चरा चिनाउँदै चितवन

नेपालमा हालसम्म ८ सय ९६ प्रजातिका चरा पाइएको रेकर्ड छ, जसमध्ये चितवनमा मात्रै ६ सय ६४ प्रजातिका चरा पाइन्छन्

कार्तिक ८, २०८१

मनोज पौडेल

Bird identification Chitwan

विश्वमै दुर्लभ घाँसे चरा ‘खरमुजुर’ हेर्न भनेरै बेलायती लेखक पिटर क्लेमेन्ट सन् २००५ मा नेपाल आए । चाँचर प्रजातिका चरासम्बन्धी पुस्तकका लेखक क्लेमेन्ट उक्त चरा हेर्न चितवन आइपुगेका थिए । पहिलो दिन नदेखेपछि उनी बेलायतदेखिको यात्रा सफल हुँदैन कि भनेर चिन्तित बने ।

तर, दोस्रो दिनको बिहान सुखद रह्यो । घाँसमा चर्दै गरेको खरमुजुर धीत मार्ने गरी हेर्न पाउँदा आल्हादित भए । यो क्षण उनका लागि अविष्मरणीय बन्यो ।

उनी जस्तै ‘बर्डस् अफ साउथ इस्ट एसिया’ पुस्तकका लेखक अमेरिकी नागरिक वेन किङ पनि तीन वटा चरा हेर्न सन् १९९९ मा नेपाल आए । लाङटाङमा ‘गुल सर्टविङ’ र ‘नेपाली डिकुरेभ्याकुर’ चरा देखेर खुसी भएका उनी ग्रासल्यान्ड चरा हेर्न चितवन पुगे । विश्वमै दुर्लभ ‘काँसेघाँस चरी’ देखिन्छ कि देखिँदैन भन्ने उनमा निकै कौतूहल थियो । चितवन राष्ट्रिय निकुञ्जमा पहिलो दिनमै उक्त मनमोहक चरा देखपछि उफ्रिँदै खुसी भए । एक सातामै आफूले चाहेको ३ वटै चरा देखेपछि खुसी हुँदै फर्किए । 

उनीहरू जस्तै चरा हेर्न धेरै स्वदेशी तथा विदेशी चितवन पुग्छन् । विविध चराको बासस्थान चितवन ग्रासल्यान्ड, वनजंगल, पानी र फामल्यान्डका चरा अवलोकन लागि देशकै उत्कृष्ट स्थल बनेको छ । नेपालमा हालसम्म ८ सय ९६ प्रजातिका चरा पाइएको रेकर्ड छ । चितवनमा मात्रै ६ सय ६४ प्रजातिका चरा पाइने रेकर्ड रहेको चराविद् हठन चौधरीले बताए । अर्का चराविद् टीकाराम गिरीले पनि चितवनमा ६ सय ५५ भन्दा बढी चरा पाइएको अभिलेख रहेको जानकारी दिए । 

सम्बन्धित समाचार

Bird identification Chitwanचौधरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र मात्रै ६ सय प्रजातिका चरा पाइएको रेकर्ड छ । यहाँ हिउदे आगन्तुक २ सय ९, ग्रीष्म आगन्तुक ३६, बटुवा प्रजातिका ८ र कहिलेकाहीं आउने २८ प्रजातिका चरा पाइने उनले बताए । त्यस्तै रैथाने र स्थानीय रूपमा बसाइँसराइ गर्ने ३ सय ८३ प्रजातिका चरा चितवनमा पाइने उनको भनाइ छ ।

चितवनमा विश्वमै दुर्लभ २९ प्रजाति र राष्ट्रिय रूपमा दुर्लभ एक सय २२ प्रकारका चरा पाइन्छन् । यहाँ नेपालको संरक्षित पन्छीहरू ९ मध्ये ६ वटा राजधनेश, सानो खरमुजुर, खरमुजुर, सारस, सेतोकण्ठे गरुड र कालो गरुड पाइन्छन् । देशका विभिन्न भागबाट समेत चरा चितवन आसपास प्रजनन गर्न आउने गरेको चराविद्हरू बताउँछन् । 

