ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुर्दाकुर्दै शनिबार बिहान बगेका पाँच जनामध्ये दुई जना अझै बेपत्ता छन्
काठमाडौँ — विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको छ । सतर्कता र उद्धारको तयारी कमजोर हुँदा राज्यशक्तिको सम्पूर्ण स्रोतसाधन केन्द्रित राजधानी उपत्यकाभित्रै बाढीपहिरोबाट ३७ जनाले ज्यान गुमाएका छन् । देशभरमा गरी १ सय १२ जनाको मृत्यु भएको छ भने १ सय जना घाइते भएका छन् । सार्वजनिक र व्यक्तिको सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखा र विज्ञहरूले एक साताअघिबाटै जोखिमको चेतावनी दिँदै आए पनि त्यसअनुसारको तयारी नभएको भन्दै सरकारको सर्वत्र आलोचना भएको छ । नागरिकस्तरबाट मात्रै नभई सत्तारूढ दलकै नेताहरूले समेत जनताको जीउधन सुरक्षामा सरकारले समयमै पर्याप्त ध्यान दिन नसकेको भन्दै आलोचना गरेका छन् ।
सत्तारूढ कांग्रेसका नेता शेखर कोइरालाले नागरिकको जीउधन सुरक्षामा सरकारले उदासीनता देखाएको टिप्पणी गरेका छन् । ‘राजधानीमा हेर्दाहेर्दै मान्छे बगेको घटनालाई समेत सरकारले बेवास्ता गरेको छ । यो चरम लापरबाही हो,’ एक सार्वजनिक कार्यक्रममा कोइरालाले भनेका छन्, ‘सरकार भनेको कुर्सी र पद मात्रै हो ?’ राजधानीमै ठूलो जनधनको क्षति भएको, बाहिरी सडक सम्पर्क टुटेको उल्लेख गर्दै कोइरालाले ‘राज्य कहाँ छ ?’ भनेर प्रश्न गरेका छन् ।
शनिबार ललितपुरको नख्खु खोलामा आएको बाढीले मोटर कारखाना डुबाएपछि त्यहाँ रहेका मजदुरहरूको उद्धार गरिँदै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुर्दाकुर्दै शनिबार बिहान पाँच जना बगेका थिए । यस सम्बन्धमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भने, ‘उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा हुनुपर्यो । मौसमको अवस्था सबैले देखेकै हो । मौसम सुधार हुनासाथ हेलिकोप्टर र प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका नागरिकको उद्धार गरिएको छ ।’
गृहमन्त्री रमेश लेखकले ‘भिजिबिलिटी’ नभएकाले नख्खु खोलाको बीचमा टिनको छाप्रामाथि अड्किएका नागरिकको उद्धारमा हेलिकोप्टर प्रयोग गर्न नसकिएको बताए । ‘हेलिकोप्टर उडाउन पर्याप्त भिजिबिलिटी थिएन । जमिनबाट सशस्त्र र नेपाल प्रहरीका उद्धार टोलीले प्रयास गरेको थियो । त्यस क्रममा जवानहरू पनि डुबे । उनीहरूलाई नै उद्धार गर्नुपर्ने स्थिति भयो,’ उनले भने, ‘प्रयास गर्दागर्दै पनि नसकिएकामा सरकारकै तर्फबाट दुःख व्यक्त गर्न चाहन्छु ।’
ललितपुर–२५ सुगम बस्तीको एक टहराको छानामाथि उद्धार पर्खंदै सर्वसाधारण । बाढीले पाँचै जनालाई बगाएकोमा दुई जनालाई चणिकलाल तामाङले उद्धार गरेका थिए भने एक जना पौडेर निस्किए, दुई जना भने अझै बेपत्ता छन् । तस्बिर : जीवन पोखरेलको फेसबुकबाट
यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा छन् । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा सहरी विकासमन्त्री सिंहका अनुसार प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार स्वदेश फर्कने कार्यक्रम छ । ओलीले बिहान सिंहसँग टेलिफोन संवाद गरेर बाढीपहिरोको अवस्थाबारे जानकारी लिएका थिए । संवादलगत्तै सिंहले सिंहदरबारमा विपद् व्यवस्थापनका पदाधिकारीसहित मन्त्री र सरोकारवाला मन्त्रालयका सचिवहरूको समन्वय बैठक राखेका थिए । यसअघि १० बजे गृहमन्त्री लेखकले आपत्कालीन सुरक्षा बैठक डाकेका थिए ।
कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारको उद्धार कार्य सन्तोषजनक रहेको दाबी गरेका छन् । सरकारले समयमै उद्धारलाई तीव्रता नदिएको भए अझै बढी नागरिकले ज्यान गुमाउने उनको भनाइ छ । ‘यति भीषण वर्षा होला भन्ने अनुमान हामीले गर्न सकेका थिएनौं । रिपोर्ट आएअनुसार विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले तयारी गरेका थिए । समयमै सरकारले उद्धार गरेकाले नै मृत्युको संख्या कम भएको हो,’ सिंहले कान्तिपुरसँग भने, ‘जिल्ला–जिल्लामा सीडीओ (प्रमुख जिल्ला अधिकारी) र सुरक्षाकर्मीहरू बिहानैदेखि सक्रिय भएर लागेका छन् । सरकारका तर्फबाट गर्नुपर्ने काम गरिरहेकै छौं ।’
कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा भएको समन्वयात्मक बैठकमा समेत नेपाली सेना र प्रहरीले विपद्मा परेका व्यक्तिहरूको समयमै उद्धार भएको निष्कर्ष सुनाएका थिए । बैठकमा बाढीले पुर्याएको क्षतिको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूले ‘ब्रिफिङ’ गरेका थिए । बैठकले अवरुद्ध सडक सञ्चालन र खानेपानी आपूर्तिमा तत्काल लाग्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
‘बाढीपहिरोले क्षति पुगेका सडक मर्मत गरेर तत्काल यातायात सेवा खुलाउन यथासम्भव कोसिस गर्ने र खानेपानी आपूर्ति बन्द भएको ठाउँमा तत्काल मर्मतसम्भार गर्ने, विमानस्थल तथा बाढीपहिरो प्रभावित क्षेत्रमा एम्बुलेन्स तयारी अवस्थामा राख्ने जस्ता निर्णय भएका छन्,’ एक मन्त्रीले भने । उनका अनुसार बैठकले बाढीपहिरोमा परी घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ । सरकारले यस विषयमा छलफलका लागि आइतबार सर्वदलीय बैठकसमेत बोलाएको छ ।
बाढीपहिरोले जनजीवन अस्तव्यस्त भएको जनाउँदै सरकारले आइतबारदेखि तीन दिनसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । विद्यालय भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले पठनपाठन स्थगन गर्न आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकमा विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत भएको छ ।
