चितवनको फैलँदो पर्यटन

निकुञ्ज केन्द्रित चितवनको पर्यटन अहिले जिल्लाभर नै फैलिएको छ, नयाँनयाँ पर्यटकीय गन्तव्यको विकासका साथै स्तरीय होटल, रैथानेदेखि विदेशी खानाको उपलब्धता छ

कार्तिक ८, २०८१

दिपेन्द्र बडुवाल

Chitwan's expanding tourism

चितवन प्रकृति, संस्कृति, धार्मिक धाम र विविधतापूर्ण भूगोलको सम्मिश्रण थलो हो । त्यसैले चितवनको चर्चा हुनासाथ अधिकांशले एक पटक घुम्नुपर्ने सोच बनाइहाल्छन् । यहाँ आउन ठूलो योजना र तयारी भने चाहिँदैन । देशको मध्यभागमा अवस्थित भएकाले पूर्वपश्चिम ओहोरदोहोर गर्ने जोकोहीले यहाँ पाइला टेकेकै हुन्छन् । 

मुलुकको संघीय राजधानी होस् या अन्य प्रमुख सहर । त्यहाँ पुग्न सार्वजनिक या निजी सवारीसाधनमा यात्रा गर्नेहरू यही जिल्ला भएर बाहिरिन्छन्/भित्रिन्छन् । यहाँबाट संघीय राजधानी काठमाडौं, पर्यटकीय सहर पोखरा र सीमावर्ती आर्थिक केन्द्रहरू वीरगन्ज र भैरहवा लगभग समान दूरीमा छन् । जसले चितवनलाई मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बनाउन सघाएको छ । 

संघीय राजधानी र अन्य सहर जोड्ने संगमस्थल चितवनको पर्यटन विविधताले भरिपूर्ण छ । यहाँ आउने पर्यटकले एउटै कुरामा चित्त बुझाएर फर्किनु पर्दैन । प्रशस्त प्राकृतिक, सांस्कृतिक, भौगोलिक र धार्मिक गन्तव्य भएकाले सबै खालका पर्यटकका लागि यहाँ गन्तव्य उपलब्ध छन् । 

परम्परागत रूपमा चितवनको विशेषता वन्यजन्तुमा आधारित सफारी पर्यटन हो । पवित्र तीर्थस्थल देवघाट धाम यहीं रहेकाले धार्मिक पर्यटन दोस्रो स्थानमा छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रुचि अनुसारका गन्तव्य विकास भएका छन् । अहिले पदयात्रा, हाइकिङसँगै बस्तीमै बसेर रमाउन सकिने फार्म हाउसको अवधारणा फस्टाइरहेको छ ।

सम्बन्धित समाचार

पहिले निकुञ्ज प्रवेशद्वार सौराहामा सीमित पर्यटन फैलिएर पूर्व पिप्लेदेखि पश्चिम नवलपुरसम्म पुगेको छ । जिल्लाका राप्ती र नारायणी किनारमा पर्यटकीय गतिविधि थपिनुका साथै ठूला लगानीका स्तरीय होटल तथा रिसोर्ट निर्माण भएका छन् । पहिले पर्यटक दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउँथे । अहिले वन्यजन्तुसँगै चितवनको संस्कृति र प्रकृति हेर्न आउने बढेका छन् । 

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा मात्र पर्यटकीय गन्तव्य छैन । पछिल्लो पटक पहाडी भूभागमा आकर्षक गन्तव्य पहिचान भएका छन् । जसले यहाँ आउने पाहुनाका लागि पर्यटकीय गतिविधि थपिएका छन् । त्यसको उदाहरण भरतपुर–२९ स्थित भ्यु–डाँडा पनि हो । 

नारायणगढका सामाजिक अगुवा राजकुमार राजभण्डारी गर्मीयाममा शीतल खान भ्यु–डाँडास्थित महाबौद्ध गुम्बास्थल पुग्छन् । नारायणगढबाट एक/डेढ घण्टा यात्रा गरेपछि उक्त डाँडामा पुगिन्छ । वैशाख/जेठमा त्यहाँ पुग्नासाथ जाडो महसुस हुन्छ । नारायणगढबाट सिधै सहज मार्ग नभएकाले नारायणगढ–मुग्लिनखण्डको भोर्लेबाट उक्लिएर चौकीडाँडा हुँदै त्यहाँसम्म पुगिन्छ । 

राजभण्डारीका अनुसार चेपाङलगायत जनजातिको बसोबास रहेको क्षेत्रमा आधा दर्जनभन्दा बढी पर्यटकीय क्षेत्र छन् । भ्यु–डाँडा नजिकै गौरीखोला झरना छ । सीताभन्ज्याङ, चमेरा र गोल्डेन गुफा छन् । ‘भ्यु–डाँडाबाट सदरमुकाम भरतपुर छर्लङ्ग देखिन्छ,’ उनले भने, ‘सिधै सडक निर्माण भएमा आधा घण्टामा पुग्न सकिन्छ ।’ 

गर्मीले अत्याएका बेला नारायणगढ र भरतपुरका बासिन्दा एकछिनमा त्यहाँ पुगेर आनन्द लिन सक्ने उनले बताए । भोर्ले–चौकीडाँडा–आरुबोट हुँदै इच्छाकामना सडक स्तरोन्नति गरिए गर्मी छल्न पहाड जाने सर्वसाधारणलाई सहज हुने राजभण्डारीको भनाइ छ । पहाडबाट सूर्यास्तका नारायणगढ, देवघाटसँगै चितवन र तनहुँका बस्ती अवलोकन गर्न सकिन्छ । 

एक दशकअघिसम्म साविकका ९ वटा पहाडी गाविसमा सडकको पहुँच थिएन । आक्कलझुक्कल पैदल यात्रा गरेर सर्वसाधारण चितवनको पुरानो सदरमुकाम उपरदाङगढी, हात्तीबाङ र सिराइचुली पुग्ने गरेका थिए । कहिलेकाहीं पदयात्रामा जाने पर्यटकले सास्ती खेप्नुपर्थ्यो । यतिबेला जनजीवन र रहनसहन बुझ्न, डाँडाकाँडा नियाल्न, सूर्योदय र सूर्यार्स्त अवलोकन, गुफा र झरना अवलोकनका लागि पहाड उक्लिनेको संख्या बढिरहेको छ । 

होटल व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष दिनेशकुमार चुकेका अनुसार चितवनमा पर्यटक आगमनको सुरुवात वन्यजन्तु सफारीबाट भएको थियो । चितवन निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु, पक्षी र जलचर अवलोकनका लागि विश्वभरबाट पर्यटक आइरहेका छन् । 

दुई दशकयता चितवन आन्तरिक पर्यटकको पनि पहिलो रोजाइ बनिरहेको छ । अहिले यहाँ आउने धेरै पर्यटक निकुञ्ज घुमफिर र स्थानीय जनजातिका संस्कृति अवलोकन गर्न आइरहेका छन् । त्यसैले निकुञ्ज आसपासका गन्तव्यमा पर्यटक ओइरिने गरेका हुन् । स्वदेशी/विदेशी पर्यटकको पहिलो रोजाइ सौराहा हो । त्यसपछि जगतपुर, पटिहानी, मेघौली र भरतपुरमा पर्यटक आउँछन् । 

‘सधैं एउटै खालको पर्यटनले धान्दैन,’ चुकेले भने, ‘त्यसैले चितवनको पर्यटनमा विविधता थप्न भरतपुर र पहाडी गन्तव्यको प्रचारमा जुटेका हौं ।’ जिल्लाका पर्यटन व्यवसायीकै पहलमा पहाडी क्षेत्रका हात्तीवाङ, सिराइचुली, शक्तिखोर, उपरदाङगढी, मायाटार, सिद्धीको तीनदोभान, परेवाकोट, इच्छाकामना, लामोझरनालगायत गन्तव्य विकास भएका हुन् । 

डेढ दशक अवधिमा तराईका गन्तव्यमा मात्र सीमित पर्यटक पहाड उक्लिन र रमाउन थालेको उनले बताए । पश्चिम चितवनको प्रमुख गन्तव्य पटिहानीमा रहेको होटल सोल्टी वेस्टर्नका बोर्ड अफ डाइरेक्टर विष्णु महतोका अनुसार यहाँ आउने पर्यटकको पहिलो रोजाइ चितवन निकुञ्ज अवलोकन हो । त्यस क्रममा उनीहरू दुर्लभ एकसिंगै गैंडा र बाघ हेर्न चाहन्छन् । त्यसबाहेक चरा अवलोकनका लागि आउने धेरै छन् । 

विश्व सम्पदा सूचीकृत चितवन निकुञ्जमा ६ सय ५ एकसिंगै गैंडा, ९३ वयस्क पाटेबाघ, ६० भन्दा बढी किसिमका स्तनधारी वन्यजन्तु र ५ सय ४६ भन्दा बढी प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चरा हेर्न विदेशी पर्यटक धेरै आउने महतोले बताए । ‘निकुञ्जभित्र जिप, हात्ती र जिप सफारी बढी मन पराइएको छ,’ उनले भने, ‘त्यसबाहेक डुंगा सफारी, पैदल निकुञ्ज घुम्ने र मध्यवर्तीमा रहेका थारू गाउँ भ्रमण गर्ने धेरै हुन्छन् ।’ 

