संकटकै बेला सञ्चार सेवा अवरुद्ध

काठमाडौं उपत्यकाका धेरै ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन र इन्टरनेट सेवामा समस्या, कतिपय हिमाली भेगमा सोलार ऊर्जाबाट सञ्चालन हुने टेलिफोनका टावर पछिल्ला सट डाउन 

आश्विन १३, २०८१

सजना बराल

Communication services are interrupted during the crisis

काठमाडौँ — दुई दिनको निरन्तर वर्षापछि देशका विभिन्न स्थानमा सञ्चार सेवा प्रभावित बन्यो । शनिबार काठमाडौं उपत्यकाका आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन र इन्टरनेट सेवामा समस्या आयो । कतिपय हिमाली भेगमा सोलार ऊर्जाबाट सञ्चालन हुने टेलिफोनका टावर पछिल्ला केही दिन निरन्तर घाम नलागेपछि सट डाउन भए ।

विद्युत् र सोलार पावर नहुँदा ट्रान्सरिसिभर स्टेसन (बीटीएस) साइट डाउन भएको र सञ्चार सेवामा समस्या आएको टेलिकम कम्पनीहरूले जनाएका छन् ।

विभिन्न ठाउँमा बिजुली नभएकाले बीटीएस टावर डाउन भएपछि टेलिफोन सञ्चार अवरुद्ध हुन थालेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले जानकारी दिएको छ । कम्पनीका अनुसार शनिबार विशेषगरी ललितपुर क्षेत्रमा धेरै समस्या देखियो । ‘वाग्मती र कोशीमा हामीलाई सेवा सञ्चालनमा राख्न चुनौती भयो,’ नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले भने, ‘काठमाडौं उपत्यकाभित्र ललितपुरमा समस्या भयो ।’ 

काठमाडौंमा पनि अरू बेलाभन्दा धेरै बीटीएस साइटहरू डाउन भएको प्रवक्ता ढकालले जनाए । ब्याट्री ब्याकअपले धान्न छाडेपछि अझै धेरै साइट डाउन हुन सक्ने जोखिम रहेको उनले बताए । ‘हामीले ब्याकअप प्लानका रूपमा सम्भव हुने ठाउँमा जेनेरेटर चलाएर भए पनि साइट अप गर्ने कोसिस गरिरहेका छौं,’ उनले भने, ‘तर सबैतिर जेनेरेटर चलाउन सम्भव हुँदैन ।’ यसले गर्दा सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको उनले बताए ।

विशेषगरी पूर्वी क्षेत्रका माथिल्लो भेगमा सञ्चार सेवा प्रभावित भएको प्रवक्ता ढकालको भनाइ छ । ‘त्यहाँ सोलारबाट टावर सञ्चालन हुने भएकाले हिजो, अस्तिदेखि नै घाम नलाग्दा, ऊर्जा छैन,’ उनले भने, ‘सेवा अवरुद्ध भएका ठाउँमा विपद्कालीन सूचना पठाउन सकिएको छैन ।’ इन्टरनेट सेवा नचलेकामा पनि प्रयोगकर्ताले गुनासो गरिरहेको उनको प्रतिक्रिया छ । बाढी, पहिरो, डुबान र मौसमसम्बन्धी जानकारीमूलक सूचना प्रवाह गर्न नेपाल टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहेको जनाएको छ । टेलिकमले एसएमएस र रिङ ब्याक टोनबाट पनि सन्देश प्रवाह गरिरहेको छ ।

शनिबार बिहान केही समय अवरुद्ध बनेको एनसेलको सेवा दिउँसोदेखि पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको थियो । आफ्ना प्राविधिक टोलीको प्रयास र नेपाल विद्युत् प्राधिकरणको सहयोगले सेवा सुरु गर्न सकिएको एनसेलले जनाएको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा टेलिफोन र इन्टरनेटका तारहरूमा क्षति पुग्ने, डुबानका कारण विद्युत् सेवा अवरुद्ध हुँदा बीटीएस टावर डाउन भई फोन नलाग्ने र बिजुली नभएकाले इन्टरनेट सेवामा समस्या देखिएका थिए । 

विद्युत् अवरुद्ध भएकाले र घाम नलागेर सोलार पावरसमेत नहुँदा वायर्ड र वायरलेस इन्टरनेट नेटवर्कमा पनि समस्या आएको नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले जनाएको छ । पश्चिम क्षेत्रमा बढी प्रभाव परेको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘बिजुलीकै कारण समस्या भयो,’ उनले भने, ‘इन्टरनेट सेवा प्रदायकहरूले आ–आफ्नै किसिमले नेटवर्क डिजाइन गरेको हुनाले कसैको कहाँ, कसैको कहाँ नेटवर्क डाउन भयो । बाढी–पहिरो गएको ठाउँमा चाहिँ एक ठाउँमा नेटवर्क ब्रेक भए पनि अर्को ठाउँबाट चलेको हुँदा सेवा अवरुद्ध हुन पाएन ।’ 

कार्यालय परिसरमा बाढी पसेपछि अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रसारण भने बन्द भएको छ । शनिबार बिहान ७ बजेबाट प्रसारण बन्द गरिएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए । उनका अनुसार बाढीले गर्दा अहिले कार्यालयमा विद्युत् सेवा अवरुद्ध छ । ‘कार्यालयका गाडी, कम्प्युटर, ब्याकअपलगायत सामग्रीसमेत डुबानमा परेकाले प्रसारण बन्द भएको हो,’ उनले भने, ‘प्रसारण सेवा सञ्चालनमा आउन केही दिन लाग्छ ।’ 

जोखिमको समयमा सञ्चार सेवालाई कसरी सहज र प्रभावकारी बनाउने विषयमा शनिबार दिउँसो सञ्चार मन्त्रालयले सेवा प्रदायकहरूसँग आपत्कालीन बैठक बसेको थियो । टेलिकम कम्पनीहरूले एसएमएसमार्फत बाढी, पहिरो, डुबानको जानकारी दिए पनि सेवा अवरुद्ध भएका ठाउँमा ती सूचना पुग्न सकेनन् । 

सरकारले विद्युत्, टेलिफोन, सञ्चार र इन्टरनेट सेवालाई अत्यावश्यक सेवाअन्तर्गत समावेश गरेको छ । तथापी, सानो समस्या आउनासाथ यी सेवा अवरुद्ध हुन पुग्छन् । चाहिएकै बेला सेवा अवरुद्ध हुने विषयमा जनस्तरबाट निरन्तर प्रश्न उठ्ने गरेको छ । सञ्चार सेवाको पछिल्लो स्थितिबारे जानकारी लिन शनिबार साँझ सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणमा सम्पर्क गर्दा दुवैतिरका नेतृत्व बोल्न चाहेनन् । 

‘यसबारे दूरसञ्चार प्राधिकरणलाई थाहा छ, उतै सोध्नु होला,’ सञ्चार सचिव राधिका अर्यालले भनिन्, ‘यो प्राधिकरणको विषय हो ।’ जिल्लागत विवरण नभए पनि देशका विभिन्न स्थानमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको प्राधिकरणमा सहायक प्रवक्ता प्रदीप पौड्यालले जानकारी दिए । नियामकका रूपमा प्राधिकरणले प्रभावकारी सेवा प्रवाहका लागि अपरेटरहरूलाई झकझकाउँदै आएको पनि उनले बताए । 

सञ्चारलाई अत्यावश्यक सेवा भनिए पनि किन अवरुद्ध भइरहन्छ भन्ने प्रश्नमा उनले भने, ‘अपरेटरहरूले वैकल्पिक लाइनको पनि व्यवस्थापन गरेका हुन्छन् । तर प्राकृतिक विपद्का बेला अप्टिकल फाइबर चुँडिने र बिजुलीका पोल ढल्दा टेलिफोनका तारमा पनि क्षति पुग्ने हुन्छ । हिमाली भेगमा घाम नलाग्दा सोलारले काम गरेन ।’ सेवा प्रदायकहरूलाई सम्पर्कमै रहेर सेवालाई चुस्त–दुरुस्त राख्न र अवरुद्ध सेवा तत्काल सञ्चालनमा ल्याउन प्राधिकरणले निर्देशन दिएको उनको भनाइ छ ।

बाढी पहिरो

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully