धामहरूको धाम  

पर्या–पर्यटनमा नेपालको उत्कृष्ट गन्तव्य चितवनमा प्राचीन पवित्र धार्मिक स्थलहरूको महत्त्व उल्लेखनीय 

कार्तिक ८, २०८१

विश्वराज सुवेदी

The abode of dhams

ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न चितवनमा पर्याप्त धार्मिक स्थल छन् । यहाँ समुद्री सतहबाट १४१ मिटरदेखि १९४७ मिटरसम्म उचाइमा २२३८ वर्गकिमि क्षेत्रमा चुरे–भावर प्रदेश, तराई प्रदेश र महाभारत लेक गरी ३ किसिमका भूभाग छन् ।

करिब दुईतिहाइ क्षेत्रफल विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलगायत वनजंगल, पहाड एवम् सिमसार क्षेत्रले ओगटेको छ । पर्या–पर्यटनमा नेपालको उत्कृष्ट गन्तव्य चितवनमा प्राचीन पवित्र धार्मिक स्थलहरूको महत्त्व उल्लेखनीय छ । 

ऐतिहासिक, पुरातात्त्विक, एवम् धार्मिक महत्त्व बोकेका पवित्र धार्मिकस्थल भ्रमण गर्न पर्यटक आउँदा गन्तव्यको व्यापक प्रचारप्रसार हुन्छ । सरोकारवालाले धार्मिक सम्पदाहरूको संरक्षणमा जोड दिन्छन् । चितवनको पर्यटन क्षेत्रमा वन्यजन्तु पर्यटनपछि महत्त्वपूर्ण मानिने धार्मिक पर्यटनको विकासबाट चितवनलाई सदाबहार गन्तव्यका रूपमा प्रवर्द्घन गर्न सकिन्छ । 

कला, संस्कृति, परम्परा आदिको संरक्षण एवं प्रवर्द्धन गर्नाले पिछडिएका स्थानमा समेत पूर्वाधार विकास भई पर्यटन विकासबाट स्थानीय जनता लाभान्वित हुन्छन् । तर दिन प्रतिदिन पौराणिक मूर्ति तथा मन्दिरका बहुमूल्य सामानको चोरी निकासी रोक्न एवम् धार्मिक स्थलहरूको अतिक्रमण रोकी सीमांकन गर्न उत्तिकै चुनौती छ । प्रायः दुर्गम स्थानमा रहेका पवित्र धार्मिक स्थलमा पूर्वाधार विकास गरी पुरातात्त्विक केन्द्रबाट अध्ययन गरी प्रमाणित गर्न पनि चुनौती नै छ । स्थानीय रूपमा चितवनमा प्रशस्त मठमन्दिर छन् । तर यहाँ केही प्रमुख धार्मिक सम्पदाबारे चर्चा गरिएको छ—  

देवघाटधाम

भरतपुरदेखि ६किमि उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको संगस्थल देवघाटधाम धार्मिक महिमा बोकेको पवित्र स्थल हो । समुद्री सतहबाट २ सय मिटरदेखि ५ सय ७५ मिटरसम्मको उचाइमा अवस्थित यस धामलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ ।

चितवन र तनहुँतर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश संन्यास आश्रम, राम मन्दिर, यज्ञशाला, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थल छन् । वशिष्ठ ऋषि, राजा मणिमुकुन्दसेन, प्रताप शाह, लेखनाथ पौड्याल, सिद्ध गलेश्वरबाबा जस्ता व्यक्तित्वले जपतप गरी सिद्धि प्राप्त गरेको यस पुण्यभूमिको बारेमा हिमवत्खण्ड नेपाल महात्म्यमा महादेव शंकर आफ्ना गणहरूका साथ यसै क्षेत्रमा बसेको कुरा उल्लेख छ । 

चितवन, तनहुँ र नवलपुर तीन वटा जिल्लामा करिब ५४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट हरिहर क्षेत्र, शालग्राम क्षेत्र, चक्रतीर्थ, बराह क्षेत्र, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, तपोवन, प्रयाग, सिद्धाश्रम यज्ञभूमि आदि नामले पनि चिनिन्छ। माघे संक्रान्तिको मेलामा भारतदेखि तीर्थालु भक्तजनहरू आउने चलन छ । र,साउनमा पनि देवघाटधाममा लाखौं भक्तजनस्नान गर्न आउँछन् । यहाँ माघे संक्रान्ति मात्र नभई साउनको पवित्रता र धार्मिक महत्त्वका कारण तीर्थालुहरूको भीड लाग्ने गर्दछ। 

दामोदरकुण्डबाट बगेर आउने विष्णुमूलक (हर) कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूली पवित्र धार्मिक स्थल देवघाटधाममा भेट भएकाले यही हरिहर क्षेत्रका सम्पदा समेटेर धार्मिक प्रवर्द्धन गर्न हरिहर परिपथसमेत निर्माण गरिएको छ । कालीगण्डकीले आफ्ना दुवै किनारमा अनेक सभ्यता र सांस्कृतिक मानवबस्ती समेटेको छ । लोमान्थाङ, रानीमहल, मुकुन्दसेन दरबार जस्ता ऐतिहासिक स्थल, तातोपानी, थाकखोला, त्रिभुवनटार जस्ता पुरातात्त्विक स्थलहरू, जोमसोम, वेणी रिडी, नारायणगढ, गोलाघाट जस्ता मानव सभ्यताका बस्ती हरिहर परिपथमा पर्दछन् ।

हरिहर परिपथमा पर्ने प्रमुख धार्मिक स्थल दामोदर कुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वरधाम, पञ्चकोटधाम, कुँडुले, शालग्राम संग्रहालय, बागलुङ कालिका, पुलह आश्रम, सहस्रधारा, गलेश्वर गुफा, मोदीवेणी, ज्यामिरघाट, पूर्तिघाट, सेतीवेणी, रुद्रवेणी, भैरवस्थान, रानीघाट, राम्दीघाट, केलादीधाम, देवघाटधाम, शिवघाट, कालिका, ब्रह्मस्थान, भोजबाबा, गजेन्द्रमोक्षधाम, वाल्मीकि आश्रम त्रिवेणीधाम आदि हुन् ।

वागीश्वरी

देवघाटधाम नजिकै रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल वागीश्वरी योगी नरहरिनाथको तपोभूमि हो । प्राचीन मन्दिरहरूको भग्नावशेष रहेको यस स्थलमा भक्तजनहरूले मन्दिरहरू निर्माण गरी गौ संरक्षण केन्द्र स्थापना गरेका छन् । मानव जातिका लागि धार्मिक एवम् स्वास्थ्यका दृष्टिले गौमूत्र, गोबर, दुग्धपदार्थ आदिबाट फाइदा हुने भएकाले योगी नरहरिनाथले वागीश्वरीमा गौ संरक्षण केन्द्रको परिकल्पनागरेका हुन् । प्राकृतिक उपचार होस् वा आयुर्वेद पद्धतिको सुरुवात वागीश्वरीमै भइसकेको छ ।

सोमेश्वर कालिका

पौराणिक ग्रन्थ बराहपुराण तथा गण्डकी महात्म्यमा सोमेश्वरलाई शिवको बासस्थानका रूपमा उल्लेख गरेको पाइन्छ । नेपाल–भारत सिमानाको ४५ नं स्तम्भनजिक पर्ने कालिका मन्दिरमा भारतबाट समेत हजारौं भक्तजन दर्शन गर्न आउँछन् ।सामरिक दृष्टिले महत्त्वपूर्ण यो गढी नेपाल सरकारले छनोट गरेका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत छ । 

यहाँ रहेको प्राचीन सोमेश्वर क्षेत्रबारे बराहपुराण तथा शिवपुराणमा उल्लेख छ । समुद्री सतहदेखि ८ सय मिटर उचाइमा रहेको प्राचीन पीठ यस क्षेत्रमा भग्नावशेषका रूपमा कुँदिएका सुन्दर पत्थरहरू, पुराना इँटा, सोमेश्वरी कालिका, पुराना तरबार, ढुंगाको ठूलो डुंगा, इनार, सीमास्तम्भ, ढुंगाको पोखरी, झरना आदि ऐतिहासिक तथा पुरातात्त्विक बस्तीको अवलोकन गर्न सकिन्छ। 

पाण्डव नगर

माडी नगरपालिका–१ मा पर्ने पाण्डवनगर क्षेत्रमा गोद्दकनाथ, पञ्चपाण्डव मन्दिर तथा परशुराम कुण्ड जस्ता पवित्र धार्मिक स्थल पर्दछन् । विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पाण्डवहरू यस क्षेत्रमा बसेको हुँदा पञ्चपाण्डव मन्दिर निर्माण गरिएको हो । मन्दिर नजिकै ११ फिट गोलाइ तथा ५० फिट गहिराइ भएको ढुंगाले बनाएको प्राचीन इनार छ । यहाँबाट करिबदुई घण्टा पैदल हिँडेपछि परशुराम कुण्ड पुगिन्छ । 