चरा अवलोकनका लागि निकुञ्जका साथै पहाडी क्षेत्र प्रसिद्ध छ । पछिल्लो समय बीसहजारी ताल र बाटुली पोखरी चरा गन्तव्य बनेका छन् । जिल्लाको सबैभन्दा उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय र भरतपुर–२८, स्थित गोलाघाटबाट सूर्यास्त अवलोकन गर्न सकिन्छ । अहिले जिल्लाको पूर्वमा कठार, कुमरोम, सौराहा, पश्चिममा पटिहानी, जगतपुर, मेघौली र ज्ञानेश्वर सामुदायिक वन र दक्षिणमा माडी उपत्यका आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको महतोले बताए । 

यसबाहेक नवलपुर, चितवन र तनहुँको संगमस्थलमा रहेको देवघाट धार्मिक पर्यटनको केन्द्र हो । ‘पछिल्लो समय पर्यटन कार्यक्रम विविधतापूर्ण बनेका छन्,’ महतोले भने, ‘यहाँ प्रकृति, संस्कृति, धार्मिकसँगै शिक्षा र स्वास्थ्य पर्यटन फस्टाइरहेको छ ।’ जिल्लामा गतवर्ष टिकट काटेर ३ लाख ६ हजार पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । महतोका अनुसार जिल्लाका मध्यवर्ती सामुदायिक वनमा निकुञ्ज प्रवेश गर्नेको तुलनामा दोब्बर पर्यटक घुम्ने गरेका छन् ।  

रैथानेदेखि विदेशी खाना

पर्यटकीय केन्द्र मेघौलीस्थित गोलाघाटमा कल्चरल भिलेज रिसोर्ट सञ्चालनमा ल्याएका विशाल कुमालले काठको बोर्डमा खानाका परिकार उल्लेख गरेर प्रवेशद्वारमै राखेका छन् । उक्त ‘मेनु’मा रैथाने खानाका परिकारबारे उल्लेख गरेका छन् । राप्ती र नारायणीका माछा, कुखुरा र हाँसदेखि घोंगीका परिकार उपलब्ध छन् ।

स्थानीय आदिवासी/जनजाति समुदायले रुचाउने घोंगीका परिकार अहिले सबैले मन पराउने गरेको विशालले बताए । उनका अनुसार मेनुमा घोंगीको साटो ‘किस फुड’ लेखिएको उनले बताए । ‘घोंगीलाई ओठले चुसेर खानुपर्ने भएकाले किस फुड नामकरण गरेको हुँ,’ उनले भने, ‘अहिले नेपालीले मात्र नभएर विदेशीसमेत रैथाने खानाका परिकार खोज्दै आउने गरेका छन् ।’ 

चितवनका सहरी र स्थापित पर्यटकीय गन्तव्यका मेनुमा परम्परागत नेपालीसँगै विभिन्न मुलुकका परिकार उल्लेख पाइन्छन् । भरतपुर, रत्ननगर, सौराहाका होटल र रेस्टुरेन्टमा स्वदेशी/विदेशी खाना प्रचलित छन् । त्यहाँ धेरै माग हुने थकाली खाना हुन् । त्यसैले चितवनको कुरिनटारदेखि पूर्व पिप्लेसम्म राजमार्ग दायाँबायाँ र सहरी क्षेत्रमा रहेका रेस्टुरेन्टमा ‘यहाँ थकाली खाना’ पाइन्छ भनेर उल्लेख गरिएको हुन्छ । तर, चितवन भनेपछि धेरैले अपेक्षा गर्ने भनेकै थारू समुदायका परम्परागत परिकार हुन् । जसले गर्दा चितवन निकुञ्ज आसपासका होटल, रेस्टुरेन्ट र होमस्टेमा थारू खानालाई प्राथमिकता दिइएको छ । 

‘यहाँ आउने पाहुनाले प्रायः घोंगी, चिचर, माछा खोज्नु हुन्छ,’ मेघौलीका होमस्टे व्यवसायी सोमलाल महतोले भने, ‘हाँस र कुखुरा खान टाढाटाढाबाट आउनुहुन्छ ।’ जनजाति समुदायका खानाका लागि चितवनको माडी, नवलपुरको अमलटारी, कठार, कुमरोजलगायत क्षेत्र प्रसिद्ध छन् । माछाका परिकारका लागि भरतपुरको शिवघाट प्रसिद्ध छ । ढिँडो र कुखुरा खानका लागि अहिले पहाडी गन्तव्यमा भीड लाग्न थालेको छ । 

चितवनको उत्तर शक्तिखोर, उपरदाङगढी, सिद्धी, पिप्ले, मुग्लिन, कुरिनटार, हात्तीवाङ, मायाटारमा अहिले मकै, कोदोको ढिँडो र लोकल कुखुरा खान जानेको भीड लाग्छ । सहरमा शाकाहारी परिकारका लागि भोजनालय र मिष्ठान्न भण्डार खुलेका छन् । 

होमस्टेदेखि तारेसम्म बास

दुई दशकअघिसम्म जिल्लामा स्तरीय होटल/रिसोर्टको नाम लिनुपर्दा तत्कालीन समयमा चितवन निकुञ्जभित्र सञ्चालनमा रहेका ७ वटा होटल स्मरण गरिन्थ्यो । त्यसबाहेक सौराहामा सीमित होटल खुलेका थिए । मुलुकमा सशस्त्र द्वन्द्वको अवधिसम्म आन्तरिक पाहुनालाई पर्यटक मान्ने चलन थिएन । विदेशी लक्षित होटल/रिसोर्टमा नेपाली पहुनालाई प्राथमकिता दिइँदैन थियो । 

सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति स्थापना भएपछि चितवनमा होटल/रिसोर्ट सञ्चालनको लहर चल्यो । साथै जिल्लाका पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिभराउ हुन थाले । सुरुमा सौराहामा धमाधम नयाँ होटल निर्माण गरिए । पहिले झुपडी रहेका होटललाई स्तरोन्नति गरियो । सेवासुविधा थप्न होडबाजी चल्यो । अहिले सौराहामा मात्रै दुई सयभन्दा बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । 

पछिल्लो एक दशकयता चितवनका राप्ती र नारायणी किनार स्तरीय होटल/रिसोर्टले भरिएका छन् । पूर्वमा कुमरोजदेखि पश्चिम नवलपुरसम्म आकर्षक र सुविधा सम्पन्न होटल खुलेका छन् । पर्यटन व्यवसायी वासु ढुंगानाका अनुसार चितवनमा एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका होटल सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय व्यवस्थापनमा सञ्चालन हुने होटलको संख्या थपिनेक्रम जारी छ । 

राप्ती तटअन्तर्गत पूर्व कठार, कुमरोज, सौराहा हुँदै पटिहानी, जगतपुर र मेघौलीमा स्तरीय होटल खुलेका छन् । यसबाहेक साना लगानीका होमस्टे र रिसोर्ट प्रशस्त छन् । नारायणी किनारका कुरिनटार, मुग्लिन, कविलास, ठिमुरा, भतेरी, पदमपुर, भरतपुर, गैंडाकोट हुँदै दक्षिण अमलटारीसम्म होटल खुलेका छन् । सहरी क्षेत्रमा समेत ठूला र तारेस्तरका होटल सञ्चालन गरिएका छन् । धेरै स्थानमा नयाँ निर्माण भइरहेका छन् । 

निकुञ्ज आसपास वन्यजन्तु सफारी लक्षित होटल/रिसोर्ट खुलेका छन् । सहरमा कर्पोरेट र माइस टुरिजम केन्द्रित संरचना निर्माण भइरहेका छन् । यीबाहेक पहाडी क्षेत्रका इच्छाकामना, हात्तीवाङ, उपरदाङगढी, मायाटारमा होमस्टे सञ्चालनमा छन् । माडी र नवलपुरको अमलटारीमा गरिएका होमस्टे व्यवस्थापनका हिसाबले मुलुकभर चिनिएका छन् ।

‘चितवन घुम्न आउनेलाई बासको अभाव छैन,’ भरतपुर गार्डेन रिसोर्टका जनरल म्यानेजर सुधीर उप्रेतीले भने, ‘आफ्नो खर्च क्षमताअनुसार होटल/रिसोर्ट रोजेर बस्न सक्नुहुन्छ ।’ उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि सडक आसपास पाहुनालाई खाना खुवाउने र बास बसाउन थालियो ।

अहिले पर्यटन क्षेत्रले स्वदेश र विदेशबाट आएका पाहुनलाई खाना र बासकै सेवा प्रदान गरिरहेको छ । ‘सडकका झुपडीबाट उठेर चितवनको पर्यटन महलमा पुगेको हो,’ उप्रेतीले भने, ‘जुन स्तरमा पुगे पनि हामीले बेच्ने भनेको सेवा हो, चितवनमा सेवामुखी व्यापार फस्टाइरहेको छ ।’

दिपेन्द्र बडुवाल कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully