शनिबार २९४ आन्तरिक उडान तालिका, ६४ मात्र उडान

आन्तरिक उडान रद्द भएका कारण अन्तर्राष्ट्रिय गन्तव्यमा जान नपाएका यात्रुको हवाई टिकट सारेबापत अतिरिक्त शुल्क नलिन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन

आश्विन १३, २०८१

सुरज कुँवर

Saturday 294 domestic flight schedule, only 64 flights

काठमाडौँ — प्रतिकूल मौसमका कारण शनिबार करिब ७८ प्रतिशत आन्तरिक उडान रद्द गरिएको छ । शनिबारका लागि २ सय ९४ उडानको तालिका रहेकामा ६४ वटा मात्र आन्तरिक उडान हुन सकेको हो । शुक्रबार राति ७ बजेदेखि रोकिएको आन्तरिक उडान शनिबार अपराह्न ४ बजेपछि आंशिक रूपमा खुला गरिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ खनालका अनुसार शनिबार अपराह्न ४ बजेपछि धनगढी, नेपालगन्ज, भैरहवा र पोखरामा दुईतर्फी गरेर बुद्ध, यती र श्री एयरलायन्सले ६४ वटा उडान गरेका थिए । बुद्धले १ सय ४८ वटा उडान गर्ने तालिका सार्वजनिक गरेकामा ३६, यतीका ६२ वटामध्ये १० र श्रीले निर्धारित ४६ वटामा १८ वटा मात्रै उडान गरेको हो । मौसममा सुधार नभएका कारण पूर्वी नेपालका विमानस्थलतर्फ भने उडान हुन सकेन । विराटनगर, जनकपुर, सिमरा र भरतपुरमा शुक्रबार रोकिएका बुद्ध एयरका जहाज भने शनिबार फर्केका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ‘कन्ट्रोल्ड एरोड्रोम’ अन्तर्गत पर्ने विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा उपकरणको सहायतामा हुने उडान (आईएफआर) गर्न मिल्ने गरी खुला गरिएको थियो तर चार वटा विमानस्थलमा मात्र उडान भयो । सामान्य दिनमा आन्तरिक उडान सरदर राति ११ बजेसम्म हुने गर्छ तर शनिबार ९ बजेअघि नै सबै आन्तरिक उडान रोकिएका थिए ।

शनिबार बिहानको मौसम खराब हुँदा दुबईबाट काठमाडौं आउँदै गरेको फ्लाई दुबईको जहाज काठमाडौंमा अवतरण हुन नसकेर भारतको लखनउ ‘डाइभर्ट’ भएको थियो । फ्लाई दुबईको जहाज दिउँसो १२ बजे लखनउबाट काठमाडौं आएको थियो । चीनको ल्हासाबाट आएको सिचुवान एयरको विमान ल्हासा र छेन्दुबाट आएको एयर चाइना उतै फर्केका थिए । अन्तर्राष्ट्रिय उडानतर्फ शनिबार ५२ वटा आउने र ५३ वटा फर्किने तालिका थियो ।

मौसममा सुधार हुनेबित्तिकै आन्तरिक विमानस्थल नियमित रूपमा सञ्चालन गर्न प्राधिकरणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ । आन्तरिक उडान रद्द भएका कारण अन्तर्राष्ट्रिय गन्तव्यमा जान नपाएका यात्रुको हवाई टिकट सारेबापत अतिरिक्त शुल्क नलिन पनि मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । पर्यटनमन्त्री बद्री पाण्डेले सरोकारवालासँग बैठक गरी आन्तरिक उडान अवरुद्ध हुँदा विदेश उड्न नपाएका यात्रुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । प्राधिकरणको आधिकारिक अनुरोध पत्र पाएपछि आइतबार विदेशमा रहेका आफ्ना मुख्यालयमा अनुरोध गरेर मात्रै मन्त्रीको निर्देशनबारे निर्णय लिने विदेशी वायुसेवाका प्रतिनिधिहरूले बताएका छन् ।

यस्तै, उडान अवरोध भएका कारण अतिरिक्त समय बस्नुपर्ने पर्यटकलाई होटल र खानामा सहुलियत तथा नियमित शुल्कमा प्रदान गर्न मन्त्रालयले स्टार तथा पर्यटकीयस्तरका होटलहरूको छाता संगठन होटल संघ नेपाल (हान) लाई आग्रह गरेको छ । उद्धारमा प्रयोग हुने निजी हेलिकोप्टर कम्पनीहरूलाई पनि अतिरिक्त शुल्क नलिई नियमित र सहुलियत शुल्कमा चार्टर उडान गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले नेपालमा भएका सबै राफ्टिङ कम्पनीलाई डुबान तथा बाढीमा जनशक्ति र उपकरण परिचालन गर्न पनि अनुरोध गरेको छ ।

हिमपातले मनास्लु आरोहण प्रभावित

गोरखा– चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित साम्दोमा भारी हिमपात हुँदा लार्केपासका लागि हिँडेका पर्यटक बाटामै रोकिएका छन् । मनास्लु हिमाल आरोहणका लागि आएका पर्यटक पनि मध्य असोजमै भएको हिमपातले आधार शिविरमै रोकिएका छन् । 

आधार शिविरमा रहेका चुमनुब्री–३ पाङसिङका बुद्ध गुरुङका अनुसार शुक्रबार बिहानबाट लगातार हिमपात भएको थियो । शनिबार दिउँसोबाट हिमपात रोकिए पनि अघि बढिहाल्न सकिने स्थिति छैन । ‘धेरैजसो आरोहण गरेर फर्किसकेका थिए, बाँकी रहेको पछिल्लो ग्रुप अहिले बेस क्याम्पमै रोकिएको छ,’ उनले भने, ‘हिमपात नरोकिए दुई/चार दिन आरोहण गर्न गाह्रो छ ।’

हिउँ परेपछि जाडो बढेर आधार शिविरको बसाइ कष्टकर बनेको गुरुङले बताए । पर्यटन विभागका अनुसार ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु आरोहणका लागि यस सिजनमा २८ समूहका ३ सय ८ जनाले अनुमति लिएका थिए । 

मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटक पनि हिमपातका कारण रोकिएका छन् । चुमनुब्री–१ साम्दोमा शुक्रबार रातिबाट हिमपात भएको सशस्त्र प्रहरीको बीओपी साम्दोका इन्स्पेक्टर विश्व त्रिपाठीले जानकारी दिए । उनका अनुसार लार्केपासका लागि साम्दो पुगेका करिब ३० पर्यटक साम्दोमा छन् । ‘साम्दो बस्ती क्षेत्रको पैदलमार्गको हिउँ पन्छाइएको छ,’ इन्स्पेक्टर त्रिपाठीले भने, ‘पदमार्ग क्षेत्रको अन्य खण्डमा पनि हिउँ पन्छाउन सशस्त्र प्रहरीको टोली खटिएको छ ।’

बाढी पहिरो

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully