माडीलाई मणि बनाउने विषय २०७४ सालको संसदीय चुनावको प्रचारप्रसारका क्रममा खुब चर्चामा आयो । तर माडी आफैंमा मणि हो । मणि हुँदाहुँदै पनि मिल्काइएका कारण धूलोको पत्र जमेको जस्तै भएको हो माडी ।
माडीलाई मणि बनाउने होइन, यसको चमक र समृद्धिमा लागेको बेवास्ताको धूलोमैलो पुछ्ने–हटाउने काम गर्नुपर्ने भएको छ । माडी चितवनको पुरानो बस्ती हो । यहाँ परापूर्वकालदेखि नै आदिवासी समुदाय थारू जातिको बसोबास छ ।
माडी कति समृद्ध थियो भन्ने जान्न धेरै परसम्म जानुपर्दैन, ६०/६५ वर्षअघिको अवस्था हेरै नै काफी हुन्छ । चितवनमा आधुनिक बस्ती विकासको आरम्भ २०१३ सालमा सुरु भएको राप्तीदुन विकास परियोजनामार्फत भएको हो । त्यो समयमा चितवनमा माडीसहित ५ प्रगन्ना रहेका थिए ।
चितवनको सदरमुकाम भरतपुरदेखि करिब ४५ किलोमिटर दक्षिणमा पर्ने माडीमा आदिवासी थारू पहिल्यैदेखि बसेका थिए । २०१३ सालपछि पहाडी जिल्लाका बासिन्दा पनि बसाइँसराइ गर्ने क्रम बढ्यो । बसाइँसराइ गरेर आउनेहरूलाई माडीको मलिलो उब्जाउ माटोले लोभ्यायो । तर मलिलो माडीको अनुहार बिस्तारै मलिन बन्दै गयो ।
हुँदाहुँदा माडी कुनै बेला प्राकृतिक जेलको अवस्थामा पुग्यो । चितवन निकुञ्जको जंगलले घेरिएको ठाउँ हो, माडी । माडीवासीलाई घाम डुबेपछि निकुञ्जको बाटो प्रयोग गर्न बन्देज थियो । माडीमा दर्जनौं खहरे छन् । पुलबिनाका ती खहरे बर्खायाममा आवतजावत गर्न नसकिने गरेर उर्लन्छन् । अहिले निकुञ्जको बाटो राति १० बजेसम्म भए पनि प्रयोग गर्न पाइएको छ । धेरै खहरेहरूमा पुल बनिसके, केहीमा बन्दै छन् । जनजीवन पहिलाको भन्दा केही सहज छ । तर माडीमा बाधा अप्ठ्यारा कायमै छन् ।
माडीको विकासका लागि कृषि र पर्यटन नै मुख्य आधार हो । कृषिमा माछापालन फस्टाएको छ । ‘माडीका माछा’ उपभोक्ताको रोजाइमा पर्दछ, ब्रान्ड भएको छ ।पर्यटनको प्रशस्त सम्भावना बोकेको महत्त्वपूर्ण गन्तव्य हो, माडी । प्राचीन धार्मिक, जैविक विविधता एवं आदिवासी समुदायको कला–संस्कृतिले माडीमा पर्यटकलाई आकर्षित गरेको छ । चितवन निकुञ्ज र सोमेश्वर पहाडको हरियाली वनले घेरिएको माडी सुन्दर उपत्यका हो । करिब २५ किमि लम्बाइ र ७ किमि चौडाइ रहेको माडी धार्मिक र जैविक विविधताका साथै आदिवासी समुदायको वेशभूषा, रीतिरिवाजले भरिपूर्ण छ ।
राम जन्मभूमिको चर्चासँगै वाल्मीकि आश्रम, सीता गुफा र पाँचपाण्डव दस वर्ष वनबास बसेको क्षेत्र पनि यहीं पर्दछ । द्रौपदीनगर, भीमसेन इनार, ढुंगाको डुंगादेखि शनि, त्रिवेणी, शिवका मठमन्दिर प्रशस्त मात्रामा रहेको यो क्षेत्र ऐतिहासिक धार्मिक तपोभूमिका रूपमा समेत परिचित छ ।
सोमेश्वरगढीको ऐतिहासिक किल्ला, उत्तर बाहिनी नदीमा पाइने शालिग्राम, बस्तीको शिरदेखि पुछारसम्म बहने रिउ नदी, वैकुण्ठताल, धनलक्ष्मी छहरा यहाँका पर्यटकीय गन्तव्य हुन् । राप्तीदुन परियोजना लागू भएदेखि यस क्षेत्रमा बस्ती विकास भएको पाइए तापनि आदिवासी थारू समुदायको बसोबास भने यसअघिदेखि नै हुँदै आएको पाइन्छ । थारू, दराई, बोटे, मगर, गुरुङ, दुरा, नेवार, राई आदि जातजातिको आफ्नै किसिमको रीतिरिवाज र कला–संस्कृति पाइने यस क्षेत्रमा बाहुनक्षेत्री, दशनामीलगायत कामी, दमाईं, सार्की, गाइनेजस्ता जातजातिको समेत बसोबास छ ।
धार्मिक तथा रीतिरिवाजले मात्रै होइन, यस क्षेत्रको अर्को पहिचान भनेको प्राकृतिक मनोरम हरियाली र जंगली जनावरको बासस्थानले भरिपूर्ण छ । चारैतिर वनजंगलको हरियाली, सफा खोलानाला, वन्यजन्तु चरनका लागि घाँसेमैदान, स्वच्छ हावापानीका साथै जंगलमा पाइने एकसिंगे गैंडा, पाटे बाघ, चित्तल, मृग, गौरीगाईका साथै थुप्रै प्रजातिका चराचुरुंगी देख्न पाइने भएकाले पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको हो ।
माडी वन्यजन्तु आक्रमणबाट अति नै आहत हुने ठाउँ हो । अब पर्यटकलाई वन्यजन्तु देखाएर आर्जन गर्ने दिशामा माडी लागेको छ । गाउँबस्तीले भरिएको माडी क्षेत्र सुन्दर, शान्त र आनन्ददायक छ । प्रदूषण र कोलाहलरहित यस क्षेत्रमा बस्दा ताजापन महसुस हुने चितवन राष्ट्रिय निकुञ्जका संस्थापक रामप्रीत यादव बताउँछन् ।
पर्यटनको विकास र विस्तारमा तीनै तहको सरकार मिलेर काम गर्न आवश्यक रहेको माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोको मत छ । माडीमा सामुदायिक होमस्टेहरूको विकास भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । माडीको पर्यटन विकासमा छिमेकी मुलुक भारतका पर्यटकलाई समेत भित्र्याउन जरुरी छ ।