समुद्री सतहदेखि ७ सय मिटरको उचाइमा रहेको परशुराम कुण्डमा देवता खोलाबाट बनेको झरना पनि मिसिएको छ । ऋषि परशुरामले प्रायश्चित्त गर्न निर्माण गरेका भारतवर्षका १०८ कुण्डमध्ये एक यो परशुराम कुण्ड पनि रहेको बताइन्छ । सबै प्रकारका पर्यटकलाई आनन्द प्रदान गर्ने यस्ता धार्मिक सम्पदाहरू अवलोकन गर्न भारतबाट ठूलो संख्यामा भक्तजन आउँछन् । द्रौपदी कुण्ड, युधिष्ठिरको छाता, विराट् राजाको गोठ आदि यहाँका ऐतिहासिक सम्पदा हुन् । 

वाल्मीकि आश्रम

त्रिवेणीधामबाट २ किमि पूर्व रहेको ऐतिहासिक धार्मिक केन्द्र वाल्मीकि आश्रममा हरेक भग्नावशेषले तीर्थयात्रीलाई उत्सुकता प्रदान गर्दछ । यहाँ वाल्मीकि, लव, कुश, सीता, हरिहरनाथका मन्दिर, मन्दिरको भित्री पर्खालमा शिवलिंग, बराहअवतार, नवग्रह, विष्णु, लक्ष्मीनारायण, वामन अवतार, हनुमान आदिका प्रस्तर मूर्ति सजाएर राखिएका छन् । साथै अग्निकुण्ड, सीतावाटिका, लवकुश पाठशाला, यज्ञशाला, गौशाला, धर्मशाला आदि विभिन्न रूपका भग्नावशेष यहाँका धार्मिक सम्पदा हुन् । वाल्मीकि ऋषिले ध्यान गरेको यस क्षेत्रमा पर्यटकहरूले साहसिक पैदलयात्रा, ट्रेकिङ, वन्यजन्तु, चराचुरुंगी आदि अवलोकन गर्न सक्छन् । गजेन्द्रमोक्षधाममा रहेको धर्मशाला तथा साना होटल सुविधा भएको वाल्मीकि क्षेत्र भारतीय पर्यटकहरूको समेत मुख्य रोजाइ भएको धार्मिक गन्तव्य हो । 

त्रिवेणीधाम

नेपाल र भारतको सिमानामा पर्ने त्रिवेणीधाम नारायणी, सोना र तमोसा नदीको संगम हो । हिन्दुहरूको पवित्र तीर्थस्थल यो धाम प्राकृतिक सुन्दरताको अनुपम उपहार चुरे हिमशृंखलाको सामीप्यमाछ । विशेषतः माघे औंसी र चैते दसैंमा भारत र भुटानबाट हजारौंसंख्यामा भक्तजन त्रिवेणीधाम मेलामा सहभागी हुन्छन्। 

यसरी भारतका प्रमुख धामहरूमा रामजन्मभूमि अयोध्याधाम पर्दछ । नेपालको नजिक पर्ने यस पवित्रस्थलमा निर्माण गरिएको रामायण परिपथसँग हरिहर परिपथको समन्वय गर्ने सके वार्षिक ५ करोडभन्दा बढी दर्शनार्थी ल्याउन सकिन्छ ।

काशीविश्वनाथ, तिरुपति बालाजी, श्री साईबाबा मन्दिर, विष्णोदेवी मन्दिर, ऋषिकेश, द्वारका, हरिहर, मथुरा, प्रयागराज, उज्जैन, चारधाम आदि सयौं धार्मिक स्थलमा करोडौं दर्शनार्थीजान्छन् । विभिन्न धार्मिक ग्रन्थहरूका आधारमा सबैधामको दर्शन गरेपनि देवघाटधाममा स्नान नगरी मोक्ष प्राप्त गर्न सकिँदैन भन्ने मान्यता छ । तसर्थ सबै धामहरूको धाम देवघाटधाम हो भन्ने विषय प्रचारप्रसार गरी अघि बढ्न सके यसले नेपालको पर्यटनमा ठूलो भूमिका खेल्न सक्छ । 

विश्वराज सुवेदी पर्यटनविद् हुन् ।

Link copied successfully