको तथ्यांक छ । यहाँका उद्योगहरूले वार्षिक करिब २ अर्ब रुपैयाँ बराबरको राजस्व सरकारलाई बुझाउने गरेका छन् । व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार निजी क्षेत्रको करिब ६ अर्ब रुपैयाँ लगानी छ ।

Sign of industrial city with Chitwan२ हजार ८ सय २९ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा विभिन्न मझौला उद्योग, बहुराष्ट्रिय कम्पनी स्थापना गर्ने क्रममा औद्योगिक क्षेत्रको पूर्वतर्फ करिब १ हजार २ रोपनी जग्गा जगेडामा राखिएको छ । औद्योगिक क्षेत्र परिसरभित्र २० वर्षदेखि सरकारी स्वामित्वमा रहेको हेटौंडा दूध वितरण आयोजना, वाग्मती प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेशको माटो परीक्षण कार्यालय, प्रदेशको बीउबिजन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल बैंक लिमिटेड र सशस्त्र प्रहरी कार्यालय सञ्चालनमा छन् । सरकारले औद्योगिक सुरक्षा बलका रूपमा सशस्त्र प्रहरीलाई प्रयोग गरेपछि कपडा उद्योगको जग्गामा ब्यारेक राखिएको हो ।

विभिन्न प्रतिकूलताका कारण औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि निर्यात घट्दै गएको छ । मकवानपुरबाट छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्यांक छ । गत आर्थिक वर्षमा मकवानपुरबाट करिब सवा ५९ करोड रुपैयाँको औद्योगिक उत्पादन तेस्रो मुलुकमा निर्यात भएको छ । आर्थिक वर्ष २०७९–०८० मा निर्यात व्यापार साढे ६८ करोड रुपैयाँ थियो । त्यसअघि आव २०७८–०७९ मा ४ वटा उद्योगले ३ अर्ब ४ करोड रुपैयाँको औद्योगिक उत्पादन निर्यात गरेका थिए ।

हेटौंडामा पेय पदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालि, पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्था उद्योग, प्लास्टिकको बोरा उत्पादन गरी निर्यात गरिरहेको गोदावरी पोलिप्याक्स एन्ड फेबिक प्रालि, बिस्कुट उत्पादन गर्ने खजुरी र विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने नेपाल इकरात इन्जिनियरिङ कम्पनीको उत्पादन भारतलगायत तेस्रो देशमा बिक्री हुने गरेको छ ।

जिल्लामा भएका बहुराष्ट्रिय कम्पनीहरूले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योग बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात व्यापारमा कमी आएको हो । बर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोल्गेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेस्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरू बन्द भइसकेका छन् ।

एभरेस्ट पोलिमर्स, एभरेस्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एन्ड टानिङ जस्ता उद्योगहरू पनि हाल अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुराष्ट्रिय उद्योगले पनि १० वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्षअघिदेखि भारत निकासी बन्द गरिसकेको छ । मकवानपुरबाट क्रसरजन्य उत्पादन विदेश निकासी बन्द भएपछि निर्यातजन्य व्यापारमा ठूलो प्रभाव परिरहेको छ ।

नयाँ औद्योगिक क्षेत्रको पर्खाइ

हेटौंडा औद्योगिक क्षेत्रको विकल्पका रूपमा हेटौंडा–१४ स्थित मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणाधीन छ । हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा अभाव र काठमाडौं उपत्यकाभित्रका औद्योगिक क्षेत्र भरिएका कारण दुवैको विकल्पमा सरकारले मयूरधाप औद्योगिक क्षेत्रको योजना अगाडि बढाएको हो । तर, पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र रहेका कारण मयूरधाप औद्योगिक क्षेत्र निर्माणले गति लिन सकेको छैन । सरकार परिवर्तन भएसँगै हरेक उद्योगमन्त्रीले यस क्षेत्रको भ्रमण गरेका हुन्छन् । उनीहरूले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन पक्ष भने शून्य छ ।  

सातै प्रदेशमा एक–एक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७३ मा औद्योगिक क्षेत्र घोषणा भएको थियो । चुरेको खहरेले धार परिवर्तन गरेसँगै मयूरधापमा ठूलो क्षेत्रफलमा खाली जमिन छ । बुट्यानले ढाकेका जमिनमा ठूला रूख छैनन् । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा मयूरधापको फाइल वर्षौंदेखि अड्किरहेको हो ।

२०७३ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयूरधापको १३४.८६ हेक्टर (१९९.१२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो भने २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापनासमेत गरिएको थियो । जसअनुसार मयूरधाप औद्योगिक क्षेत्र २०७७ भित्रै सञ्चालन गर्ने योजना सरकारको थियो । तर, ईआईए प्रक्रिया अगाडि बढ्न नसक्दा काम अघि बढ्नै सकेन । 

यस औद्योगिक क्षेत्र परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ रकम लगानी हुनेछ । औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने जनाइएको छ ।

मयूरधाप औद्योगिक क्षेत्रमा रङ, दुग्ध उत्पादन, साबुन, खाद्य, प्लास्टिक, स्टिल, रबर, तार, डिस्टिलरी, पाइप, काष्ठ सामान, कपडा, सिमेन्ट, इलेक्ट्रोमेकानिकल कार्यशाला, छाला उद्योगजस्ता उद्योग प्रस्ताव गरिएका छन् । औद्योगिक क्षेत्रमा पानी प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको प्रस्ताव गरिएको थियो ।

चितवन चिन्तन

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully