चितवन कलाकारिताको हिसाबले धेरै धनी छ, यहााबाट वरिष्ठ अभिनेता ऋद्धिचरण श्रेष्ठ, मौसमी मल्ल, गणेश उप्रेती र सांगीतिक क्षेत्रमा गायक युवराज चौलागाईं, सुजन चापागाईं, लोकदोहोरी गायक मिलन लामा, संगीतकार अर्जुन पोखरेललगायत राम्रा–राम्रा व्यक्तिहरू उदाएका छन्
मेरो विद्यालय तहको पढाइ काठमाडौं र चितवनमा आधा–आधा भयो । अभिनयको हुटहुटी भने काठमाडौंमै हुँदा चलेको हो । त्यो बेला प्रायः सबै नाटक हेर्थे । फिल्मको क्रेजी थिए । एसएलसी चलिरहेका समयमा अमिताभ बच्चनको फिल्म रिलिज हुँदा हेर्न पुगेको थिएँ । फेरि काठमाडौंका गल्ली–गल्लीमा २ रुपैयाँ ५० पैसा लिएर भिडियोमा फिल्म देखाइन्थ्यो । त्यो हेर्न छुटाउँदिनथिएँ । चितवन भने दसैं–तिहारका बेला अनिवार्य रूपमा जान्थें ।
जाडो बिदा हुँदा पनि चितवन पुगिहाल्थें । सुरुमा पद्मोदय हाईस्कुलमा शिशुदेखि ३ कक्षासम्म पढें । तीन कक्षामा पढ्दै गर्दा निकै बिरामी भएँ । बिरामी भएपछि काठमाडौं फापेन भनेर बुवाले चितवन लग्नुभयो । कक्षा ४ देखि ७ सम्म नेपाल माध्यमिक विद्यालय चितवनमा पढें । सात पास भएपछि फेरि काठमाडौं आएर पद्मोदयमै भर्ना भएँ ।
रामनवमीको बेलामा भारतबाट नाटक देखाउन कलाकारहरू चितवन आउँथे । ‘पेट्रोल म्याक्स’ बालेर राति नाटक देखाइन्थ्यो । हेर्न छुटाउँदिनथिएँ । नाटक हिन्दी भाषामा हुन्थ्यो । चितवनमा जन्मेको भएर थारू भाषा राम्रोसँग आउँथ्यो । नाटक पनि थारू गाउँमै देखाइन्थ्यो । ‘रामायण’ का पात्रहरू राम र सीता राखेर नाटक देखाइन्थ्यो । सबैले मनपराउँथे । श्रद्धा गर्थे । त्यो बेला लाग्नुपर्ने यही क्षेत्र रैछ भन्ने लाग्यो । फेरि त्यो बेला काठमाडौंमा कमै नाटक देखाइन्थ्यो । गाउँघरमा नाटक देखाउने त झन् परको कुरा थियो । खाट जोडेर स्टेज बनाई ‘पेट्रोल म्याक्स’ बालेर मनपरेको फिल्मको ‘डाइलग’ भन्ने गरिन्थ्यो ।
भारतबाट चितवन आउने कलाकारहरू महिना दिनसम्म नाटक देखाउन व्यस्त हुन्थे । नाटक हेर्न छुटाउँदिनथिएँ । त्यसपछि ममा नाटकप्रतिको मोह बढ्दै गयो । फेरि त्यो बेला फिल्मको अर्कै खालको प्रभाव थियो । म आईएस्सी अस्कल क्याम्पसमा पढ्थें । अस्कलकै छेउमा मल्ल होटल थियो । जहाँ अमिताभ बच्चन ‘महान्’ फिल्मको सुटिङका लागि आएका थिए । त्यो बेला प्रयोगात्मक कक्षा हुन्थ्यो । सैद्धान्तिक पढाइको कक्षा छुटाए पनि फरक पर्दैनथियो । साथीहरूसँग पछि नोट लिएर पढ्थें । जजसलाई अभिनयको क्रेज थियो, फिल्म बढी हेर्थ्यौं । त्यसपछि क्याम्पसमा अनुरोध गरेर अमिताभलाई भेट्न गयौं । यो २०३९ सालको कुरा थियो ।
त्यो बेला लाइन लागेर अमिताभसँग हात मिलाउने सौभाग्य पाएँ । साथीहरूले अब हात धुँदै नधो भनेर जिस्काए । त्यो बेला चितवनका पानबहादुर क्षेत्री मिल्ने साथी हुनुहुन्थ्यो । उहाँ राम्रो अभिनय गर्नुहुन्थ्यो । तर, उहाँ अभिनय क्षेत्रमा आउनुभएन । म ठिकठिकै अभिनय गर्थें, यही क्षेत्रमा लागें ।
आफैं अभिनय गरेर चितवनमा नाटक देखाउन एकदमै मन थियो, त्यो पनि कलाकार उत्पादन गर्ने नारायणी कला मन्दिर परिसरमै । त्यसपछि व्यावसायिक रूपमा ‘रहरै भो’ नाटक देखाउनेमा पुग्यौं । जुन नाटक पहिला काठमाडौंमा देखाइएको थियो । यसको निर्देशन बद्रि अधिकारीले गर्नुभएको थियो । काठमाडौंमा २० दिनसम्म यो नाटक देखायौं ।
चितवनकै कलाकार लिएर मेरो निर्देशनमा नारायणी कला मन्दिरमा एक सातासम्म यो नाटक देखायौं । नाटकमा अनुप बराल (हाल नाडाका सदस्य), देविका ढकाललगायत कलाकारलाई अवसर दिएका थियौं । अग्रज कलाकार ऋद्धिचरण श्रेष्ठसँगको सहयोगमा हामी कला मन्दिरमा नाटक देखाउन सफल भएका थियौं ।
यो २०४५ सालतिरको कुरा थियो । पछि अस्कलबाट आईएस्सीको पढाइ सकेर बीएड पढ्न थालें । फिल्मतिर लागेर मैले सजिलो विषय रोजें । बुवाको चाहना डाक्टर पढाउने थियो । तर, म आफ्नो रुचिअनुसारको क्षेत्र फिल्म खेल्नेतर्फ लागें । पछि व्यावसायिक रूपमा नाटक गर्न पाइनँ । फिल्मतिरै सक्रिय भएँ । २०४६ सालमा पहिलो फिल्म ‘विजय पराजय’ बाट अभिनय यात्रा सुरु गरें । सुटिङका क्रममा चितवन जाने आउने भइरहन्थ्यो । मभन्दा पुरानो चितवनबाट कलाकारितामा मौसमी मल्ल लाग्नुभएको थियो ।
कलाकारिता क्षेत्रमा चितवनकै गणेश उप्रेती पनि हुनुहुन्थ्यो । उहाँसँग दुई वटा फिल्म गरे । ‘अबला’ फिल्म पूरै चितवनमा नै छायांकन गरिएको थियो । अमेरिका जानुअघिसम्म ३२ वटा फिल्ममा अभिनय गरें । त्यसताका मैले कुनै पनि निर्मातालाई डुबाइनँ । २०४८ सालमा प्रदर्शनमा आएको ‘मनकामना’ फिल्म धेरै नै चल्यो । त्यो बेला मलाई निर्माताले पारिश्रमिकका रूपमा २६ हजार दिनुभयो । फिल्म हिट भएपछि सबै कलाकारहरूलाई निर्माताले पछि त्यति नै रकम थप दिनुभयो । यो पैसाले पहिलो पटक मैले चितवनमा रंगीन टेलिभिजन किनेको थिएँ । तर, सबैभन्दा धेरै मनपराइएको फिल्म ‘प्रेम पिण्ड’ थियो । अमेरिका जानुअघि खेलेको फिल्म ‘रगत’ हो । अमेरिका १७ वर्ष बसें ।
नेपाल आउँदा पहिलो पटक खेलेको फिल्म ‘नाइँ नभन्नु–२’ हो । नेपाल नै बस्ने गरी आएपछि भने ‘प्रेम गीत’ फिल्ममा अभिनय गरें । अहिलेसम्म फिल्म र म्युजिक भिडियोसहित करिब १ सयको हाराहारी खेलिसकेको छु । अहिले दरबारमार्गमा नयाँ पुस्तालाई अभिनय सिकाउने गरी माला आर्ट्स सञ्चालनमा ल्याएका छौं । माला आर्ट्स चितवनमा पनि खोल्न मन छ । चितवन कलाकारिताको हिसाबले धेरै धनी छ । यो ठाउँबाट धेरै प्रतिभा जन्मिसक्नुभएको छ । अझै धेरै कलाकारहरू उत्पादन गर्न सकिन्छ ।
धेरै त अवसरको पर्खाइमा हुनुहुन्छ । चितवनबाट वरिष्ठ अभिनेता ऋद्धिचरण श्रेष्ठ, सांगीतिक क्षेत्रमा गायक युवराज चौलागाईं, सुजन चापागाईं, लोकदोहोरी गायक मिलन लामा, संगीतकार अर्जुन पोखरेललगायत राम्रा–राम्रा व्यक्तिहरू उदाउनुभएको छ ।
नृत्य सिकाउने थुप्रै संस्थाहरू खुलेका छन् । तर अभिनयका लागि चितवनमा थिएटरहरू खुलेका छैनन् । नारायणी कला मन्दिरको टिमसँग बसेर छिटै थिएटर खोल्नेबारे सल्लाह गर्नेछु । कला मन्दिरले राष्ट्रिय रूपमा कलाकार उत्पादन गर्न ठूलो भूमिका खेलेको छ । जुन संस्था २०१९ सालमा स्थापना भएको हो । अर्थात् यो संस्था स्थापना भएको ६२ वर्ष भइसकेको छ ।
चितवनमा अझै धेरै कलाकार उत्पादन गर्न सकिन्छ । तर सिकाउने र बाटो देखाउने मान्छेको आवश्यकता छ । त्यसैले एउटा थिएटर बनाउने चाहना छ । मुख्य लगानी जग्गामा हुने हो । धेरै फिल्म चितवनमा छायांकन हुने गरेका छन् । मैले अभिनय गरेका सय वटा फिल्म, भिडियोमध्ये २० वटा जति चितवनमा नै छायांकन गरिएको छ । पछिल्लो पटक ‘ह्रस्वदीर्घ’ फिल्म चितवनमा नै छायांकन भएको हो । जसमा मैले सौराहाको थारूका रूपमा अभिनय गरेको छु । यो फिल्म छायांकनका क्रममा पहिलो पटक बीसहजारी तालको सौन्दर्य प्रत्यक्ष रूपमा देख्न र अनुभव गर्न पाएँ । चितवन तराई त हो, तर दुई किमि अघि बढ्नेबित्तिकै पहाड आउँछ । जुन दृश्यले सबैलाई लोभ्याउँछ ।
नदीनाला नजिकै छन् । एउटा फिल्ममा आवश्यक पर्ने रहनसहन, कलासंस्कृतिदेखि लिएर सबै कुरा चितवनमा उपलब्ध छ । पर्यटकीय ठाउँहरू धेरै छन् । धार्मिक हिसाबले देवघाट, मौलाकालिका मन्दिर त्यहीं छन् । केबलकार त्यहीं छ । ५/७ किमि दायाँबायाँ जानेबित्तिकै सबै कुरा पाइन्छ । तर, अहिले पनि काठमाडौं मात्र सुटिङको हब बनिरहेको छ । एउटा गाउँ देखिने दृश्य खिच्न परे गाउँ र ठाउँ भेट्न मुस्किल पर्छ । यस्तो दृश्य चितवनमा प्रशस्त छन् । फिल्ममा आवश्यक पर्ने सबै कुरा चितवनमा भेटिन्छन् । त्यसो त तोरी फुल्दा चितवन त स्वर्ग नै लाग्छ । त्यो बेलाको मौसम मलाई एकदमै मनपर्छ । त्यसैले चितवनमा जे चाहियो, त्यही पाइन्छ ।
अबको मेरो उद्देश्य चितवनमा थिएटर खोल्ने नै छ । त्यसमा लागिरहेका छौं । जग्गा किन्न गाह्रो भए आफ्नै जग्गा (रत्ननगर र खैरहनी) मा बनाउन समस्या छैन । स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेका छौं । घर खैरहनी हो । गायन, अभिनय र संगीतमा प्रतिभावान् कलाकारहरू चितवनबाट उदाएका छन् । सबै खालको भेराइटिज् चितवनमा छ ।
चितवन ७८औं जिल्लाका रूपमा चिनिन्छ । सडक पूर्वाधारमा पनि अघि छ । आर्थिक, शैक्षिक, मेडिकल, पर्यटनमा मात्र होइन । चितवन कलाकारिताका रूपमा पनि धनी छ । चितवनको सौन्दर्यता बचाइराख्नुपर्छ । कलाकारिताका लागि ठूलो अवसर भएको जिल्लामध्ये चितवन एक हो ।
