कलाकारितामा उर्वर 

चितवन कलाकारिताको हिसाबले धेरै धनी छ, यहााबाट वरिष्ठ अभिनेता ऋद्धिचरण श्रेष्ठ, मौसमी मल्ल, गणेश उप्रेती र सांगीतिक क्षेत्रमा गायक युवराज चौलागाईं, सुजन चापागाईं, लोकदोहोरी गायक मिलन लामा, संगीतकार अर्जुन पोखरेललगायत राम्रा–राम्रा व्यक्तिहरू उदाएका छन् 

कार्तिक ८, २०८१

सरोज खनाल

Fertile in artistry

मेरो विद्यालय तहको पढाइ काठमाडौं र चितवनमा आधा–आधा भयो । अभिनयको हुटहुटी भने काठमाडौंमै हुँदा चलेको हो । त्यो बेला प्रायः सबै नाटक हेर्थे । फिल्मको क्रेजी थिए । एसएलसी चलिरहेका समयमा अमिताभ बच्चनको फिल्म रिलिज हुँदा हेर्न पुगेको थिएँ । फेरि काठमाडौंका गल्ली–गल्लीमा २ रुपैयाँ ५० पैसा लिएर भिडियोमा फिल्म देखाइन्थ्यो । त्यो हेर्न छुटाउँदिनथिएँ । चितवन भने दसैं–तिहारका बेला अनिवार्य रूपमा जान्थें । 

जाडो बिदा हुँदा पनि चितवन पुगिहाल्थें । सुरुमा पद्मोदय हाईस्कुलमा शिशुदेखि ३ कक्षासम्म पढें । तीन कक्षामा पढ्दै गर्दा निकै बिरामी भएँ । बिरामी भएपछि काठमाडौं फापेन भनेर बुवाले चितवन लग्नुभयो । कक्षा ४ देखि ७ सम्म नेपाल माध्यमिक विद्यालय चितवनमा पढें । सात पास भएपछि फेरि काठमाडौं आएर पद्मोदयमै भर्ना भएँ । 

रामनवमीको बेलामा भारतबाट नाटक देखाउन कलाकारहरू चितवन आउँथे । ‘पेट्रोल म्याक्स’ बालेर राति नाटक देखाइन्थ्यो । हेर्न छुटाउँदिनथिएँ । नाटक हिन्दी भाषामा हुन्थ्यो । चितवनमा जन्मेको भएर थारू भाषा राम्रोसँग आउँथ्यो । नाटक पनि थारू गाउँमै देखाइन्थ्यो । ‘रामायण’ का पात्रहरू राम र सीता राखेर नाटक देखाइन्थ्यो । सबैले मनपराउँथे । श्रद्धा गर्थे । त्यो बेला लाग्नुपर्ने यही क्षेत्र रैछ भन्ने लाग्यो । फेरि त्यो बेला काठमाडौंमा कमै नाटक देखाइन्थ्यो । गाउँघरमा नाटक देखाउने त झन् परको कुरा थियो । खाट जोडेर स्टेज बनाई ‘पेट्रोल म्याक्स’ बालेर मनपरेको फिल्मको ‘डाइलग’ भन्ने गरिन्थ्यो । 

भारतबाट चितवन आउने कलाकारहरू महिना दिनसम्म नाटक देखाउन व्यस्त हुन्थे । नाटक हेर्न छुटाउँदिनथिएँ । त्यसपछि ममा नाटकप्रतिको मोह बढ्दै गयो । फेरि त्यो बेला फिल्मको अर्कै खालको प्रभाव थियो । म आईएस्सी अस्कल क्याम्पसमा पढ्थें । अस्कलकै छेउमा मल्ल होटल थियो । जहाँ अमिताभ बच्चन ‘महान्’ फिल्मको सुटिङका लागि आएका थिए । त्यो बेला प्रयोगात्मक कक्षा हुन्थ्यो । सैद्धान्तिक पढाइको कक्षा छुटाए पनि फरक पर्दैनथियो । साथीहरूसँग पछि नोट लिएर पढ्थें । जजसलाई अभिनयको क्रेज थियो, फिल्म बढी हेर्थ्यौं । त्यसपछि क्याम्पसमा अनुरोध गरेर अमिताभलाई भेट्न गयौं । यो २०३९ सालको कुरा थियो । 

त्यो बेला लाइन लागेर अमिताभसँग हात मिलाउने सौभाग्य पाएँ । साथीहरूले अब हात धुँदै नधो भनेर जिस्काए । त्यो बेला चितवनका पानबहादुर क्षेत्री मिल्ने साथी हुनुहुन्थ्यो । उहाँ राम्रो अभिनय गर्नुहुन्थ्यो । तर, उहाँ अभिनय क्षेत्रमा आउनुभएन । म ठिकठिकै अभिनय गर्थें, यही क्षेत्रमा लागें । 

आफैं अभिनय गरेर चितवनमा नाटक देखाउन एकदमै मन थियो, त्यो पनि कलाकार उत्पादन गर्ने नारायणी कला मन्दिर परिसरमै । त्यसपछि व्यावसायिक रूपमा ‘रहरै भो’ नाटक देखाउनेमा पुग्यौं । जुन नाटक पहिला काठमाडौंमा देखाइएको थियो । यसको निर्देशन बद्रि अधिकारीले गर्नुभएको थियो । काठमाडौंमा २० दिनसम्म यो नाटक देखायौं । 

चितवनकै कलाकार लिएर मेरो निर्देशनमा नारायणी कला मन्दिरमा एक सातासम्म यो नाटक देखायौं । नाटकमा अनुप बराल (हाल नाडाका सदस्य), देविका ढकाललगायत कलाकारलाई अवसर दिएका थियौं । अग्रज कलाकार ऋद्धिचरण श्रेष्ठसँगको सहयोगमा हामी कला मन्दिरमा नाटक देखाउन सफल भएका थियौं ।

यो २०४५ सालतिरको कुरा थियो । पछि अस्कलबाट आईएस्सीको पढाइ सकेर बीएड पढ्न थालें । फिल्मतिर लागेर मैले सजिलो विषय रोजें । बुवाको चाहना डाक्टर पढाउने थियो । तर, म आफ्नो रुचिअनुसारको क्षेत्र फिल्म खेल्नेतर्फ लागें । पछि व्यावसायिक रूपमा नाटक गर्न पाइनँ । फिल्मतिरै सक्रिय भएँ । २०४६ सालमा पहिलो फिल्म ‘विजय पराजय’ बाट अभिनय यात्रा सुरु गरें । सुटिङका क्रममा चितवन जाने आउने भइरहन्थ्यो । मभन्दा पुरानो चितवनबाट कलाकारितामा मौसमी मल्ल लाग्नुभएको थियो । 

कलाकारिता क्षेत्रमा चितवनकै गणेश उप्रेती पनि हुनुहुन्थ्यो । उहाँसँग दुई वटा फिल्म गरे । ‘अबला’ फिल्म पूरै चितवनमा नै छायांकन गरिएको थियो । अमेरिका जानुअघिसम्म ३२ वटा फिल्ममा अभिनय गरें । त्यसताका मैले कुनै पनि निर्मातालाई डुबाइनँ । २०४८ सालमा प्रदर्शनमा आएको ‘मनकामना’ फिल्म धेरै नै चल्यो । त्यो बेला मलाई निर्माताले पारिश्रमिकका रूपमा २६ हजार दिनुभयो । फिल्म हिट भएपछि सबै कलाकारहरूलाई निर्माताले पछि त्यति नै रकम थप दिनुभयो । यो पैसाले पहिलो पटक मैले चितवनमा रंगीन टेलिभिजन किनेको थिएँ । तर, सबैभन्दा धेरै मनपराइएको फिल्म ‘प्रेम पिण्ड’ थियो । अमेरिका जानुअघि खेलेको फिल्म ‘रगत’ हो । अमेरिका १७ वर्ष बसें । 

नेपाल आउँदा पहिलो पटक खेलेको फिल्म ‘नाइँ नभन्नु–२’ हो । नेपाल नै बस्ने गरी आएपछि भने ‘प्रेम गीत’ फिल्ममा अभिनय गरें । अहिलेसम्म फिल्म र म्युजिक भिडियोसहित करिब १ सयको हाराहारी खेलिसकेको छु । अहिले दरबारमार्गमा नयाँ पुस्तालाई अभिनय सिकाउने गरी माला आर्ट्स सञ्चालनमा ल्याएका छौं । माला आर्ट्स चितवनमा पनि खोल्न मन छ । चितवन कलाकारिताको हिसाबले धेरै धनी छ । यो ठाउँबाट धेरै प्रतिभा जन्मिसक्नुभएको छ । अझै धेरै कलाकारहरू उत्पादन गर्न सकिन्छ । 

धेरै त अवसरको पर्खाइमा हुनुहुन्छ । चितवनबाट वरिष्ठ अभिनेता ऋद्धिचरण श्रेष्ठ, सांगीतिक क्षेत्रमा गायक युवराज चौलागाईं, सुजन चापागाईं, लोकदोहोरी गायक मिलन लामा, संगीतकार अर्जुन पोखरेललगायत राम्रा–राम्रा व्यक्तिहरू उदाउनुभएको छ । 

नृत्य सिकाउने थुप्रै संस्थाहरू खुलेका छन् । तर अभिनयका लागि चितवनमा थिएटरहरू खुलेका छैनन् । नारायणी कला मन्दिरको टिमसँग बसेर छिटै थिएटर खोल्नेबारे सल्लाह गर्नेछु । कला मन्दिरले राष्ट्रिय रूपमा कलाकार उत्पादन गर्न ठूलो भूमिका खेलेको छ । जुन संस्था २०१९ सालमा स्थापना भएको हो । अर्थात् यो संस्था स्थापना भएको ६२ वर्ष भइसकेको छ । 

चितवनमा अझै धेरै कलाकार उत्पादन गर्न सकिन्छ । तर सिकाउने र बाटो देखाउने मान्छेको आवश्यकता छ । त्यसैले एउटा थिएटर बनाउने चाहना छ । मुख्य लगानी जग्गामा हुने हो । धेरै फिल्म चितवनमा छायांकन हुने गरेका छन् । मैले अभिनय गरेका सय वटा फिल्म, भिडियोमध्ये २० वटा जति चितवनमा नै छायांकन गरिएको छ । पछिल्लो पटक ‘ह्रस्वदीर्घ’ फिल्म चितवनमा नै छायांकन भएको हो । जसमा मैले सौराहाको थारूका रूपमा अभिनय गरेको छु । यो फिल्म छायांकनका क्रममा पहिलो पटक बीसहजारी तालको सौन्दर्य प्रत्यक्ष रूपमा देख्न र अनुभव गर्न पाएँ । चितवन तराई त हो, तर दुई किमि अघि बढ्नेबित्तिकै पहाड आउँछ । जुन दृश्यले सबैलाई लोभ्याउँछ । 

नदीनाला नजिकै छन् । एउटा फिल्ममा आवश्यक पर्ने रहनसहन, कलासंस्कृतिदेखि लिएर सबै कुरा चितवनमा उपलब्ध छ । पर्यटकीय ठाउँहरू धेरै छन् । धार्मिक हिसाबले देवघाट, मौलाकालिका मन्दिर त्यहीं छन् । केबलकार त्यहीं छ । ५/७ किमि दायाँबायाँ जानेबित्तिकै सबै कुरा पाइन्छ । तर, अहिले पनि काठमाडौं मात्र सुटिङको हब बनिरहेको छ । एउटा गाउँ देखिने दृश्य खिच्न परे गाउँ र ठाउँ भेट्न मुस्किल पर्छ । यस्तो दृश्य चितवनमा प्रशस्त छन् । फिल्ममा आवश्यक पर्ने सबै कुरा चितवनमा भेटिन्छन् । त्यसो त तोरी फुल्दा चितवन त स्वर्ग नै लाग्छ । त्यो बेलाको मौसम मलाई एकदमै मनपर्छ । त्यसैले चितवनमा जे चाहियो, त्यही पाइन्छ । 

अबको मेरो उद्देश्य चितवनमा थिएटर खोल्ने नै छ । त्यसमा लागिरहेका छौं । जग्गा किन्न गाह्रो भए आफ्नै जग्गा (रत्ननगर र खैरहनी) मा बनाउन समस्या छैन । स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेका छौं । घर खैरहनी हो । गायन, अभिनय र संगीतमा प्रतिभावान् कलाकारहरू चितवनबाट उदाएका छन् । सबै खालको भेराइटिज् चितवनमा छ ।

चितवन ७८औं जिल्लाका रूपमा चिनिन्छ । सडक पूर्वाधारमा पनि अघि छ । आर्थिक, शैक्षिक, मेडिकल, पर्यटनमा मात्र होइन । चितवन कलाकारिताका रूपमा पनि धनी छ । चितवनको सौन्दर्यता बचाइराख्नुपर्छ । कलाकारिताका लागि ठूलो अवसर भएको जिल्लामध्ये चितवन एक हो ।

सरोज खनाल कलाकार हुन् ।

Link copied successfully