तराईको समथर फाँटदेखि महाभारत शृंखलासम्मको हावापानीका चरा यहाँ पाइन्छन् । नेपालमा चितवनमा मात्रै भेटिने ६ प्रजातिका चरा छन् । ५ प्रजातिका घाँसे चरा हुन् । भ्याकुर प्रजातिको ‘खडाइ भ्याकुर’ चितवनमा मात्रै पाइएको रेकर्ड छ । विश्वमै दुर्लभ यो भ्याकुरका अन्य प्रजातिभन्दा मसिनो, घुम्रिएको कालोकालो ठोंड, फ्रुसो खैरो कान ढकनी, सेतोसेतो कण्ठ र गाढामैलो तल्लो भाग रहेको यो सुन्दर चरा हो ।

Bird identification Chitwanविश्वमै दुर्लभ ‘घेघरीघाँसे फिस्टो’ पनि चितवनमा मात्रै पाइन्छ । जंगल नजिकका घाँसे मैदानमा बस्ने यो चरा मैलो सुन्तला रंगको आँखीभौं, निख्खर नीलो फुस्रो तालु र पिठ्युँ तथा ढाड बढी कालो खैरो देखिने मनमोहक पन्छी हो । ‘कैलोकण्ठे तोरीगाडा’ र ‘घेघरीझाँडी फिस्टो’ चरा पनि यहाँ मात्रै पाइन्छन् । ‘कटुसवनद माटीकोरे’ र ‘सिम्लिकाने लियो चुच्ला’ पनि यहाँ मात्रै पाइन्छन् । सिम्लिकाने चुच्ला चरा चितवनको उपरदाङगढीमा देखिएको थियो । 

त्यस्तै ‘नर्कट भ्याकुर’ चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइन्छ । पहेंलो ठोड, आँखीभौं, कण्ठ र छाती फ्रुस्रो, हल्का कलेजी रंगको खुट्टा र औंला भएको यो चरा विश्वमै दुर्लभ मानिन्छ । त्यस्तै नेपालमा विरलै देखिने ‘काँसेघाँस चरी’ चितवनमा धेरै मात्रामा पाइन्छ । विश्वमै दुर्लभ ग्रीष्म आगन्तुक यो चराले झाँडी भएको अग्लो घाँसका मैदान मन मराउँछ । बच्चा कोरल्ने समयमा यो प्रजातिका भालेले करिब २० मिटरभन्दा माथि उडेर गीत गाउँदै आफ्नो प्रजनन क्षेत्रमाथि फराकिलो गरी उड्ने र विस्तारै तल झर्ने दृश्य निक्कै मनमोहक हुन्छ । 

Bird identification Chitwanतराई क्षेत्रमा सबैभन्दा बढी जैविक विविधता भएको उपत्यका चितवन हो । चितवन संस्कृति, सुन्दरता र जैविक विविधताको सम्मिश्रण स्थल रहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । यहाँ तराईदेखि हिमाली चरा देखिने उनको भनाइ छ । हिमनदी पग्लेर आउने, महाभारत र चुरेबाट आएको नारायणी नदी, राप्ती नदी र रिउ खोलाले सिञ्चित चितवनको जस्तो जैविक विविधता अन्यत्र विरलै पाइने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका राप्तीनदी, लामीताल, तमोर ताल, बीसहजारी ताल, कसरा, गोलाघाट र त्रिवेणीलगायत क्षेत्र चराका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । बरन्डाभार क्षेत्रको बाटुली ताल, दिब्यनगर, गढीसिराइचुली र चुरिया क्षेत्र पनि चरा अवलोकन गर्न आउने पर्यटकका लागि आकर्षणमा पर्छन् । जाडो मौसममा आउने चरा चिसो छल्न आउने गर्छन् भने गर्मी मौसममा चितवन आउने कतिपय चराले बच्चा कोरलेर फर्कने गरेका छन् । 

नेपालमा मात्र पाइने काँडेभ्याकुर चरा हेर्न इच्छाकामना गाउँपालिकाको उपरदाङगढी पर्यटकको पहिलो रोजाइमा पर्ने चराविद् टीकाराम गिरीले बताए । ‘ऐतिहासिक पर्यटकीय स्थल उपरदाङगढी पुग्ने जोकोही पनि चरा नहेरी फर्कंदैनन्,’ उनले भने, ‘जो पुग्छन् उत्साहित र रोमाञ्चित हुँदै फर्कन्छन् ।’ 

उपरदाङगडी काँडेभ्याकुरको मुख्य बासस्थान हो । त्यहाँ आफूले २० वर्षदेखि विदेशी पाहुनालाई काडेभ्याकुर देखाउन लगिरहेको उनले बताए । घुम्रिएको कालो ठोड, अनुहारमा सेतो, खैरो जीउ, सादा रङका आँखा र धर्का भएको छाती हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ  । 

Bird identification Chitwanमध्यपहाडी इलाकामा बस्न रुचाउने काडेभ्याकुर गर्मीयाममा एक हजार ५ सय मिटरदेखि दुई हजार एक सय मिटरको उचाइमा बस्छ । हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्ने गर्छ । चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चासहित काडेभ्याकुर देखिएको उनले बताए । 

चितवन सबै चराका लागि चाहिने राम्रो ‘ह्याबिटेड’ रहेको चराविद् गिरीले बताए । खानपान, बासस्थान र सुरक्षाका लगायत कुरा राम्रो पाउने हुँदा चराहरू यहीं बस्न मन पराउने उनले बताए । त्यसैले चराप्रेमी पर्यटकका लागि चितवन मुलुककै उत्कृष्ट स्थल बनेको उनले बताए । 

समुद्रको सतह एक सय ५० मिटरदेखि एक हजार ९ सय ५० मिटर उचाइसम्ममा पर्ने चितवनका भूभागमा विविध चरा देखिन्छन् । होचो ठाउँ घाँसेमैदान र वनमा पाइने विश्वमै दुर्लभ ‘राज धनेश’देखि अग्लो ठाउँ गढी सिराइचुलीमा ‘सिपाही तितु चरा’का चित्ताकर्षक भाले र पोथी मज्जाले देख्न पाइन्छ । तराईदेखि महाभारत शृंखलासम्मका चराले लोभ्याउँछ । ८/९ वर्षअघि नेपालमा पत्ता लागेको नयाँ चरा ‘हिमाली मुसेफिस्टो’ पनि चितवनका पदमपुर र माडीमा पाइन्छन् । यो चरा अन्नपूर्ण संरक्षण क्षेत्रमा पत्ता लागेको हो ।  

Bird identification Chitwan‘सिकारी चराका’ लागि पनि चितवन उत्तिकै महत्त्वपूर्ण मानिन्छ । सिकारी चराहरूको अध्ययन अनुसन्धान गर्ने अमेरिकी संस्था पेरिग्रिन फन्डले गरेको अनुसन्धानमा विश्वकै १० महत्त्वपूर्ण सिकारी चरा पाइने ठाउँमा चितवनको बरन्डाभार क्षेत्र पनि पर्छ । माछाकुल चील, लघुमहाचील, गोमायु महाचील, जीवाहार महाचील र रणमहचील यहाँ पाइन्छ । त्यस्तै राजगिद्ध, डंगर गिद्ध, हिमाली गिद्ध र खैरोगिद्ध पनि यहाँको आकर्षणमा पर्छन् । 

लालीगुराँस फुल्ने र काफल फल्ने विकट पहाडदेखि तोरी फुल्ने र नरिवल फल्ने समथर भूभाग यहीं पर्छ । एकै जिल्लामा ७/८ डिग्रीसम्म तापक्रममा विविधता पाइन्छ । तल्लो तटीय क्षेत्रमा उखरमाउलो गर्मीले सताउँदा यहाँका पहाडी भूभागमा चिसो हावा सिरेटो चलिरहन्छ । यसले यहाँका चरामा पनि उस्तै विविधता थपेको छ ।   

मनोज

Link copied successfully